धरानः धरानमा लक्षणबिनाका कोरोना संक्रमित बढ्दै गएका छन् । बिहीबारसम्म धरानमा मात्रै ४१ जनामा कोरोना संक्रमण भइसकेको पुष्टि भइसकेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।
उनका अनुसार ४१ जना संक्रमितमध्ये ४ जनामा मात्रै लक्षण देखिएको छ । ‘४१ जनामध्ये चार जनामा लक्षणसहितको संक्रमण भएको पाइएको छ’, उनले थपे, ‘अन्यमा छैन, लक्षणसहित संक्रमित भएकामा ज्वरो आउने, स्वास फेर्न गाह्रो हुनेसम्मको समस्या छ ।’
उनले लक्षण नभएकामा खोकी समेत नलागेको बताए । ४ सय ७ जनाको पिसिआर परीक्षण गर्दा यतिका संख्यामा धरानमा संक्रमित थपिएका हुन् । ‘४ सय ७ मध्ये केहीको रिपोर्ट आउन बाँकी नै छ’, उनले भने, ‘आएपछि अझै नयाँ कुरा खुल्छ ।’
उनले धरानमा समुदायमा कोरोना फैलिएको कारण पनि बताए । ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएकाले समुदायमा पुगिसकेको उनले बताए । ‘अहिलेसम्म कहीँकतै नहिँडेकामा पनि संक्रमण देखिएको छ’, उनले भने ।
उनले धरानमा एक उद्योगबाटै कोरोना फैलिएको बताए । ‘संक्रमणको स्रोत हेर्दा धरान औद्योगिक क्षेत्रमा रहेको प्रिति भल्भ एण्ड फिटिङस उद्योग रहेको छ, त्यहाँका मानिस बाहिर कहीँकतै गएको पाइएको छैन, त्यहीको कन्ट्रयाक्ट ट्रेसिङ पत्ता लगाउँदा १४ जनामा देखिएकोले समुदायमै कोरोना फैलिएको हो नै’, उनले भने, ‘अझै अन्य रिपोर्ट आएपछि थप कुरा खुलिहाल्छ ।’ उनले एउटै परिवारलाई ५ जनासम्मलाई देखिनु आदि इत्यादिले पनि धरानामा समुदायमा कोरोना फैलिएको बताए । बुधबार राति एकै परिवारका ५ जनामा कोरोना संक्रमण देखिएको उनले बताए ।
बीपीमा पनि लक्षणविहीन संक्रमित धेरै
यता धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालसम्म ८० जनाभन्दा बढी कोरोना संक्रमित उपचाररत् छन् ।
बुधबारसम्मको रिपोर्ट हेर्दा लक्षणबिहीन धेरै देखिएको डा. निदेश सापकोटा बताउँछन् । ‘यहाँ प्रदेश १ का बिरामी छन्, ७७ जनामा ५ जनामा लक्षण भएको बिरामी पाइएको छ, अन्यमा लक्षण छैन’, उनले भने ।
लक्षण भएकाको पनि गम्भीर छैन समस्या नभएको उनले जानकारी दिए । ‘लक्षण देखिएका, नदेखिएका सबै बिरामीको अवस्था अहिले सामान्य छ ।’ उनले भने । उनले समुदायमा संक्रमण गइसकेकोले सतर्कता अपनाउनु आजको आवश्यकता रहेको बताए ।
लक्षणबिहीन संक्रमितका कारण बेडको अभाव
स्वास्थ्य मन्त्रालयले लक्षणविहीन संक्रमितलाई होम आइसोलसनमा बस्न आग्रह गरेपनि धरानमा भने लक्षणविहीन बिरामीकै उपचार हुँदै आइरहेको छ ।
‘अहिले धेरै लक्षणविहीन छन्, उनीहरूले गर्दा बेड भरिएका छन्’, उनले भने, ‘अहिले लक्षणविहीन ७२ जनाले उपचार गराइरहेका छन्, अझै आज थपिँदैछन्, यो हेर्दा बीपीमा उपचार गराउनेको संख्या ९० जनासम्म पुग्न सक्छ ।’ प्रतिष्ठानमा लक्षणबिनाको संक्रमितको संख्या बढ्दा लक्षणसहितकाले उपचार नपाउने समस्या बढ्न सक्ने उनले बताए । यसका लागि सरकार गम्भीर बन्नुपर्ने देखिएको उनले बताए ।
बुधबारको रिपोर्टले धरानमा एकै परिवारका पाँच जनासहित १३ जनामा कोरोना पोजिटिभ देखिएको छ । धरान उपमहानगरपालिका–३ गौधारा बस्ने एकै परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अहिले सो ठाउँ सिल गरिएको छ ।
स्वास्थ्य महाशाखा प्रमुख मेहताका अनुसार परिवारका ७ वर्षीय बालकसहित ८५ वर्षीय र ४० वर्षीय पुरुष तथा ८० वर्षीया महिला र ३६ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो । यस्तै, धरान–११ बस्ने दुई महिला, भारतबाट आएर धरान–१७ स्थित एन्फा क्वारेन्टाइनमा बसेका ५ जना भारतीय गोर्खा सैनिक र धरानको तरकारी बजारस्थित एक पुरुष छन् ।
भारतबाट आएर क्वारेन्टाइनमा बसेका धरान १७ का २८ र २६ वर्षीय २ जना पुरुष, वडा नम्बर १५ का ३४ वर्षीय पुरुष, वडा नम्बर ११ का ३५ वर्षीय पुरुष र वडा नम्बर १९ का एक पुरुष छन् ।

