धरानः धरान उपमहानगरपालिकामा थपिएका ९ जना संक्रमित अहिलेसम्म आइसोलेसनमा पुग्न पाएका छैनन् ।
एशियाकै उत्कृष्ट मानिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै पनि संक्रमितलाई राख्न तयारी गरिएको आइसोलेसन कक्ष भरिएपछि अहिले संक्रमित वडाको निगरानीमा होम आइसोलेसनमै रहेका छन् ।
‘९ जनामध्ये कतिपय एन्फा क्वारेन्टाइनमै हुनुहुन्छ’, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले भने, ‘वडामा संक्रमित भएकाहरू घरमै हुनुहुन्छ, उहाँहरूको अवस्था सामान्य छ, हामीजस्तै स्वस्थ हुनुहुन्छ, आत्तिहाल्नुपर्ने अवस्था छैन, त्यही भएर वडाको निगरानीमा होम आइसोलेसनमै बस्न सुझाएका छौं ।’ उनले भने । प्रमुख उमेश मेहेताले धरान उपमहानगरपालिकाले पनि छुट्टै आइसोलेसन आइसोलेसन निर्माणका लागि छलफल चलाइरहेको बताए । ‘बीपीमा संक्रमितले भरिएपछि अहिलेसम्म त्यहाँ लान सक्ने अवस्था छैन’, उनले भने, ‘उपमहानगरपालिका आफैंले केही गर्नुपर्छ भनेर मेयरलगायत जनप्रतिनिधि नै लागिरहनुभएको छ ।’
धरानमा बिरामीहरु घरमै बस्नुपर्ने अवश्थामा रहेको भन्दै अहिले मेयर, वडाका जनप्रतिनिधिको दौडधुप छ । बीपी प्रतिष्ठानका पदाधिकारी, पहरी, प्रशासनसँग अहिले छलफल चलाइरहेको छ । ‘अहिले पनि छलफल चलिरहेको छ’, वडाध्यक्ष मनोज भट्टराईले भने, ‘भरेसम्ममा केही निष्कर्ष निस्किन्छ ।’ उनले पोजिटिभ देखिएकाहरूलाई घरमै राख्नुपर्ने अवस्था आएकोले उपमहानगरपालिका आफैले व्यवस्थापन गर्ने गरी छलफल चलाइरहेको बताए ।
बीपीमा हाल १०० जनाको लागि भनेर आइसोलेसन कक्ष बनाइएको भनिएपनि ७० वटा मात्रै रहेको प्रमुख मेहता बताउँछन् । ‘प्रतिष्ठानमा ७० वटा बेडको आइसोलेसन कक्ष छन्, १०० जनालाई ठाउँ पुरयाउन अहिले पेइङ वार्डलाई समेत सञ्चालन गरिरहेको बुझेका छौं’, उनले भने । धरानस्थित प्रतिष्ठानले धरानेका लागि त्यति वास्ता नगरेको जनप्रतिनिधिको गुनासो छ । ‘प्रतिष्ठानको धरानेका लागि जवाफदेहिता भने देखिएन, त्यही भएर हामी आफैं आइसोलेसनको विकल्पतिर लागेका हौं ।’ वडाध्यक्ष भट्टराईले भने । धरानका कुनैपनि स्थानमा जनशक्ति खटाएर आइसोलेसन बनाउन लागिएको उनले जानकारी दिए । अहिले धरानमा समुदायस्तरमा पनि कोरोना पोजेटिभ केस देखिएपछि स्थानीयबासी त्रसित छन् ।
उता प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले संक्रमित बढेपछि आइसोलेसन कक्ष भरिएको र संक्रमित थप्ने अवस्था नरहेको बताउँछन् । ‘अहिले लक्षण देखिएका र नदेखिएका संक्रमितले नै प्रतिष्ठान भरिएका छन्’, उनले भने, ‘खासमा लक्षण नदेखिएकालाई होम आइसोलेसनमै राख्नुपर्ने अवस्था आउन सक्छ ।’