सुनसरीः सुनसरीको दक्षिणवर्ती क्षेत्रमा व्यवसायिकरूपमा गरिँदै आएको भेडापालन चरन अभावले संकटमा पर्दै गएको छ ।
सुनसरीको देवनागञ्ज गाउँपालिकाको साहेवगञ्ज, मध्यहर्षाही, बराहक्षेत्रको प्रकाशपुर, हरिनगर गाउँपालिकाको हरिनगरा लगायतका क्षेत्रमा व्यवसायिक रूपमा गरिँदै आएको भेडापालन चरन अभावले संकटमा पर्दै गएको हो ।
गाउँमा आवश्यक चरनको अभाव भएपछि भेडा व्यवसाय संकटमा पर्दै गएको भेडापालन गर्ने गडेरी (पाल) समुदायका अगुवा एसएन पालले बताए । चरन क्षेत्रमा मानवीय अतिक्रमण बढेको र सबैतिर बाली लगाउन थालेपछि समस्या भएको मध्यहर्षाहीका राममेश्वर पालले बताए ।
‘भेडालाई खुल्ला क्षेत्र चाहिन्छ, बढ्दै गएको जनसंख्याका कारण चारैतिर खेतबारी बनेको छ,’ उनले भने, ‘स्थानीयहरुले सडक पेटी, नदीखोला सहित सबै ठाउँमा भेडा चराउन रोक लगाएपछि समस्या बढ्दै गएको छ ।’ चरनको अभाव भएपछि भेडापालक कृषक चिन्तित बनेका छन् ।
यस क्षेत्रमा पहिला पहिला एकजना पाल समुदायका व्यक्तिले एक हजारसम्म भेडा पाल्ने गरेको भएपनि पछिल्लो समय घट्दै गएकाले सयको संख्यामा पुगेको छ । दशक अघिसम्म जिल्लामा १२ हजार बढीको संख्यामा रहेको भेडा अहिले चार हजारको संख्यामा झरेको छ ।
भेडा ऊन र मासुका लागि पालन गरिन्छ । ऊनबाट कम्मल, बोद्लो र थैलालगायत सामग्री बुनेर यस क्षेत्रका बासिन्दाले राम्रो आम्दानी गर्दै आएको भएपनि आधुनिकतासँगै बजार माग घटेको र चरण समेत कम भएकाले भेडा पालन संकटमा परेको भेडा पालक महेन्द्र पालले बताए । उनी उत्पादित कपडा स्थानीय बजारसँगै छिमेकी जिल्ला सप्तरी र मोरङ लगायतका सहरबजारहरूमा समेत बिक्री हुने गरेको थियो । ऊनका एउटा कम्मललाई एक हजारदेखि पाँच हजार रुपियाँसम्म बिक्री हुने गरेको छ । तर, पछिल्लो समय ऊनबाट विभिन्न सामग्री बनाउने चलन हराउँदै गएको स्थानीयबासी बताउँछन् । ‘पछिल्लो पुस्तामा भेडापालनप्रति रुची छैन,’ उनले भने, ‘गाउँमा भेडा चराउन लाज मान्ने तर विदेशमा त्यही काम गर्छन् ।’ भेडापालक किसानलाई प्रोत्साहित गर्न स्थानीय सरकारले आवश्यक नीति र चरन क्षेत्रको व्यवस्था गर्नुपर्ने किसानहरूको माग छ । तर यस बारेमा कुनै पालिकाले ध्यान दिएको छैन ।
सुनसरीमा प्रत्येक वर्ष भेडाको संख्यामा घट्दै गएको छ । चरिचरनको अभाव र मौसमी वातावरणले साथ नदिँदा तराई मधेसमा पाइने भेडा सुनसरीमा लोपोन्मुख अवस्थामा पुगेको किसानहरुले बताएका छन् । जिल्लाको दक्षिणवर्ती क्षेत्र हरीनगर र देवानगन्ज गाउँपालिकामा लामो समयदेखि पालन हुदै आएको भेडा केहीवर्ष यता निरन्तर रुपमा घट्दै गएको भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको तथ्यांक रहेको छ ।
भेडालाई सीमित चरन क्षेत्रले नहुने भएकाले चराउनका लागि गाउँ बाहिर र कहिलेकाही जिल्ला बाहिर समेत जानुपर्ने भएकाले भेडापालन संकटमा परेको हो । कुनै बेला सुनसरीमा बिसौ हजारको संख्यामा रहेको भेडा यतिबेला चार हजार भन्दा कमको सख्ंयामा झरेको छ । भेडाले मल, कम्बल बनाउने रौ, घिउ समेत दिने भएकाले भेडा पालन साविकमा आकर्षणको केन्द्र रहेकोमा पछिल्लो समय भेडाप्रतिको आकर्षण घट्दै गएको भेडा पाल्दै आएका महेन्द्र पालले बताए ।
जिल्लामा खास गरेर गडेरी तथा पाल समुदायका स्थानीयहरुले भेडा पाल्दै आएकोमा सो समुदायमा शिक्षाको स्तरमा वृद्धि, चरिचरनको अभाव, रोगव्याधी र बजारको अभाव लगायतका कारणले भेडापालन लोपोन्मुख अवस्थामा पुगेको अर्का स्थानीय सुदन पालले जानकारी दिए । -इमेलमार्फत्