धरानः धरान उपमहानगरपालिकामा लकडाउनको फाइदा उठाउन खोज्ने व्यापारी खोज्न धरान उपमहानगरपालिकाको नगर प्रहरी अहिले सक्रिय बनेको छ ।
धरानमा बाहिरी जिल्लाबाट तरकारी ल्याउन रोक लगाइएपनि केही व्यापारीको समूह लागिपरेको भन्दै प्रहरी अहिले सक्रिय बनेको प्रमुख विष्णु कोइरालाले जानकारी दिए । घरमै होलसेल व्यापार गर्ने र खुद्रा व्यापारीलाई महङ्गोमा तरकारी बेच्ने र खुद्रा व्यापारीले पनि अझै महङ्गोमा धरानमा तरकारी बिक्री गर्दा उपभोक्ताले झनै महङगोमा तरकारी किनेर खानु परिरहेको हुनाले अहिले होलसेल व्यापारीको तरकारी जफत गर्ने गरिएको उनले जानकारी दिए ।
जफत गरिएको तरकारी तत्कालै जनप्रतिनिधिलाई बोलाएर बुझाइने गरेको र जनप्रतिनिधिले न्युनतम मूल्यमा उपभोक्तालाई वितरण गर्ने गरिएको बताए । ‘खासमा धरानमा लकडाउनकै अवधिमा समेत तरकारी किन महङ्गो भयो भनेर खोज्ने क्रममा होलसेल व्यापारीले नै बठयाइँ गर्दै लकडाउनको फाइदा उठाउन खोजेका रहेछन्’, उनले थपे, ‘यसो गरिएको कहीँकतैबाट सूचनामात्रै आएपनि भइहाल्छ हामी कारवाही अघि बढाइहाल्छौं जहाँ पक्राउ खायो, त्यही वडामा बुझाइदिने र सुपथ मूल्यमा वितरण गर्ने व्यवस्था गर्नेछौं ।’

धरानका २, ७, ८, ९, ११, १५ र १७ वडामा गरेर हालसम्म १३ गाडीबाट करिब ३० क्वीन्टल तरकारी जफत भइसकेको उनले जानकारी दिए । ‘ती तरकारी धराने जनतालाई सहजरूपमा सुपथ मूल्यमा वितरण गरिसकेका छौं ।’ उनले भने । उनले भारतबाट तरकारी आउने नाका बन्द रहेको र तेह्रथुम, डाँडाबजार, धनकुटा आदि स्थानबाट आएका तरकारी नै धरानमा जफत गरेर वितरण गरिएको जानकारी दिए । ‘खासमा धरानेले तरकारी नै खानै नपाउने भन्ने होइन तर सुपथ मूल्यमा खान पाउनुपर्छ भन्ने हो’, उनले भने, ‘लकडाउनको फाइदा उठाउँदै बढी कमाउला भन्ने सोंच भएका व्यापारी बढे, त्यही भएर बढी कमाउला भन्ने नसोचे हुन्छ, जफत भइहाल्छ ।’
भारतबाट आलु, प्याजजस्ता तरकारी मात्रै आउने गरेको बताउँदै उनले धरानमा भने निषेध गरिएको बताए । ‘उताबाट आएका तरकारी आएर पनि रोकिएका छन्’, उनले भने, ‘अहिलेसम्म धरानमा छिर्न दिएका छैनौं, छिरेपनि उतै फर्काइदिने गरेका छौं ।’
उनले होलसेल व्यवसायीले दोब्बर मूल्य लिएर तरकारी बेच्दै गरेको अवस्थामा भेटिएपछि तरकारी जफत भइरहेको जानकारी दिए । ‘दोब्बर मूल्य लिएको पनि पाइएको छ’, उनले थपे, ‘यसो गर्नु भएन, अहिले तरकारी जफत गर्दै सुपथ मूल्यमै बेच्दा पनि ती होलसेल व्यवसायी सन्तुष्ट नै रहेको पाइयो भनेपछि बुझ्नुहोस् न, त्यही भएर हामीले कडाइ गरेका हौं ।’
उनले विशेषतः रातिको समयमा होलसेल व्यवसायीले तरकारी बेच्ने गरिएको पाइएपछि अनुगमनलाई तीब्र पारिएको जानकारी दिए । ‘खासमा राति सुटुक्क बेच्ने र बिहान अनि दिनभरी खुद्रा व्यापारीले धरानेको ढाड सेक्नेगरी तरकारी बेच्ने गरेको पाइएको छ,’ उनले खुलाए, ‘कालोबजारी गर्न पाइँदैन, अझै यो संकटको बेलाको फाइदा उठाउँदै झनै कालोबजारी बढिरहेको पाइएको छ तर कुनै पनि हालतमा छोड्दैनौं ।’

