Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

स्कुल चलाउन धानखेती

हाम्रो कोशी आवाज
साउन २९ २०७७, बिहिबार
स्कुल चलाउन धानखेती

तेह्रथुमः विद्यालयले सामूहिक रोपाइँ गर्छ भन्दा आश्चर्य लाग्नसक्छ । तर, अहिलेपनि तेह्रथुमको नारायण माध्यमिक विद्यालयले वर्षेनी सामूहिक धानखेती गर्दै आएको छ ।
धानखेतीबाट हुने आम्दानीले विद्यालय सञ्चालन गर्न थप मद्दत पुगेको छ । युवा जनशक्ति नभएपछि तेह्रथुमको नारायण माध्यमिक विद्यालयले खेत बाँझिन नदिन सामूहिक धानखेती गरेको छ । वि.सं. २०१५ सालमा स्थापित तेह्रथुमको म्याङलुङ नगरपालिका साब्लामा रहेको यस विद्यालयले ज्यालादारी कामदार तथा अधियाँ कुतमा रोपाइँ गर्ने कृषकहरुको अभाव भएपछि आफैंले धानखेती गर्नुपरेको हो । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष गिरिराज सुवेदीले खेत बाझिने भएपछि गाउँलेहरुलाई आग्रह गरेर विद्यालयले नै खेत रोपेको बताए ।
विद्यालय स्थापना गरिएपनि तत्कालीन समयमा शिक्षकहरुलाई सेवा–सुविधा दिने स्रोत नभएपछि स्थानीय समाजसेवी जयनारायण सुवेदीले २१ रोपनी बेसी खेत विद्यालयलाई दिएका थिए । वर्षेनी ४० मुरी धान फल्ने सो खेतमा फलेको धान शिक्षकहरुले पारिश्रमिकस्वरुप लाने गरेको स्थानीयबासी भगवान रिजालले बताए । वर्षेनी धान तथा अन्य हिउँदेबाली खेती हुँदै आएको सो खेत श्रमिकको अभावमा पछिल्लो केही वर्षयता बाँझिदै आउँदा विद्यालयको आम्दानीसमेत घट्दै आएको थियो ।
करिब ५०० विद्यार्थी तथा १८ जना शिक्षक कार्यरत् उक्त विद्यालयको आन्तरिक आम्दानीका लागि आफूहरु सामूहिक खेतीमा सहभागी भएको कृषक तुलसी भण्डारीले बताए । बसाइँसराइ, वैदेशिक रोजगारीमा युवाहरूको आकर्षण, सिँचाइको अभाव, कृषि लागतमा वृद्धि र उत्पादनमा ह्रासजस्ता कारणले यहाँका जमिन बाँझो रहने सम्भावना बढ्दै गएको छ । तर, विद्यालय सञ्चालन गर्नको लागि सहज हुने र गाउँकै एउटा इज्जत र प्रतिष्ठाको विषय भएकाले पनि दाताले दिएको खेत बाँझै राख्नु राम्रो नभएकाले पनि गाउँले मिलेर रोपाइँ गरिएको हो ।

प्रकाशित मिति: साउन २९ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend