Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा बढ्दो महामारी, बीपी प्रतिष्ठानमा बढ्दो तनाव

हाम्रो कोशी आवाज
साउन २८ २०७७, बुधबार
धरानमा बढ्दो महामारी, बीपी प्रतिष्ठानमा बढ्दो तनाव

धरानः धरानलगायत प्रदेश १ का अधिकांश ठाउँमा कोरोना संक्रमण बढिरहेको बेला बीपीका पदाधिकारी र विशेषज्ञ चिकित्सक काठमाडौं पुगेका छन् ।
‘ओपीडी’ सेवा बन्द गरेर चिकित्सकहरू काठमाडौं पुगेको भन्दै अहिले आलोचना समेत शुरू भएको छ । आलोचना त आफ्नो ठाउँमा छ तर हजारौं बिरामी उपचार सेवाबाट बञ्चित भएका छन् । साउन ३० गतेको सिनेट बैठक भ्याउनकै लागि प्रतिष्ठानको ओपिडी सेवा बन्द गरेर प्रतिष्ठानका पदाधिकारी र चिकित्सक काठमाडौं पुगेको आरोप पनि लाग्न थालेको छ ।
प्रतिष्ठानका पदाधिकारीहरु उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहित शिक्षाध्यक्ष डा गुरु खनाल, रजिष्ट्रार डा मोहनचन्द्र रेग्मी र निर्देशक गौरीशंकर साहलगायतका डेढ दर्जन चिकित्सक काठमाडौं पुगिसकेका छन् । कोरोना संक्रमित र अन्य बिरामीको उपचार गर्न छाडेर जानु गैरजिम्मेवारीपन देखाएको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बताएका छन् । उनले यसअघि नै स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई लिखित आग्रह गरेका थिए तर अटेर गरिएको उनको भनाइ छ ।
तालाबन्दी गर्न पुगेकामाथि प्रहरीको अवरोध
यसैबीच बुधबार उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गर्न गएका नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबीच केहीबेर तनाव भएको छ । नेवि संघ, तरुण दल र महिला संघका कार्यकर्ता उपकुलपतिको कार्यालयमा ताला लगाउन पुगेका थिए । उनीहरूको प्रहरीसँग घम्साघम्सी समेत परेको छ । प्रहरीले छेकेपछि तालाबन्दी भने भएन । अहिले पनि त्यो ताला नेविसंघ, तरुण दलकै हातमा छ ।
तरुण दलका धरान नगर अध्यक्ष हिमाल श्रेष्ठले प्रहरीले अवरोध गरेपछि ताला नलगाइएको बताए । उनले चार महिनाअघि सञ्चालनमा आउने भनिएको कोभिड १९ अस्पताल सञ्चालन हुनुपर्ने माग पनि राखेको बताए ।
अघिल्लो दिन अर्थात् मंगलबार उनीहरूले कार्यकक्षमा तालाबन्दी गरेका थिए । तालाबन्दी गरेको एक घण्टा पछि प्रहरीले ताला फोडेको थियो । ताला फोडेपछि आज (बुधबार) उनीहरू फेरि ताला लगाउन पुगेका थिए ।
प्रहरी अवरोधको कारण ताला लगाउन नपाएपनि उनीहरूले कोणसभा भने गरेका थिए । माग गरिएका विषयहरूमा गैर जिम्मेवारी, ढिलासुस्ती र मनोमानी गरिए आन्दोलन कडा हुने र आन्दोलन जारी रहने अध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित मिति: साउन २८ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend