Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानमा कोरोना संक्रमितलाई चिकित्सकले बेवास्ता गरेको गुनासो

हाम्रो कोशी आवाज
जेष्ठ ११ २०७७, आइतबार
धरानको बीपी प्रतिष्ठानमा कोरोना संक्रमितलाई चिकित्सकले बेवास्ता गरेको गुनासो

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित संक्रमितलाई अस्पतालले बेवास्ता गरेको संक्रमितले गुनासो गर्न थालेका छन् ।
अस्पतालको ‘आइसोलेसन’ कक्षमा उपचारार्थ धरानकी संक्रमितले आफूलाई अस्पतालले कुनै किसिमको हेरचाह नगरेको गुनासो गरेकी हुन् । उनका आफन्त सुनिल राईले हालसम्म अस्पतालले खोजी न निन्दा गरेको गुनासो पोखे । उनले भने, ‘मेरो माइजुको स्वास्थ अवस्था सामान्य छ, उच्च ज्वरो, रुघाखोकी केही छैन । तर पनि डाक्टरहरुले शव राख्ने घरको छेऊमा एउटा कोठामा अलग्गै राखेका छन् । र पानी समेत दिएनन् र सोधपुछ गर्न पनि आएका छैनन् ।’
उनले अस्पतालले खाना समेत नदिएको गुनासो पोखेका छन् । उनले हाम्रो कोशी आवाज डटकमसँगको टेलिफोन सम्पर्कमा अस्पतालको बेवास्ताले गर्दा संक्रमितलाई रातभरी निद्रा पनि नलागेको बताए । ‘कोठामा लगेर थुनिदिएदेखि कोही पनि अहिलेसम्म आइपुगेका छैनन् भनेर माइजुले फोन गर्नुभएको थियो’, उनले फोन सम्पर्कमा भने, ‘खाना समेत नदिएको गुनासो उहाँको थियो, हिजोदेखि त निद्रा नै नलागेर स्लिपिङ टयाब्लेट खाएर सुत्नुभएछ ।’ चिकित्सकले वास्ता नै नगर्दा समस्या मानसिक समस्या बढ्दै गएका उनले बताए ।
उनले प्रतिष्ठानले हौसला र मनोबल बढाउने कार्य पनि नगरेको गुनासो गरे । ‘मैले त बुटवलमा बिरामी नचाएर, खाना खुवाएर गरेको मनोबल बढाएको देखेर खुशी थिएँ तर बीपीमा त हौसला र मनोबल बढाउने काम भएको पनि देखिएन’, उनले थपे, ‘सिधै कोठामा थुनिदिने अनि केही नगर्ने बिरामीलाई त भयो भयो हामीलाई पनि टेन्सन हुन्छ नि ।’
उनले फेसबुकमा म्यासेज गर्दै पनि भनेका छन्–म धरान–१३ निवासी हो र पहिलो कोरोना संक्रमित हाम्रै माइजु हुन् । उहाँलाई घोपा मुर्दा घर छेऊमा राखिएको छ । जान पाइँदैन खाना पनि दिदैन रे । के यही हो त बिरामीलाइ दिएको सुविधा । खाना पनि नदिइ राख्ने यही हो मानवता ? रोगी कोरोनाले भन्दा पनि मानसिक पिरले मर्ने देख्छु म चाहिँ ।’ उनले म्यासेजमा खाना आफन्तले नै लाने गरेको सुनाए । ‘खाना आफन्तले नै लगेर सेक्युरिटी गार्डलाई दिँदै आएका छौं ।’ उनले भने ।
उनलाई जेठ ७ गते कोरोना पोजेटिभको रिपोर्ट आएपछि जेठ ८ गते बिहीबार प्रतिष्ठानको आइसोलेसन कक्षमा लगिएको थियो । उनको हाल स्वास्थ्य अवस्था सामान्य रहेको आफन्तले जानकारी दिएका छन् । ‘यसअघि पनि रुघाखोकी, ज्वरो आदि केहीपनि थिएन र अहिले पनि छैन’, राईले भने ।
उता प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बिरामीलाई बेवास्ता गरेको भन्ने कुरा ठाडै अस्वीकार गरे । ‘यहाँ आएपछि कहाँ त्यस्तो हुन्छ, गलत कुरा चिनुपर्ने समय छ, गलत कुरा चिरौं ।’ उनले कति जना चिकित्सक संक्रमितको उपचारमा खटिइरहनुभएको छ भन्ने प्रश्नमा केही जवाफ दिएनन् । उनले महिलाका लागि छुट्टै बेड भएकाले एक्लै पर्नुभएको हुनसक्ने बताए । ‘मेललाई एकातिर, फिमेललाई एकातिर पारेका छौं, अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै चलेका छौं ।’ उनले भने । उनले आइसोलेसन नै उत्तम वार्डमध्ये एक भएको बताए ।
प्रतिष्ठानको अझैपनि महत्वपूर्ण उपकरण जडान हुन नसकेको विषयमा उनले केही बोलेनन् । अस्पतालमा भेन्टिलेटरसहितको १३ आइसीयू बेड, अल्ट्रासाउन्ड, अत्याधुनिक एक्स–रे, डेफिब्रिलेटर, संक्रमित बच्चाका लागि पेडियाट्रिक आईसीयू, डायलसिस, अप्रेसन थिएटर, हाई डिपेन्डेन्सी युनिट, प्रयोगशाला, गाइनो वार्ड लगायतका उपकरण राखिने भनिएको थियो । हालसम्म माग गरिएका कुनै उपकरण आएका छैनन् ।

प्रकाशित मिति: जेष्ठ ११ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend