धरानः धरान उपमहानगरपालिकाका मेयर-उपमेयरलगायत नेकपाका नेताको टोली नै अहिले काठमाडौंमा दौडिरहेको छ । मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी (सुवेदी) लगायत अन्य नेताहरू, वडाध्यक्षको टोली अहिले काठमाडौंमै छ ।
विशेषतः कोशी राजमार्ग र कोशी करिडोरले गरेको क्षतिलगायतका समसामयिक विषयमा मन्त्रीलाई भेटेर छलफल भइरहेको धरान-१७ का वडाध्यक्ष मनोज भट्टराईले जानकारी दिए । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङसँग भेटेर छलफल भएको उनले जानकारी दिए । उनले विभिन्न मन्त्रालय र मन्त्रीसँग भेटेर विभिन्न विषय साथै खानेपानीको विषयमा छलफल र निचोड निस्किने बताए ।
कोशी करिडोर विद्युत प्रसारण लाइन निर्माणको क्रममा धरानको जलाधार क्षेत्रलगायतमा परेको असरबारे मन्त्री पुनसँग छलफल चलेको उनले जानकारी दिए । मन्त्री पुनले आवश्यक सहयोग गर्ने र अनुगमन गर्ने वचन दिएको उनको भनाइ छ । ‘कोशी कोरिडोर विद्युत प्रसारण लाइन निर्माणको क्रममा धरानमा निकै धेरै क्षति भएको छ, पहिरो र भूक्षय बढाएको छ, रोकथाम, नियन्त्रण र निर्माणका लागि पहल गरिदिनुहोस् भनेर मन्त्री पुनलाई भनिसकेका छौं, यस विषयमा मन्त्री पुन सकारात्मक हुनुहुन्छ ।’ उनले भने ।

उनले करिडोरले टावर झरेको पहिरो गएको, खानेपानीकै मुहानमा तार झरेको, पहिरो गएको समेत बताए । टोलीमा मेयर, उपमेयरसहित संघीय सांसद जयकुमार राई, स्थानीय नेता मुक्सामहाङ मेन्याङ्बो, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटा, वडाध्यक्ष भट्टराई, धरान उपमहानगरपालिकाका राजु पोख्रेललगायत सहभागी छन् । ‘धराने जनताको चासोको अति चासोको विषय कोशी राजमार्ग र खानेपानी बारे पनि गहन छलफल चल्नेछ, छलफलपछि निष्कर्ष निकालेर फर्किने भनेर लागिपरेका छौं’, वडाध्यक्ष भट्टराई भन्छन् ।
धरानको मुख्य बजार क्षेत्र ४ लेनकै बनाउने धरान उपमहानगरपालिकाले निर्णय गरेको थियो । आव ०७७–७८ को नीति तथा कार्यक्रम साथै नगरसभाले नै ४ लेनको नीतिगत निर्णय नै गरेको छ । यो निर्णयले कोशी लोकमार्गको धरानको मुख्य बजार क्षेत्रमा ८० फुटको बन्नेछ । तीनकुनेदेखि शिवधारासम्मको सडकलाई सहरी सडक बनाउने घोषणा गर्दै ८० फुटको मापदण्ड कायम गरिने भनिएको छ ।
धरानको मुख्य सडकबाट कि बाइबासबाट सडक जाने भन्ने विषयले लामो समय बजार तातिएको थियो नै र अहिले पनि छ । धरानको मुख्य सडकबाट विस्तार हुँदा मुख्य बजार नै नरहने भएपछि धरानमा सर्वाधिक चर्चा र चासोको विषय बन्दै गएको छ । चीनसम्म जोड्ने जोगबनी किमाथाङ्कासम्मको ६ लेनको बाटो विस्तारको योजना बनेपछि विवाद बढेको थियो । कोशी राजमार्गलाई मापदण्डअनुसार विस्तार गर्दा धरानको भानुचोकदेखि छाताचोकबीचको मुख्य बजारको अस्तित्व नै नरहने भएपछि धरान उपमहानगरपालिकाले राष्ट्रिय योजना आयोगमा वाइपास सडकको प्रस्ताव पेश गरेको थियो ।
