Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानकी कोरोना जित्ने ८० वर्षीया वृद्धा

हाम्रो कोशी आवाज
भाद्र ७ २०७७, आइतबार
धरानकी कोरोना जित्ने ८० वर्षीया वृद्धा

धरानः ‘कोरोनाजस्तो डरलाग्दो रोगले समातेपछि निको भएर बाँचौंला र घर फर्कियौंला भन्ने लागेको थिएन’, धरान–३ स्थित चन्द्रपुर बजारकी ८० वर्षीया वृद्धा सर्मिला पलिखे (परिवर्तित नाम) ले भनिन्, ‘तर पाँचजनाको परिवारै फर्कियौं ।’ उनका ८७ वर्षीय श्रीमान्, छोरा (४१ वर्षीय) बुहारी (३५ वर्षीया) र ७ वर्षीय नाति गरेर पाँचैजना घर फर्किसकेका छन् ।
सुन्तली, श्रीमान र नातिचाहिँ १२ दिनपछि केहीदिनअघि घर फर्किएका हुन् भने छोराबुहारीचाहिँ १८ दिनपछि घर फर्किएका हुन् । छोराबुहारी शनिबार साँझ घर फर्किँदा ८० वर्षीया सर्मिला हर्षित थिइन् । ‘छोराबुहारी पनि शनिबार फर्किसकेका छन्, हामीले कोरोना जित्यौंजस्तो लागिरहेको छ’, उनले भनिन्, ‘अहिले सबैको अवस्था सामान्य नै छ, एकदमै खुशी छौं ।’
उनीहरू धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारपछि घर फर्किएका हुन् । खासमा पलिखे परिवारको एकैपरिवारका पाँचजनामा कोरोना संक्रमण भयो । ‘वृद्धअवस्थामा पुगेका हामी फर्किन्छौं जस्तो लागेको थिएन’, सर्मिलाले भनिन् ।’
कस्तो छ प्रतिष्ठानको आइसोलेसन ?
प्रतिष्ठानको दुईकोठामध्ये एककोठामा श्रीमान्, श्रीमती र अर्को कोठामा छोरा, बुहारी, नाति बसेको बताउने उनीहरूले दिनहुँ कहिले दाल, भात, तरकारी त कहिले दाल, भात, चना, सागसब्जी खुवाउने गरेको बताउँदै गुनासो गर्ने कुनै ठाउँ नै नभएको बताइन् । ‘खासमा घरजस्तो त कहाँ हुन्छ त’, उनले भनिन्, ‘तर पनि ठीकै थियो । त्यस्तै हो, बिरामीलाई कुन अस्पतालमा खासमा राम्रो र घरजस्तो हुन्छ त ?’
अस्पतालका रहेका नर्सलगायत डाक्टरको मायालु व्यवहारले आत्मविश्वास बढेर फर्केर आएको बताउने उनले अहिले पुनःजीवन पाएजस्तो लागेको बताइन् । ‘अस्पतालमा खासै स्याहारसुसार पनि नहुने भन्ने सुनकै हो, शुरूमा त लगेर कस्तो ठाउँमा राख्ने होला भन्ने जिज्ञासा लागिरह्यो’, उनले भनिन्, ‘तर ठीकै रहेछ, अस्पतालभन्दा पनि अस्पताल पुग्दा गरिने राम्रो व्यवहारले नै हर्षित भयौं ।’
उनले अस्पतालभन्दा पनि नर्स, डाक्टरको मायालु सोधाइ, आफूलाई सञ्चो–विसञ्चो भएकोबारे ख्याल राखिदिँदा आत्मबल बढेको बताइन् । ‘हो नि अस्पतालमा पनि खुवै माया र ममता देखाइयो’, उनले भनिन्, ‘डाक्टर र नर्सले फोनबाट सोधिरहनुहुन्थ्यो–तपाईहरू ठीक हुनुहुन्छ नि आदि इत्यादि भनेर, त्यसले पनि आत्मबल बढ्दो रहेछ ।’
डाक्टरले वृद्धवृद्धा भएकै कारण पनि बढीजसो चासो लिएको हुनसक्ने उनले अनुभव गरेको बताइन् । ‘बीपीको अस्पतालमा ८० जनाभन्दा बढी संक्रमितमध्ये हामी दुईजना बुढाबुढी अलिक पाको उमेरका थियौं’, उनले भनिन्, ‘त्यही भएर पनि होला हामीलाई चिकित्सकले बढीजसो सोधिरहनुहुन्थ्यो, तपाईहरू ठीक हुनुहुन्छ, केही समस्या छ कि छैन खोकी लागेको छ कि छैन भनिरहनुहुन्थ्यो, त्यतिबेला खोकी लाग्यो भनेपछि तुरुन्त औषधि आइहाल्थ्यो ।’ उनले चिकित्सकहरूले आत्मविश्वास बढाएकैले पनि कोरोना जित्न सजिलो भएको सुनाइन् । ‘आत्मविश्वास बढाएमा कोरोना रोग लागेपनि डराउनु नपर्ने रहेछ भन्ने आफूले बुझेकी छु’, उनले भनिन् ।
ती वृद्धालाई अर्को समस्या पनि थियो
खासमा उनका श्रीमानको मानसिक समस्या छ । करिब दुई वर्षदेखि उनमा यस्तो समस्या रहेको उनले सुनाइन् । उनले मानसिक समस्या भएकाले पनि श्रीमानलाई सम्हाल्न गाह्रो महसुस भएको बताइन् ।
‘श्रीमानको यस्तो हालत, कोरोनाको महामारी के होला भन्ने डर थियो नै तर पनि जितेर फर्कियौं ।’ उनले भनिन् । उनले श्रीमानको समस्याबारे पनि चिकित्सकले बुझिदिएको बताइन् । ‘राति सुत्नुहुन्न, निद्रा लाग्ने औषधि दिनुभएको थियो, त्यही खाँदै भएपनि दिनरात कटाएर फर्कियौं ।’ उनले भनिन् । उनले त्यतिबेला ७ वर्षीय नातिले पनि सहजता साथ साथ दिएको बताइन् । ‘खासमा त्यतिबेला सानो भएपनि ऊ पनि अनुशासन कायम गरेर नै बसेको थियो ।’
उनीहरूलाई केहीदिनअघि टोलबासीले भव्य स्वागत गरे । ‘अन्य ठाउँतिर कोरोना संक्रमितलाई हेला गरिरहेको भन्ने समाचार सार्वजनिक भइरहेको समयमा योभन्दा गतिलो उदाहरण केही भएन’, सर्मिलाले भनिन् । कोरोना संक्रमित भइसकेपछि अहिले पनि समाजसँग डराउँछन् कोरोना संक्रमित । ‘खासमा कोरोना देखिएछ भनेर अझै समाज डराइरहेको हुन्छ तर निको भइहालिन्छ किन डराउनु ? उनले प्रश्न गरिन् । कतिपय ठाउँमा अझै संक्रमित र घर फिरेकालाई समेत हेला गर्ने, होच्याउने आदि गरिरहेको समाचार पनि बाहिरिरहेका छन् । तर उनीहरू घर फिर्दा सबैले स्वागत गरेको देख्दा त्यो भन्दा खुशीको कुरा केही नभएको उनले सुनाइन् । ‘कोरोना संक्रमण निको हुनु र भइसकेपछि पनि आत्मविश्वास सबैभन्दा धेरै आवश्यक हुन्छ, घरपरिवार, छरछिमेकमा आत्मविश्वास घटाउने क्रियाकलाप गरिनुहुन्नँ ।’ उनको सन्देश छ ।

प्रकाशित मिति: भाद्र ७ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend