Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा हरियो तरकारीको भाउ उच्च

हाम्रो कोशी आवाज
साउन २४ २०७७, शनिबार
धरानमा हरियो तरकारीको भाउ उच्च

धरान–९ को सब्जीमण्डीमा तरकारी बेच्दै व्यवसायी । फोटो फाइलः हाम्रो कोशी आवाज

धरानः धरानमा तरकारीको भाउ अचाक्ली बढ्दै गएको छ ।
बजारमा आलु १००, टमाटर २००, प्याज ४५ रूपैयाँ, अन्य हरियो तरकारीजति सबै पावाकै ५० देखि ६० रूपैयाँसम्म पुगेको छ । अन्य तरकारी पनि १०० रुपैयाँ केजीभन्दा तल छैन ।
धरानकी गृहिणी सवनम सुब्बाले सब्जीको व्यवसाय गर्दै आएका व्यवसायीले मनपरी मूल्य लिइरहेको र मनपरी नै मूल्य तिर्नुपरिरहेको गुनासो गरिन् ।
अहिले व्यापारीले विभिन्न बहानामा तरकारी तथा अन्य दैनिक उपभोग्य वस्तुको मूल्य अचाक्ली बढाएका छन् तर सम्बन्धित निकाय मौन बसेको धरान–११ की उपभोक्ता सीमा रिमाल बताउँछिन् । ‘३–४ दिनअघिसम्म ११० रुपैयाँमा किनेको टमाटर अहिले २०० रूपैयाँमा किनीखानुपरेको छ ।’
विचौलियाका कारण तरकारी अस्वाभाविक रूपमा बढ्दा र कालोबजारी हुँदासमेत अनुगमन गर्ने निकाय कानमा तेल हालेर बसेको उपभोक्ताको भनाइ छ ।
आखिर जे कारणले तरकारीको भाउ बढेपनि बिहान–बेलुका आम सर्वसाधारणको भान्सामा पाक्ने तरकारीको मूल्यवृद्धिले निम्न आय भएका नागरिकहरुको जीवन असहज बनेको छ ।
कृषि बजारमा आपूर्ति छैन
धरानको कृषि बजारमै तरकारी महंगो रहेको व्यवसायीले बताएपनि धरानमा अहिले आपूर्तिको व्यवस्था छैन । ‘धरानमा खुद्रा व्यवसायीमा कोरोना देखिएपछि र थोक बजारमा पनि ती व्यवसायी आएको भन्ने जानकारी आएपछि अहिले कृषि बजारमा आपूर्तिको व्यवस्था नै छैन, हामी पनि गुन्द्रुक खाएर बस्नुपर्छ भनेर ताला लगाएर बसेका छौं,’ व्यवस्थापक लक्ष्मण भट्टराई भन्छन् ।
उनले पनि धरानमा तरकारी महंगो भएको बताए । ‘अहिले तरकारी सिधै धरान छिर्दैन, सिधै पहाडबाट आउँछ या पानबारी, विष्णुपादुकाबाट केही डोकोमा ल्याउने व्यापारीले छोड्छन्’, उनले भने, ‘अर्थात् स्टक भएका तरकारी, चिस्यानमा राखिएका तरकारी खानुपर्दा महंगो भएको हुनसक्छ ।’ उनले अहिले लुकीछिपी ल्याउने र कालोबजारी गर्ने व्यवसायी बढेको तर्क राखे । ‘लुकीछिपी ल्याउनेले आफ्नो सप्लाइ गर्दा महंगोमा बेच्दा भइगयो नि भनेर बेचेका पनि हुनसक्छन् वा स्टकमा राखेको तरकारी बेच्दा महंगोमा परेको पनि हुनसक्छ, यस विषयमा उपमहानगरपालिकाले अनुगमन गर्नुपर्ने देखिएको छ ।’ उनले भने ।

प्रकाशित मिति: साउन २४ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend