धरानः शैथ्या अभावका कारण अहिले संक्रमितलाई समस्या छ । धरानमा धमाधम कोरोना संक्रमित थपिन थालेपछि फेरि १०० बेडको आइसोलेसन शैथ्या थप गर्ने तयारी थालिएको छ ।
विशेषतः प्रदेश १ का संक्रमितहरूको समेत चाप हुने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड–१९ अस्पतालमा आइसोलेसन शैथ्या थप गर्ने तयारी थालिएको हो ।
हाल रहेको ७० क्षमताको आइसोलेसन कक्षमा संक्रमितले बेड अभावको समस्या खेप्नुपरेपछि फेरि कक्ष थप गर्ने तयारी थालिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । हप्तादिनभित्र आइसोलेसन कक्ष थप्ने तयारी भइरहेको उनले जानकारी दिए ।
‘७० जना बिरामीको क्षमताको आइसोलेसन कक्ष रहेको थियो तर पेइङ वार्डलाई समेत आइसोलेसन कक्ष बनाएर १०० जनासम्म संक्रमित राख्नुपरिरहेको थियो’, उनले भने, ‘त्यही भएर अब हप्तादिनभित्रमा सबै तयार पार्छौं, त्यसमा लक्षणसहितका संक्रमितलाई अझै सहज हुनेछ ।’
संक्रमित थपिँदै जाँदा अहिले प्रतिष्ठानमा पुरै बेड भरिएको छ । उनका अनुसार आइतबारसम्म १०० जना संक्रमित रहेको र १ जना डिस्चार्ज भएका छन् । उनले अहिले सयजनामध्ये अधिकांश लक्षण नभएका रहेको जानकारी दिए ।
अहिले लक्षण नभएका संक्रमित धेरै रहेको प्रतिष्ठानमा लक्षणसहितका पनि थपिने सम्भावनालाई मध्यनजर गरेर शैथ्या थप्ने तयारी भएको जनाइएको छ । ‘अहिले प्रतिष्ठानमा लक्षणसहितका संक्रमित छैनन्, लक्षणसहितका कोरोना संक्रमित थपिने हो भने के हाल होला भनेर थप सय बेडको शैथ्या थप्ने तयारी थालेका हौं ।’ उनले भने ।
यसअघि कोरोना शुरू भएपछि पनि प्रतिष्ठानमा कोभिड–१९ अस्पताल सञ्चालनमा आउन एक साता पनि लागेको थिएन । साताको अवधिमा अस्पताल तयार गरिएको थियो । संघीय सरकारले प्रतिष्ठानलाई कोभिड–१९ उपचारको लागि ‘लेभल ३’ अस्पतालको स्तरमा वर्गीकरण गरिसकेको छ ।
उता प्रदेश १ सरकारले होटल र निजी अस्पतालमा आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरिसकेको छ । मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा बसेको कोभिड संकट व्यवस्थापन समितिको बैठकले सुनसरी, मोरङ र झापामा ११ वटा होटल र निजी अस्पतालमा आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको हो ।
लक्षण नदेखिएकालाई राख्न विराटनगरको मारवाडी सेवा समाजमा ५०, रंगेली नगरपालिकास्थित जनता क्याम्पसको भवनमा १ सय र सुनसरीको हरिनगर गाउँपालिकास्थित अस्पतालमा ५० र बराहक्षेत्र नगरपालिकास्थित कृष्णदास आश्रममा एक सय शैथ्याको आइसोलेसन केन्द्र सञ्चालन गरिने भएको छ ।