धरानः इलाका प्रहरी कार्यालय धरानले एक युवालाई लागूऔषधसहित पक्राउ गरेको छ ।
लागूऔषध सञ्चय बिक्री वितरण गर्ने गरेको भन्ने विशेष सूचनाका आधारमा गत ७ गते धरान-१० घर भई सोही वडामा डेरा गरी बस्ने वर्ष २४ प्रतिक दाहाललाई लागूऔषधसहित पक्राउ गरेको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
डेराकोठा खानतलासी गर्दा सो कोठाभित्र रातो रङ्गको बजारे (हाते) झोलाभित्र डाइजेल्याब २२ एम्पुल, फेनिरामिन २२ एम्पुल, लुपिजेसिक २२ एम्पुल गरी जम्मा ६६ एम्पुल (२२ सेट) लागूऔषध फेला पारी बरामद गरिएको उनले जानकारी दिए । प्रतिकलाई पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट लागूऔषध मुद्दाको अनुसन्धानको लागि म्याद थप भई अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
यस्तै, धरानको होटलमा ल्याई बालिकलाई करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । जिल्ला सुनसरी भोक्राहा नरसिँह गाउँपालिका वडा नं. ४ स्थायी घर भई हाल जिल्ला सुनसरी रामधुनी नगरपालिका वडा नं. ५ झुम्का बस्ने वर्ष ४६ को मोहमद इर्साद आलमलाई प्रहरीले पक्राउ गरेको हो । उनले मोरङ घर भएकी वर्ष १६ की बालिकालाई जबर्जस्ती गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
उनले गत साउन २६ गते जिल्ला सुनसरी धरान उपमहानगरपालिका वडा नं. १८ स्थितमा रहेको कान्तिपुर नामक होटलमा ललाइफकाई ल्याई जबरजस्ती करणी गरेको भनी निज बालिकाकी आमाले जाहेरी दरखास्त पेश गरेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इप्रका पकलीसँग समन्वय गरी प्रतिवादी मोहमद ईर्साद आलमलाई पक्राउ गरी निजलाई जिल्ला अदालत सुनसरीबाट जबरजस्ती करणी मुद्दाको अनुसन्धानका लागि म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।