Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लाश बुझाउन प्रहरीलाई ‘हतारो’ !

हाम्रो कोशी आवाज
साउन ३० २०७७, शुक्रबार
लाश बुझाउन प्रहरीलाई ‘हतारो’ !

धरानः धरान-४ गैरीगाउँ (शिवजट्टा जाने बाटो छेऊ) की १२ वर्षीया बालिका ममता राई झुन्डिएर आत्महत्या गरेपछि थप रहस्य खुल्दै गएको पाइएको छ ।
धरान उपमहानगरपालिकाको बाल सञ्जाल र सफेद चरण सामाजिक बहिष्कारविरुद्ध मानव अधिकार संरक्षण धरानले पनि घटनाबारे चासो लिन थालेपछि थप रहस्य खुल्दै गएको हो । यसैबीच लाश बुझाउन प्रहरीलाई हतारो परेको जस्तो कागजात फेला पारेको सञ्जालले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानले पोष्टमार्टमका लागि लाश लगेको र लाश पनि बुझाएको सञ्जालले जनाएको छ ।
सञ्जालकी उपाध्यक्ष सुजाता राईले बालिकाको मृत्यु भइसकेपछि हतार–हतार पारामा पोष्टमार्टमका लागि लगिएको र लाश बुझाउँदा पनि सम्बन्धित कसैले पनि सही गर्न नभ्याएको कागजात फेला परेको पाइएको जनाएकी छिन् ।
‘कागजमा पत्र बमोजिम मृतक लाश बुझिलिएँचाहिँ भनिएको छ तर कागजातमा आफन्त कसैले पनि सही गरेका छैनन् ।’ उनले भनिन्, ‘कि त आफन्तले सही गर्न भ्याएनन् कि त प्रहरीले नै भुल्यो, यसले पनि घटनामा शंका गर्ने ठाउँ राखिदिएको छ ।’ सञ्जालले हत्या वा आत्महत्या हो घटनाबारे निष्पक्ष छानविनको माग गर्दै आएको छ । सञ्जालकी सदस्य तथा धरान-१२ की अध्यक्ष विनिशा राईले घटनाको निष्पक्ष छानविन हुनुपर्ने बताइन् ।
गत साउन २५ गते राति घटना घटेको बिहान ६ बजे ती बालिका झुन्डिएको अवस्थामा फेला परेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । पोष्टमार्टमपछि २६ गते साँझ लाश जलाइएको आफन्तले बताएका छन् । आफन्तले भने सही गरेको बताउँदै आएका छन् । ‘खोइ कुन कागजात त गरेको हो’, आफन्त भन्छन्, ‘तर के मा सही गर्न लगाइयो थाहा भएन ।’
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले कमजोरी भएको बताए । ‘खासमा कागजमा आफन्तलाई सही गराएकै हुनुपर्ने हो तर छुटेछ फाइलमा चाहिँ सही भएको छ भन्ने पाएको छुु ।’ उनले भने । उनले बालिकाको रिपोर्ट पनि आज (शुक्रबार) आइसकेको र घटनाबारे फरक ढंगले अनुसन्धान भइरहेको बताए । ‘रिपोर्ट आइसकेको छ, रिपोर्टका अनुसार बालिकाले झुन्डिएकै हो भन्ने देखाएको छ ।’ उनले भने ।
हेरौं, सञ्जालले फेला पारेको आफन्तले सही नगरेको कागजात ।

प्रकाशित मिति: साउन ३० २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend