Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा थलिए राई दम्पत्तिः श्रीमान् रोगले, श्रीमती खासै आँखा नदेख्ने

हाम्रो कोशी आवाज
जेष्ठ १७ २०७७, शनिबार
धरानमा थलिए राई दम्पत्तिः श्रीमान् रोगले, श्रीमती खासै आँखा नदेख्ने

धरानः धरान–६ पानबारीमा एउटा राई परिवार छ । घडेरी मात्रै । घर टिनले छाएको, वरिपरी बाँसको भाटाले बारिएको । श्रीमान्–श्रीमतीसँगै । छोरा एकजना छन् तर छोरा पनि खासै काम गर्दैनन्, जाँड–रक्सी सेवन गरेर हिँड्छन् । भोजराज राई दम्पत्तिमध्ये भोजराज क्यान्सर रोगले थलिएका छन् भने श्रीमती आँखा फुलो परेको र आँखा खासै देख्दिनन् । दुवैजना काम गर्न सक्दैनन् । काम गर्ने मान्छे कोही छैनन्, खान छैन, दुवैको उपचार गर्ने खर्च समेत छैन ।
भोजराजको शुरूमा कान छेऊमा सानो कोठी आयो, त्यसपछि उनले खासै वास्ता गरेनन् तर भित्रभित्र पाकेर ८०–८५ वटा किरा भेटेपछि बीपी प्रतिष्ठान पुगे । बीपी प्रतिष्ठान पुगेपछि चिकित्सकले क्यान्सर भएको भन्दै अप्रेसन गरे । आर्थिक समस्याले थलिएका भोजराजलाई पहिलोपटक छोरी–ज्वाइँ र गाउँलेले सहयोग गरेर त्यहाँ अप्रेसन सफल भयो तर हप्तैपिच्छे चेकअप गर्न खर्च अभावले उनीहरू जान सकेका छैनन् ।
‘चिकित्सकले हप्तैपिच्छे अस्पताल आउनु भन्नुभयो तर खर्च अभावले जानै सकिएको छैन ।’ उनले भने । यस्तै, खर्च अभावले नै श्रीमतीको पनि आँखाको उपचार गर्न नसकिएको पीडा सुनाउँछन् भोजराज । ‘एउटा आँखा अलि अलि देख्छु भन्छिन्’, उनले सुनाए, ‘खर्च अभावमै उपचार गर्न सकिनँ ।’ उनीहरूले उपचारका लागि सहयोगको आह्वान गरेका छन् । ‘चिकित्सकले बीपी प्रतिष्ठानमै उपचार हुन्छ भनेका छन्, सहयोग गरिदिए हामी स्वस्थ हुन्थ्यौं र काम गरिखाने थियौं, त्यसैले सबैलाई सहयोगको आग्रह गर्दछौं ।’
लकडाउनको समयमा स्थानीय जनप्रतिनिधि गोमा खनाल (गौतम) को अगुवाईमा गाउँघरमै सहयोग मागेर उपचार गरेको बताइन् । उनकै अगुवाईमा परिवारलाई राहत दिएको छ । केही चामल, दाल, तरकारी दिएको उनले बताइन् । ‘काम नगरी उहाँहरूको हात मुख जोर्ने अवस्था छैन, उपचारको कुरा त परको भयो, अहिले यो लकडाउनको अवधिभरलाई केही राहत दिएका छौं, उनको परिवारलाई खानसम्म पुग्ला, त्यो समयपछि के गर्ने भन्ने चिन्ता बढ्दो छ ।’ उनले भनिन् । उनले उपचारका लागि सबैसँग सहयोगको अपिल पनि गरिन् ।

प्रकाशित मिति: जेष्ठ १७ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend