Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बीपी प्रतिष्ठानमै छैन सावधानी !

हाम्रो कोशी आवाज
असार ३० २०७७, मंगलबार
बीपी प्रतिष्ठानमै छैन सावधानी !

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै छैन सावधानी । जहाँ कोभिड १९ अस्पताल पनि छेउमै छ । बिरामीलाई मास्क छैन, कुरुवा पनि मास्कबिनै ‘लखरलखर’ ओहोरदोहोर गरिरन्छन् । ओपिडी र बाहिरतर्फ सामाजिक दुरी पनि छैन ।
इमरजेन्सी, ओपिडीलगायतका क्षेत्रमा अधिकांश मास्कबिनै ओहोदोहोर गरिरहन्छन् । अस्पतालमा आइपुग्ने बिरामी, कुरुवा कसैले पनि आवश्यक स्वास्थ्य सावधानी अपनाएको पाइँदैन । अस्पतालभित्र बिरामीसँगै कुरुवा समूहमै बस्ने गरेका छन् । ‘चिकित्सकले सामाजिक दुरी कायम गरौं है चाहिँ भन्छन् तर त्यो पनि फ्लो गरिएको पाइएन’, मास्क लगाएर आइपुगेका झापाका एक बिरामी कुरुवा नाम नछाप्ने शर्तमा भन्छन्, ‘कम्तीमा हस्पिटल जस्तो संवेदनशील क्षेत्रमा आइसकेपछि वा बाहिर निस्किँदा अटेर नगरिदिए हुन्थ्यो ।’
उनले बिरामी कुरुवा बाहिरतर्फ खाजा खाजा, खाना साथै औषधि समेत किनमेलका लागि जाने गरेको तर मास्क नलगाई ओहोदोहोर गरिरहेको बताउँछन् । अस्पतालको ओपिडी खुल्दा त झन समूह समूहमै बस्ने गरिएको छ । अस्पतालका अधिकांश ठाउँमा सामाजिक दुरी कायम गरौं, मास्क प्रयोग गरौं जस्ता सन्देश पनि छैन । भएका सन्देश पनि च्यातिएर उप्किइसकेको अवस्था छ । ‘यो हस्पिटलको छेऊमै रहेको कोभिड हस्पिटलमा कोरोना संक्रमित छन् तरपनि अटेर गर्नु सेवाग्राहीले अटेर गर्नु दुःखद् हो ।’ सेवाग्राही पूर्ण खनाल भन्छन् ।
धरानका स्थानीय सरोज श्रेष्ठ धरानमा अधिकांश ठाउँमा भीडभाड रहेको र सामाजिक दुरी कायम नभएको बताउँछन् । ‘बीपी प्रतिष्ठान, धरानका बजार जताततै सामाजिक दुरी कायम छैन’, उनले थपे, ‘यसले जोखिम बढाउँछ ।’
अस्पताल आउने बिरामी कुरुवा वा अन्यलाई कोरोनाबाट बच्नेबारे थाहा हुँदाहुँदै पनि बेवास्ता गरिरहेको बीपी प्रतिष्ठानकै प्रवक्ता प्रा.डा. निदेश सापकोटा बताउँछन् । ‘मानव स्वभाव नै खतरनाक छ, शुरूशुरुमा मात्रै मानिसहरू अत्तालिएको जस्तो देखियो तर यतिका दिनसम्म आइपुग्दा खासै वास्ता गरिएको देखिएन’, उनले थपे, ‘नागरिकमा सचेतना छ तर बेवास्ता र अटेरीपन बढ्दै गएकोचाहिँ हो ।’
अहिले सञ्चार माध्यम साथै मोबाइलमा समेत कोरोनाबाट बच्ने उपायबारे जानकारी गराइरहेको बताउँदै उनले जनस्तरमै लापरवाही भइरहेको दावी गरे । ‘प्रत्येकको मोबाइलमै पनि हात धोऔं, मास्क लगाऔं, सामाजिक दुरी सक्दो कायम गरौं भनिरहेको हुन्छ, सञ्चार माध्यममा पनि यस्ता जानकारी आइरहेको हुन्छन् तर लापरवाही गरिदिने काम भइरहेको छ अर्थात् बुझेर पनि बुझ पचाइरहेका छौं ।’ उनले भने ।
अस्पताल प्रशासनले आवश्यक स्वास्थ्य सावधानी अपनाएर सेवा सञ्चालन गरिरहेको उनले बताए । अहिले बीपी प्रतिष्ठान छिर्ने जोकोही नडराउने गरेको खुलाए । ‘अहिले कोही डराउँदैनन् तर सामाजिक दुरी कायम गर्दै, मास्क लगाउँदै हिँडे डराउनै पर्दैन ।’ उनी भन्छन् ।

 

प्रकाशित मिति: असार ३० २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend