धरानः धरानको खानेपानी आयोजनामा अख्तियारले ‘सुक्ष्म तरिकाले’ छानविन थाल्ने भएको छ ।
आयोजनामा भ्रष्टाचार भएको भन्दै इटहरीस्थित अख्तियार दुरुपयोग आयोगमा उजुरी परेपछि अख्तियारले छानविन गर्ने जनाएको हो । इटहरीस्थित आयोगका प्रमुख प्रकाश पौडेलले सुक्ष्म तरिकाले छानविन थाल्ने प्रतिबद्धता जनाएका छन् । उनले सम्पूर्ण कागजातहरू झिकाई छानविनको प्रक्रिया अगाडि बढाइने प्रतिबद्धता जनाएका हुन् ।
आयोजनाको भौतिक संरचना निर्माण, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण र सामाग्री खरिदमा व्यापक भ्रष्टाचार भएको भन्दै विभिन्न राजनीतिक दल, नागरिक समाज र संघसंस्था सम्मिलित सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संघर्ष समितिले अनुसन्धान आयोगको कार्यालयमा उजुरी दर्ता गरिसकेको जनाएको छ ।
एसियाली विकास बैंकको ऋण तथा नेपाल सरकार र धरान उपमहानगरपालिकाको संयुक्त लगानीमा एकीकृत सहरी विकास कार्यक्रमअन्तर्गत निर्माण गरिएको करिब ३ अर्बको धरान खानेपानी आयोजनामा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेका हो ।
संघर्ष समितिले आयोजनालाई असफल बनाउने आयोजना प्रमुख तथा धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेल र आयोजनाका परामर्शदाता अनिल नेपाललाई उजुरीमा किटानी गर्दै अन्य जिम्मेवार एवम् संलग्न सबैलाई अविलम्ब छानबिनको दायरामा ल्याई उनीहरूको सम्पत्ति समेत छानबिन गरी आवश्यकता अनुसार निलम्बन समेत गरी कडा कारबाही गर्न माग गरेको छ । उजुरीमा आयोजनाको आर्थिक र प्राविधिक पक्षको समेत छानबिन गर्न माग गरिएको छ ।
समितिका संयोजक एवम् नेपाली काँग्रेसका सुनसरी जिल्ला सचिव सुजेन्द्र गोलेको नेतृत्वमा समितिका सचिव तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्वुवान मञ्च नेपालका जिल्ला अध्यक्ष अमर इजम लिम्बू, समितिका सहसचिव भीम राई, नेपाली कांग्रेसका महासमिति सदस्य पर्वत राई, जिल्ला सदस्य अनिल श्रेष्ठ, महासमिति सदस्य राजकुमार थोप्रा, धरान–१८ का मतदान केन्द्र सभापति देउमान ताप्मादेन, मंगोल नेशनल अर्गानाइजेशनका नेता लोकबहादुर राई, नेपाली काँग्रेस धरान १५ का युवा नेता राजु मगर लगायतका टोलीले संघर्ष समितिको तर्फबाट १७ बुँदे उजुरी दर्ता गरेका छन् ।
जनता समाजवादी पार्टी धरानका अध्यक्ष ताजुब लिम्बुले अख्तियारमा परेको उजुरीप्रति ऐक्यबद्धता जनाउँदै अख्तियारले आयोजनाको सुक्ष्म अध्ययन गरी भ्रष्टाचारी कसैलाई छाड्नु नहुने बताए । समितिले धरान खानेपानी व्यवस्थापन बोर्डले धरानवासीलाई डिजाइन अनुसार खानेपानी खुवाउन सक्ने पूर्ण सुनिश्चिता नभएसम्म नेपाल खानेपानी संस्थानको धरान शाखालाई बोर्डमा कदापी गाभ्न नहुने माग राखी आन्दोलन गर्दै आएका छन् ।
संघर्ष समितिले उजुरीमा निम्नानुसारको १७ बुँदा समावेश गरेका छन् ।
१. सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समिति र धरान उपमहानगरपालिका वीच भएको ११ बुंदे सहमतिमा १५.२२एम.एल.डी. अर्थात १ करोड ५२ लाख २० हजार लिटर आयोजनाले दैनिक भूमिगत श्रोतवाट पानी उत्पादन गर्ने भनिएकोमा सहमति विपरित १ करोड ३ लाख लिटर मात्र पानी उत्पादन गर्ने डिपिआर तयार गरेको । जसवाट दैनिक ४९ लाख २० हजार लिटर कम उत्पादन हुने देखिएको ।
२. सोही सहमतिमा खानेपानीको महशुल नेपाल सरकारको टेरिफ बोर्डले निर्धारण गरेबमोजिम न्यूनतम रु. ११०। हुने भनिएकोमा हाल न्यूनतम् रु. २२०। लिने गरेको ।
३. हाल भूमिगत श्रोतवाट आयोजनाले दैनिक औसत ६२ लाख लिटर मात्र पानी उत्पादन गर्न सकेको अवस्था रहेको ।
४. जुलाई २०१७ मा आयोजना सम्पन्न गर्ने भनिएतापनि पटक पटक म्याद थप गर्दै ३१ डिसेम्वर २०१९ सम्म २ वर्ष म्याद थप गरेर थप आर्थिक भार बढाएको ।
५. दैनिक न्यूनतम् १६ घण्टा सन् २०३१ सम्म पानी वितरण गर्ने डिपिआरमा उल्लेख गरेको भएपनि हाल अधिकांश वडाहरुमा दिन विराएर आधादेखि १ घण्टासम्म मात्र पानी वितरण गर्ने गरेको ।
६. ७ मिटरको प्रेसरमा पानी वितरण गरिने डिपिआरमा उल्लेख भएपनि पानीको न्यून प्रेसर भएकाले अनिवार्य पानी तान्ने मोटर प्रयोग गर्नु परेको ।
७. ३ फिट गहिराईमा पाइप लाइन विछ्याएर कम्प्याक्ट गरी पाइप पुर्नु पर्नेमा विना कम्प्याक्ट अधिकांश स्थानमा डेड फिट मात्रमा पुरेर गुणस्तरहीन कार्य गरेको ।
८.उपनिर्वाचन आचार संहिता, २०७६ उल्लंघन गर्दै डिपिआर विपरित र विना प्रतिष्पर्धा थप २ वटा डिप वेल निर्माण गरेर आर्थिक भार वृद्धि गरेको ।
९. आयोजना सफल भएको परीक्षण नै नगरी आयोजना अधुरै रहेको अवस्थामा परामर्शदाता अनिल नेपाललाई उन्मुक्ति दिएको ।
१०. परीक्षणकाल करिव एकडेढ महिना मात्र बांकी रहंदा समेत आयोजनाले लक्ष्य, सम्झौता र डिपिआर बमोजिम सफलता हासिल गर्न नसकेको ।
११. अधुरो, अपुरो र अप्रमाणित आयोजनाको टेक्निकल र फिनान्सीय अडिट नै नगरी यथास्थितिमा जिम्मा लिन नगरको श्रोतसाधन खर्च गरेर जम्बो टोली सहित शक्ति केन्द्रहरु धाउने गरेको ।
१२.उपभोक्तासंग १० हजार, १२ हजार र १५ हजार धारा जडान वापत रकम उठाएर हजारौं उपभोक्ताको हालसम्म धारा जडान नगरेको ।
१३.पम्प, जेनेरेटर, टूान्समिटर लगायतका उपकरणहरु गुणस्तरहीन जडान गरेकाले बारम्बार विग्रिने गरेको ।
१४.आयोजनाको फुस्रे सिष्टममा कम क्षमताको गुणस्तरहीन र्यापिड स्याण्ड फिल्टर जडान तथा निर्माण गरेकाले वर्षातको समयमा आउने धमिलो पानीको फिल्टर हुन नसकेको तथा १ करोड ६० लाख लिटर फिल्टर गर्ने डिजाईन गरेको भएपनि हाल ५० प्रतिशत पनि फिल्टर गर्न नसक्ने अवस्था देखिएको ।
१५.सर्वे नै नगरी नेपाल खानेपानी संस्थानको पुरानो डाटा लिई कम्प्युटरमा इन्टूी गरी करिव रु. १२ करोड बराबरको कन्सल्टेन्सी शुल्क लिई बांडी खाएको ।
१६.आयोजनाको पाइप खरिद गर्दा सम्बन्धित उद्योगसंग मिल्ने मापदण्ड मिलाएर मिलोमतोमा बजार रेट भन्दा बढीमा खरिद गरेको ।
१७.आयोजना अनुगमन समितिलाई काम गर्ने वातावरण निर्माण नगरेको ।
को को छन संघर्ष समितिमा ?
संघर्ष समितिमा सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समिति, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय लिम्वुवान मञ्च नेपाल, जनता समाजवादी पार्टी, मंगोल नेशनल अर्गानाइजेशन, किरात खम्वुवान साझा पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), खम्वुवान राष्ट्रिय मोर्चा, संघीय खम्वुवान लोकतान्त्रिक पार्टी नेपाल, संघीय दलित शिल्पी मञ्च, धरान स्वतन्त्र समाज, गोर्खा भू.पू. संघ, नेपाल आदिवासी जनजाति संघ, लोकतान्त्रिक समाज धरान, आदिवासी जनजाति सरोकार समाज नेपाल, जनसरोकार मञ्च, नागरिक एकता समाज, खानेपानी उपभोक्ता समिति, चाम्लिङ किरात खेरे सुङ्छा सेवा समाज, किरात राई लिपुछोच्छा समाज, धरान दीर्घकालीन खानेपानी उपभोक्ता व्यवस्थापन समिति, विश्वकर्मा युवा समाज, नेपाल आदिवासी जनजाति महासंघ, नागरिक अधिकार संरक्षण समिति, होटल एशोसिएसन धरान, सामुदायिक वन उपभोक्ता महासंघ, धरान एकता समाज, खानेपानी समस्या संघर्ष समिति, आवाज मिडिया ग्रुप, खानेपानी संस्थान बचाऊ संघर्ष समिति लगायतका राजनीतिक दल, नागरिक समाज र विभिन्न संघसंस्था आवद्ध रहेका छन् भने विनोद राई, प्रा. राजेन्द्र शर्मा, प्रा. चन्द्र सुब्बा, भवानी वराल, भुपेन्द्र सुन्दर लावती, केशव घिमिरे, गजेन्द्रमान चोङवाङ, पर्वत राई, अनिल श्रेष्ठ, किशोर राई, संदिप श्रेष्ठ, बलबहादुर राई लगायतका राजनीतिज्ञ, विद्धान र समाजसेवीहरु सल्लाहकार रहेका छन् ।
इन्जिनियर पोखरेललाई लगाए खानेपानीका प्रमुखले आरोप
धरानमा खानेपानी हाहाकार पार्न आईयुडिपीका इन्जिनियर राजु पोखरेलले पनि भुमिका खेल्दै आएको जनाइएको छ । उनीविरुद्ध पनि १० दिनसम्म इन्टेक सुक्खा पारी खानेपानीको इन्टेक भत्काएको आरोप लागेको छ ।
धरान खानेपानी संस्थानका कार्यालय प्रमुख रामकुमार श्रेष्ठले प्रेस विज्ञप्ति जारी गर्दै आइयुडिपीका इन्जिनियर पोखरेलले अटेर गरेको आरोप लगाएका छन३ । कार्यालय प्रमुख श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा खानेपानीको इन्टेक भत्काई पाइप जोड्ने ढलाई गर्ने काम भएकोले विगत साउन महिनाको पहिको हप्तादेखि नै धरान बजारमा नियमित पानी दिन नसकेको अवस्था सिर्जना भएको सबै उपभोक्तामा जानकारी गराउन चाहन्छु भनिएको छ ।
विज्ञप्तिमा ८,१० दिन पानी नियमित दिन नसकिएपछि साउन १८ गते हर्क साङपाङ सहित ४०–५० जना मानिसहरू आई खानेपानी न आउनुको कारण सोध्न थालेको जनाएको छ । त्यसरी सोधेपछि मुहान हेर्न जाने भनेपछि आफ२ सँगै जान बाध्य भएको विज्ञप्तिमा जनाइएको छ ।
श्रेष्ठले विज्ञप्तिमा आइयुडिपिको कार्यशैली गैर जिम्मेवार भइदिँदा जनताको आक्रोश बढेको दाबी गरेका छन३ । उनले संस्थान हस्तान्तरण नभै खानेपानीको इन्टेक खोस्नु गैर कानुनी कार्य भएको दाबी गरे । साउन १८ गते खानेपानीको मुहान सर्दुखर्दुको पाइप तोडफोड गरेको भन्दै साङपाङलाई प्रहरीले पक्राउ गरी ५ दिनको म्याद अदालतबाट थप गरिएको छ भने खानेपानी संस्थानका रामकुमार श्रेष्ठलाई फरार रहेको भन्दै पक्राउ पुर्जी जारी गरिएको छ ।