धरानः धरानमा दिनहुँ सक्रमित बढेको बढ्यै छन् । हालसम्म ८९ जना संक्रमित भइसकेका छन् तर पनि सर्वसाधारणले भने लापरवाही गर्न छोडेका छैनन् ।
हुन त कतिपय आइसोलेसनमा बसेका संक्रमितले खाना खान नपाएको गुनासो भने नआएको होइन । आइसोलेसनमा बसेका संक्रमितले भने घरबाट खाना नल्याउँदा भोकै बस्नुपर्ने अवस्था रहेको गुनासो समेत गर्दै आएका छन् । बिरामीहरुलाई दिइने खानामाथि समेत विभिन्न टिका टिप्पणीहरु भइरहेका छन् नै । विभिन्न सञ्चार माध्यमकाअनुसार केही अस्पतालहरूले कोरोना संक्रमितलाई दिइने खानामा लापरबाही गर्ने गरेको पाइएको छ ।
यसैबीचमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमितका आफन्तलाई आउजाउमा रोक लगाइएको छ । प्रतिष्ठान चिकित्सकका अनुसार आफन्तले बिरामीलाई खाना लिएर पुग्ने, भेट्नेलगायतका क्रियाकलाप गर्न थालेपछि रोक लगाइएको हो ।

धरानमा कोरोना संक्रमितसँगै अस्पताल पुग्छन् आफन्त
प्रतिष्ठानमा कोरोना संक्रमितसँगै आफन्त पुग्ने गरेको पाइएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले कोरोना संक्रमितसँगै आफन्त अस्पताल पुग्ने गर्दा समस्या थपिएको बताए । उनले पुगिहाले पनि सामाजिक दुरी कायम नगर्ने समेत गरेको पाइएको बताए । उनले कतिपय आफन्त केही भई हाल्ने पो हाल्ने हो कि भन्दै अस्पताल परिसर वरिपरी लखरलखर हिँडिदिने, पर्खिरहने समेत गर्ने गरेको पाइएको बताए ।
‘खासमा कोरोना संक्रमितलाई खाना लिएर पुग्ने, भेटघाट गर्ने, त्यो समयमा पनि नजिकै पुग्ने, खाना लगिदिएपछि पनि कोभिड अस्पतालको वरिपरी घुमिरहने, बसिरहने समेत गरेको पाइयो’, उनले भने, ‘यसो गर्दा झन् समुदायमा संक्रमण फैलिने जोखिम रहन्छ, त्यसैले प्रतिष्ठानमा रोक लगाइएको हो ।’ उनले यसअघि संक्रमितसँग संक्रमण नभएका व्यक्तिहरू समेत सँगै आउने समेत गरेको पाइएको जनाए । ‘एकपल्ट प्रदेश २ बाट संक्रमित व्यक्तिसँगै आफन्तसमेत आएको पाइयो’, उनले भने, ‘यसो गर्दा परिवारमै संक्रमण हुन्छ ।’
प्रतिष्ठानले निकाल्यो यस्तो सूचना

प्रतिष्ठानले एउटा सूचना जारी गरेको छ । ‘संक्रमितलाई अस्पतालमा भर्ना गरिसकेपछि संक्रमितसँगै आएका बिरामी कुरुवा तथा आफन्त प्रतिष्ठान परिसरभित्रै नबसिदिन हुन जानकारी गराइन्छ’, सूचनामा भनिएको छ, ‘संक्रमित बिरामी उपचाररत् अस्पताल परिसरभित्रै बसिदिनाले समुदायमा संक्रमण फैलिनसक्ने जोखिम बढ्ने हुँदा बिरामीलाई अस्पताल भर्ना गरिसकेपछि बाँकी सबै उपचार अस्पतालबाटै प्रदान गरिने र आवश्यक परेको खण्डमा खबर गर्नेछौं ।’
सहायक अस्पताल निर्देशक विकास साहले आफन्त अहिले पनि संक्रमितको छेउछाऊ पुग्ने र कोभिड अस्पताल परिसरमै बिरामी रुँग्ने पारामा बसिरहेकोले यस्तो सूचना निकालेको जाननकारी दिए । ‘खासमा सूचना निकाल्नैपर्ने भयो’, उनले भने, ‘नत्र कोरोनाको थप जोखिम बढ्ने पक्का भयो ।’ उनले प्रतिष्ठानकै नर्स, चिकित्सकमा समेत कोरोना संक्रमण भएकोले पनि थप सतर्क हुनुपर्ने बेला आएको बताए ।
प्रतिष्ठानमै खानालगायत अन्य सुविधा
उनले खानालगायत अन्य कुराको प्रतिष्ठानमै बन्दोबस्त रहेको बताउँदै भने, ‘सबै कुरा यहीँ हुन्छ तरपनि कतिपय अभिभावक, आफन्त खाना समेत लिएर पुग्छन् ।’
उनले दुरी कायम नगरी कुराकानी हुँदा कोरोना सर्ने जोखिम रहने बताउँछन् । ‘संक्रमितलाई संक्रमण नभएका आफन्तले खाना, पानी दिनुहुन्छ, दुरी कायम गर्नुभएको पटक्कै पाएनौं, त्यसैले नजानिँदो ढङ्गले भाइरसको संक्रमण हुनसक्छ, त्यसैले पनि प्रतिष्ठानले यस्तो निर्णय लिएको हो ।’ उनले भने । प्रवक्ता सापकोटाले हालसम्म प्रतिष्ठानमा जति जना भर्ना भएका तिनीहरू सबैको अवस्था सामान्य रहेको जानकारी दिए । ‘खासमा सबैको अवस्था सामान्य छ, खानादेखि अन्य कुराको सबै बन्दोबस्त छ, त्यही भएर आफन्त किन आइरहनु परयो त ?’ उनले भने ।
आफन्तको गुनासो
संक्रमितका आफन्तकाअनुसार कोरोना भाइरससँग लड्न शक्ति दिने पोषिलो खानेकुरा दिनुपर्ने भनिँदै आएको तर यसरी रोक लगाउन नहुने बताएका छन् । ‘बीपीमा खासै वास्ता हुँदैन भन्ने सुनेको थिएँ तर होला जस्तो लाग्यो, त्यही भएर खाना लिएर प्रायःजसो पुगिरहन्छु’, एक आफन्त भन्छन्, ‘प्रतिष्ठान आउजाउमा रोक लगाइयो भन्ने सुन्दा अचम्म लागेको छ, कि त त्यहीँ राम्रो बन्दोबस्त हुनुपरयो नि, त्यहाँका बिरामीलाई पोषिलो खानेकुरा दिइनुपर्छ ।’
अस्पतालमा मानवीय ब्यवहार हुनुपर्ने उनले बताए । ‘उचित उपचार र पानीसम्म खाना नपाएर कोरोना संक्रमित ज्यान गएको समाचार पनि नसुनिएको होइन, त्यही भएर हामी प्रायः खाना लिएर गइरहेका हुन्थ्यौं, किन रोक्नु, सामाजिक दुरी कायम गरेर पोषिलो खानेकुरा खुवाउनसम्मचाहिँ पाउनुपथ्र्यो ।’ उनले खुलाए ।

