धरानः धरानमा भीडभाडका साथ दोब्बर मूल्य लिएर तरकारी बेच्दै गरेको अवस्थामा भेटिएपछि तरकारी जफत भएको छ । बेच्न त बेच पनि चाहिनेभन्दा दोब्बर मूल्य लिएको भेटिएको बताए । विशेषतः रातिको समयमा तरकारी बेच्ने गरिएको पाइएको प्रहरीले जनाएको छ ।
धरान नगर प्रहरी प्रमुख विष्णु कोइरालाका अनुसार बढी मूल्यमा भीडभाडका साथ तरकारी बेच्दै गरेको पाइएपछि तरकारी नै जफत गरिएको जानकारी दिए । ‘पिण्डेश्वरीपथबाट एउटा गाडी नै नियन्त्रणमा लिएका छौं’, उनले भने, ‘सधैं तरकारी त्यहाँ छोडिदिने र त्यहाँका व्यापारीले बढी मूल्य समेत लिने गरेको पाइएपछि गाडीसहित तरकारी पनि जफत गरेका छौं ।’
शनिबार राति रिक्सा, गाडी, ठेलामा भीडभाडका साथ तरकारी बेच्ने गरेको पाइएपछि तरकारी जफत गरिएको उनले जानकारी दिए । धरानको सिंहदेवीचोक, चतरालाइन, अन्नपूर्णचोक, छाताचोक, टेलिकम लाइन, निकेतन गल्ली, रत्नरोड, सिंहदेवी पथ, पुरानो बजार, नयाँ भानु सब्जी पसल, आचार्य लाइन, सब्जीमण्डीलगायतका स्थानमा कसैले पसल नै थापेर त कसैले ठेला, रिक्सामा भीडभाडका साथ तरकारी बेच्ने गरेको फेला पारेपछि तरकारी नै जफत गरिएको उनले जानकारी दिए ।
‘खासमा अहिले मान्छेपनि निस्किन नपाएको, स्थानीय सरकारले पानीबाहेक केही बेच्न पाइँदैन भनेर भनिरहेको छ, दूधको गाडी त फर्काएका छौं तर यसरी निर्वाधरुपमा तरकारी पसल थाप्नु त भएन नि’, उनले भने ।
हाल पाँच क्वीन्टनल तरकारी प्रहरीले जफत गरेको उनले जानकारी दिए । ‘कालोबजारी गर्न पाइँदैन, अझै यो संकटको बेलाको फाइदा उठाउँदै झनै कालोबजारी बढिरहेको पाइएको छ’, उनले भने । जफत भएका तरकारी के होला त ? भन्ने प्रश्नमा उनले भने, ‘अब कार्यपालिकाले के निर्णय सोहीअनुसार अघि बढ्छौ ।’ उनले कतिपय तरकारी कुहिने जाने पनि बताए । ‘तरकारी नै जिल्लाबाहिरबाट गाडीमा ल्याएको पाइयो’, उनले भने, ‘तरकारीमै पनि कोरोना लिएर आएका पनि हुनसक्छन्, त्यही पनि भीडभाडका साथ बेच्दा के हालत होला ?’ उनले तरकारी अहिले यसअघि लकडाउनका बेला पासमा तरकारी बेच्दै आएपनि त्यो नियमसमेत अहिले हटेको बताए ।