धरानः अघिल्लो वर्ष धरानमा डेंगुको चर्चा खुब थियो । कारण–डेंगुले पनि महामारीकै रुप धारण गरिसकेको थियो । आम मानिसको मन मस्तिष्कमा छाप परेको डेंगु यस वर्ष किन देखिएन भन्ने फेरि आम मानिसमै जिज्ञासा छ ।
यसपटक कोरोना महामारीकै कारण डेंगु ओझेलमै छ । अघिल्लो वर्ष डेंगु देखिएको धरानमा तीन महिना बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको थिएन । करिब ५ हजार जना बढी डेंगु भाइरसबाट संक्रमित भएका थिए । धरानका हरेकजसो घरमा डेंगुका बिरामी भेटिएका थिए । कतिपय घरमा सातजनासम्म संक्रमित थिए ।
एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस जातको पोथी लामखुट्टेले पानीमा पारेका अन्डा, लार्भा र प्यूपाका कारण धरानमा डेंगु फैलिएको चिकित्सक बताउँछन् । प्रदेशसभाले धरानलाई ‘डेंगु संकटग्रस्त क्षेत्र’ घोषणा समेत गरेको थियो । उपमहानगरपालिका कार्यालयले डेंगु नियन्त्रणमा ३० लाख रुपैयाँ बढी खर्चेको थियो ।
डेंगु प्रकोप नियन्त्रणका लागि प्रतिष्ठानको पब्लिक हेल्थ तथा कम्युनिटी मेडिसिन विभागका चिकित्सक र ल्याब टेक्निसियन समावेश गरेर रयापिड रेस्पोन्स टिम गठन समेत भएको थियो । ‘त्यतिबेला डेंगु फैलने सिजन भएकाले धरानमा डेंगे देखिएकै हो । धरानमा देखिएको डेंगु सेरोटाइप–२ देखिएको चिकित्सकले बताएका छन् ।
आखिर धरानमा नदेखिएकै हो त डेंगु ?
‘खासमा डेंगु नदेखिएको होइन’, धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहता भन्छन्, ‘देखिएकै हो, देखिएर पनि साँच्चै ओझेलमै परेको हो ।’
उनले धरानमा डेंगु देखिइसकेको र खतरा पनि टरिसकेको जानकारी दिए । ‘अहिले छँदै छैन’, उनले थपे, ‘एक महिनाअगाडि चाहिँ २२ जनामा डेंगु देखिएको थियो । सबैजना निको भइसकेका छन्, त्यसपछि धरानमा डेंगु देखिएन ।’
यहाँमात्रै होइन, अन्य ठाउँमा पनि डेंगु नदेखिएको उनको तर्क छ । उनले यसपटक कोरोना महामारीले गर्दा विशेषतः ज्वरो आउने बिरामी समेत औषधि पसलमा पुगेको बताउँदै भने, ‘त्यहाँ पुगेकाले ल्याबसम्म पुगेर रगत परीक्षण पनि गराएको पाइयो, त्यहाँ डेंगु, टाइफाइड, मलेरिया, कोरोना आदि पनि परीक्षण भएका थिए । त्यतिबेला केहीको रिपोर्टमा डेंगु देखिएको थियो ।’
उनले आफुहरूले पनि कोरोनासँगै डेंगुको परीक्षण गर्दै आएको बताए । ‘प्लेटसलेसको मात्रा कम देखिनेबित्तिकै डेंगुको परीक्षण गरिन्छ’, उनले भने, ‘त्यसपछि देखिएका पनि छन् ।’
उनले यसपटक डेंग सार्ने मच्छड पनि नदेखिएको बताए । ‘डेंगु सार्ने मच्छड पनि यसपटक खासै देखिएन’, उनले कारणसहित भने, ‘लकडाउनका कारण सरसफाइ छ, सवारी साधन चलेका छैनन्, नदीनाला सफासुग्घर छन्, वातावरण सफा छ, धुलो धुँवा छैन ।’
उनले यसअघि प्रकृतिलाई चुनौती रहेको बताउँदै अहिले वातावरणमा सकारात्मक प्रभाव परेको बताए । ‘यसअघि हामीले साँच्चै प्रकृतिलाई नै चुनौती दिएका रहेछौं’, उनले भने, ‘अहिले त्यसको प्रभाव देखिन थालेको छ ।’ मनसुनको निष्क्रियतासँगै यसको हराउने क्रम पनि बढेको उनको भनाइ छ । ‘खासमा मनसुनको सक्रियतासँगै देखियो यो अहिले मनसुनको निष्क्रियतासँगै हराउँदै गएको छ, अब हराउँछ ।’

केही महिनाअघि धरानस्थित विजयपुर हस्पिटलमा डेंगुका बिरामी ।