Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

होटलहरूमा छ्याप्छ्याप्ती यौनधन्दा, युवतीले नै बोलाउँछन्

अनुषा थापा
कार्तिक २० २०८३, शुक्रबार
होटलहरूमा छ्याप्छ्याप्ती यौनधन्दा, युवतीले नै बोलाउँछन्

नेपालमा वेश्यावृत्ति प्रतिबन्ध छ । कानुनले यौनधन्दा सञ्चालन गर्न रोक लगाएको छ । तर, काठमाडौं उपत्यकाभित्र सडकमा छ्याप्छ्याप्ती यौनधन्दाका निम्ति बार्गेनिङ भइरहेको दृश्य देखिन्छ । रत्नपार्क, बागबजार, पुतलीसडक, नयाँ बानेश्वर लगायत विभिन्न ठाउँका आकाशे पुल र फुटपाथमा महिला र पुरुषबीच यस्तै कुरा भइरहेको सुनिन्छ ।
युवतीहरु पुरुषलाई आफूसँग जान फकाइरहेका हुन्छन् । एक हजार रुपैयाँ आफूसँग बसेको र पाँच सय होटल खर्च भन्दै बार्गेनिङ गरिन्छ । खाजाघर, गेष्ट हाउस र होटल सञ्चालकहरुले पनि यो धन्दा चलाइरहेका छन् । आर्थिक अवस्था कमजोर भएका, घर बिग्रिएका युवतीहरुलाई त्यसरी अवैध काममा लगाइएको अवस्था छ ।
उपत्यकाका अधिकांश होटल, गेष्ट हाउस, खाजाघरमा यी क्रियाकलाप हुन्छ । खाजा घर, गेष्ट हाउस र होटलको बोर्ड झुण्ड्याएर भित्र अर्कै धन्दा गरिन्छ । उनीहरुले होटलमै महिला राखेका हुन्छन् । प्रति ग्राहकबापत दुई हजार रुपैयाँ असुले भने पाँच सय ती युवतीलाई दिन्छन् ।
बालिका, किशोरी, युवतीहरू पनि यो अवैध काममा फँसिरहेका छन् । एकचोटि त्यो दलदलमा फँसेपछि उम्किन गाह्रो छ । ‘अब गर्दिनँ’ भन्दाखेरि परिवारलाई भन्दिन्छु लगायतका डर देखाइन्छ । र, उनीहरु बाध्य हुन्छन् । यसरी बाध्य पारेर महिला, किशोरी, बालिका, युवतीहरूलाई फँसाइरहेको अवस्था छ ।
उपत्यकासहित बाहिरी जिल्लामा पछिल्लो समय स्पा व्यवसाय ह्वात्तै बढेको छ । बोर्डमा स्पा लेखिएपनि प्रायःजसोमा हुने भनेकै यौन धन्दा हो । महिलाहरु राखेर स्पा व्यवसायीहरुले लुकिछिपी यौन धन्दाको व्यवसाय चलाइरहेका छन् । दोहोरी साँझ, रात्रिकालीन व्यवसायहरुमा पनि यो धन्दा हुन्छ ।
त्यहाँ केटाकेटी भेटाइदिएर यौनधन्दा सञ्चालन गरिन्छ । तर, नियमनकारी निकायको यसतर्फ ज्यान जान सकेको छैन । आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई यसरी फसाएर कमाउने गिरोह नेपाली समाजमा सक्रिय भएको छ । उमेर हुञ्जेल त उनीहरुले त्यसरी खालान्, उमेर ढल्किएपछि के गर्ने ?
रोग लाग्यो भने उनीहरुलाई कसले हेर्छ ? कसले पाल्छ ? पुरै घर नै भाडामा लिएर यौन धन्दा चलाउनेहरु पनि छन् । विडम्बना, तिनलाई कसले कारबाही गर्ने ? देशमा नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो, राष्ट्रिय अनुसन्धान विभाग छ । यी निकाय के गरेर बसेको छ ?
छापा हानेर धमाधम फर्किनुपर्दैन ? काठमाडौंको दरबारमार्ग, ठमेल, रत्नपार्कलाई ‘रेड लाइट’ एरिया बनाइसकेका छन्, सरकारले घोषणा गर्न मात्र बाँकी हो । कसैले पनि कसैको कमजोर आर्थिक अवस्था, अशिक्षाको फाइदा उठाउन मिल्दैन । तर, होटल व्यवसाय चलाउने भनेर केही गिरोहले महिलाको जिन्दगी बर्बाद बनाइरहेका छन् ।
करकापमा पनि उनीहरुले सो धन्दा गरिरहेका छन् । बुवाआमा गुमाएका, गाउँमा बस्ने महिलाहरुलाई विभिन्न प्रलोभन देखाएर यहाँ ल्याइन्छ । त्यसपश्चात् सो धन्दामा लगाइन्छ । उनीहरुले गर्दिनँ भन्दा तेरो फोटो सार्वजनिक गरिदिन्छौं, समाजमा बदनाम बनाइदिन्छौं लगायतका डर देखाइन्छ ।
आफ्नो सन्तानलाई पढ्न पठाएर अर्काको सन्तानको जिन्दगी यसरी बर्बाद बनाउन मिल्छ ? राज्यले तुरुन्तै अनुगमन गरेर त्यस्तामाथि कारबाही गर्नुपर्छ । यौन धन्दाको व्यवसाय चलाएर होटल व्यवसायीले थुप्रै कमाइरहेका होलान् । यौन धन्दामा लगाइएकी महिलालाई कम पैसा दिएर सबै पैसा उनीहरुले राख्छन् ।
त्यस्ता धन्दामा संलग्न महिलालाई गुजारा गर्नपनि मुश्किल छ । रत्नपार्कस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयअगाडि त्यस्तो धन्दा गर्ने महिलाहरु यत्तिकै हुन्छन् । कोही उभिएर त कोही स्कुटरमा बसेर केटाहरुलाई बोलाइरहेका हुन्छन् । सरकारले तिनलाई पक्राउ गरेर यौन धन्दा सञ्चालन गर्ने गिरोहसम्म पुग्नुपर्छ ।
नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि पनि महिलाहरु केटा बोलाइरहेको दृश्य छ्याप्छ्याप्ती देखिन्छ । त्यहाँको पुल तर्नै सक्दैन । ‘जाने हो ?’ भन्दै सोध्छन् । पुरुषहरुलाई त्यहाँबाट ओहोरदोहोर गर्नपनि गाह्रो छ । एअरपोर्टअगाडि पनि यस्ता दृश्य देखिन्छन् । कानुनविपरीत भइरहेको यो धन्दा रोक्न सरकार नाकाम बनेको छ ।
समाजमा के भइसकेको छ ? सरकारलाई जानकारी हुँदैन । देशमा प्रहरी, गुप्तचर छ । सूचना संकलन गर्न नसक्ने गुप्तचर र गलत काम गर्नेलाई कठघरामा ल्याउन नसक्ने प्रहरी के काम ? समाजमा शान्ति सुरक्षा कायम गर्न, गैरकानुनी धन्दाहरु रोक्न प्रहरी चुकेको छ । जसका कारण गैरकानुनी धन्दा सञ्चालक गर्नेहरुको मनोबल बढ्दै गएको छ ।
प्रहरीले कहिलेकाँही छापा हान्छ । तर, महिलाहरुलाई मात्र समात्छ । होटल व्यवसायको नाममा यौन धन्दा चलाउनेलाई छोडिदिन्छ । यद्यपि, पक्राउ गर्नुपर्ने त होटल सञ्चालक र घरधनीलाई होइन र ? आफ्नो घरमा कस्तो धन्दा चलाइरहेको छ ? यसबारे घरधनीलाई जानकारी हुनुपर्दैन ?
पीडा र बाध्यतामा सो धन्दामा लागेकालाई मात्रै समातेर प्रहरीले मुद्दा चलाउँछ । देशको कानुनले २० वर्षमूनि विवाह गर्न रोक लगाएको छ । त्यसलाई बालविवाह भनिन्छ । तर, यौन धन्दामा १५–१६ वर्षका कलिला बालिकाहरुलाई लगाइएको छ । आफ्नो पालिकाभित्र कस्ता व्यवसाय सञ्चालन भएका छन् ? जनप्रतिनिधि बेखबर छन् ।
उनीहरुलाई मतलबै छैन । जानकारी पाएका स्थानीयले पनि सरोकारवाला निकायमा खबर गर्दैनन् । यौन धन्दा चलाउनेहरुले बढी भाडा तिरेर घर भाडामा लिएका हुन्छन् । त्यसपछि त्यहाँ जेसुकै गरोस्, घरधनीलाई चासो हुँदैन । त्यसैले त्यस्ता घरधनीमाथि पनि कारबाही आवश्यक छ ।
अनि मात्र त्यस्ता व्यवसायीलाई घर भाडामा दिन घरधनीहरु डराउँछन् । रवि लामिछाने गृहमन्त्री हुँदा चौबिसै घण्टा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरे । त्यसले कतिको घरपरिवार बिग्रियो ? सरकारसँग अभिलेख छ ? राति भनेको सुत्ने समय हो । राति जनता नचाउने, यौन धन्दामा लगाउने होइन ।
राज्यलाई जनताको भविष्यसँग मतलब छैन, करसँग मात्र छ । सरकारको सो निर्णयले जनताको निद्रा बिग्रियो । घरपरिवार बिग्रियो । घर नजाने, रातभर त्यहीँ रमाइलो गरेर बस्ने । रात्रिकालीन व्यवसायमा पुगेका महिलाहरु जबरजस्ती करणीमा परेको घटना पनि सार्वजनिक भयो ।
सरकारले रातभर रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दियो तर अनुगमन खोइ ? अनुगमन गर्नुपर्दैन ? निर्णय गर्दैमा सरकारको दायित्व सकिन्छ ? यहाँ राज्य छँदै छैन । राज्य भएको भए, यस्ता धन्दा हुँदैनथ्यो । आर्थिक अवस्था कमजोर भएका महिलाको जिन्दगी बर्बाद हुँदैनथ्यो ।
कानुनले निषेध गरेको क्रियाकलाप गरेर केही गिरोह मौटाउँदैथे । त्यसैले यहाँ राज्य छैन । आफ्नो फाइदाका लागि केही गिरोहले महिलाको भविष्य अध्याँरोमा धकेलिरहँदा राज्य हात बाँधेर बसेको छ । यस्ता धन्दा चलाउनेहरु कुनै न कुनै पार्टी, व्यवसायिक संगठनमा सदस्य छन् । तिनकै संरक्षणमा यो गैरकानुनी धन्दा चलिरहेको छ ।

प्रकाशित मिति: कार्तिक २० २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

  • सुनदेखि गाडीसम्म प्रमाण नै नहुने वस्तुमा लगानी बढ्दो

    नेपालमा वि.सं. २०२२ सालमा सुन प्रतितोला ८० रुपैयाँ रहेको पाका बुढापाका बताउँछन् । त्यतिबेला चाँदी त बिक्री नै नहुने उनीहरुको भनाइ छ । २०८२...

    • ३ दिन अगाडी
    • ७ मिनेट पाठ
  • सहकारीले बिल्लीबाठ

    ‘टोल टोलमा सहकारी, घर घरमा धानको भकारी’ भनेर सरकारले सहकारी दर्ताका लागि प्रोत्साहन गर्यो । सहकारीलाई अर्थतन्त्रको तीन खम्बा भनियो । देशमा ३५ हजार...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • चाडपर्वको उमङ्गसँगै विद्यार्थीले एक महिने बिदाको सदुपयोग कसरी गर्ने ?

    नेपाली समाज विविध धर्म, संस्कृति, परम्परा र संस्कारले समृद्ध छ । हाम्रा चाडपर्वहरू मनोरञ्जन र खुसी साटासाट गर्ने अवसर मात्र नभई पारिवारिक आत्मीयता, सामाजिक...

    • ३ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • ‘देखावटी र मौसमी अनुगमन’ पनि भएन यसपटक

    नेपालीको महान् चाड दशैं ढोकैमा छ । तर, यो दशैंमा पनि बजारमा सरकारको शून्यता देखियो । विगतमा दशैं आउँदा मात्र बजारमा सरकार देखिन्थ्यो ।...

    • ३ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • दशैं-तिहार र चुनावमा मात्रै गाउँ फिर्ने ?

    दशैं मान्नका लागि काठमाडौं उपत्यका छोड्नेको संख्या बढ्दो छ । व्यापार व्यवसाय, रोजगारी, शिक्षा लगायतका कारणले उपत्यका बसिरहेकाहरु धमाधम गाउँ फर्किरहेका छन् । उपत्यकाका...

    • ३ हप्ता अगाडी
    • ७ मिनेट पाठ
  • अक्षरको नोबेल यात्रा

    -तोमनाथ उप्रेती स्टकहोम जाने विमान बादलमाथि उडिरहेको थियो। तल पृथ्वी थियो। माथि आकाश। बीचमा म। तर त्यो दिन मेरो यात्रा स्विडेनतर्फ मात्र थिएन। म अक्षरतर्फ...

    • ४ हप्ता अगाडी
    • १० मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend