धरानः गोर्खा सैनिकले भत्ता नपाउने भएपछि निर्णय सच्याउन संघीय भूतपूर्व सैनिक संघले माग गरेको छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चनिकट संघीय भुपु सैनिक मञ्च, नेपालले धरानमा पत्रकार सम्मेलन गर्दै निर्णय नसच्याए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । ‘भुपु सैनिकले भत्ता नपाउने भएपछि धराने भुपू सैनिक निराश छन्’, राष्ट्रिय संयोजक गजेन्द्र चोङवाङ क्याकले भने, ‘निर्णय नसच्याए मेचीदेखि महाकालीसम्मका भुपु सैनिक भेला पारेर चरणबद्ध आन्दोलन गर्न बाध्य हुनेछौं ।’
उनले राज्यले ब्रिटिस गोर्खा भुपु सैनिक, भारतीय गोर्खा भुपु सैनिक र सिंगापुर भुपुलाई भत्ता नदिने निर्णयले सबै भुपु मर्माहत भएको जनाउँदै यस्तो विभेद हटाइयोस् भन्दै इलाका प्रशासन कार्यालय धरानमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत पठाएको बताए । ब्रिटिस गोर्खा सैनिक र उनीहरूको सन्तानको नेपाली नागरिकता निरन्तरता गर्न माग गरिएको ज्ञापनपत्र पठाइएको जिल्ला अध्यक्ष भुपेन्द्रसुन्दर लावतीले जानकारी दिए ।
खम्बुवान राष्ट्रिय साझा मोर्चाका अध्यक्ष भुपी कोयुले राज्यले पहिलादेखि नै भुपु सैनिकलाई विभेद गर्दै आएको बताए । ‘पहिलादेखि नै राज्यले भुपु सैनिकलाई विभेद गर्दै नै आएको छ तर अब पाउँदै आएको सेवासुविधामा पनि विभेद गर्न थालेको पाइएको छ, अब सहन्नौं ।’ उनले भने ।
‘यस निर्णयले बेलायती र भारतीय सेनाका वयोवृद्ध पूर्व गोरखा सैनिकहरुले नेपाल सरकारबाट भत्ता नपाउने भएका छन् ।’ जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले निर्णय सच्याइयोस् ।’
नेपाल सरकारले विदेशी सरकारबाट नियमित निवृत्तिभरण पाइरहेका नेपाली नागरिकलाई सामाजिक सुरक्षा भत्ता नदिने निर्णय गरेपछि गोरखा भुतपुर्व सैनिक संघ (गेसो) ले यसअघि नै विरोध जनाइएको छ ।
नेपाल सरकारको गृह मन्त्रीस्तरीय निर्णयबाट यही असार १७ गते त्यो निर्णय गरिएको र कार्यान्वयनका लागि सम्बन्धित निकायमा परिपत्रसमेत गरिसकिएको छ । नेपाल सरकारको सो निर्णयबाट बेलायती, भारतीय, सिंगापुर प्रहरीबाट अवकाश पाइ हाल नेपालमा पेन्सन पाउँदै गरेका वृद्धवृद्धा प्रभावित हुनेछन् ।
फोटोः लक्ष्मण थापा

