विराटनगरः अब प्रदेश १ का विद्यालय हातामा रहेका सबै क्वारेन्टाइन हटाउने गरी तयारी थालिएको छ ।
प्रदेश सरकारले यस्तो तयारी गरेको हो । महामारीका रुपमा फैलिएको कोरोनाका कारण ५ महिनादेखि विद्यालय बन्द छन् । कतिपय विद्यालयलाई क्वारेन्टाइनस्थल बनाइएको छ । लामो समय क्वारेन्टाइनलस्थल बनाइँदा विद्यालय र बालबालिका शान्ति क्षेत्रको अवधारणामा प्रतिकुल असर पर्ने साथै शिक्षक र विद्यार्थीको मनोविज्ञानमा पनि प्रतिकुल असर पर्ने भन्दै यसअघि क्वारेन्टिन अन्य स्थानमा राख्न सुझाइँदै आएको थियो ।
प्रदेश १ सरकारले यसअघि नै हटाउने तयारी गरेपनि सम्भव भइरहेको थिएन । यसअघि विभिन्न स्थानीय तहले आफ्नो क्षेत्रभित्र रहेका क्याम्पस तथा विद्यालय हाताभित्र क्वारेन्टाइन निर्माण गरी शंकास्पद व्यक्तिहरुलाई राख्दै आएका थिए ।
यसैबीच सरकारले विद्यालयमा सञ्चालनको तयारी पनि थालेको जनाइएको छ । सिकाई सञ्चालनलाई प्रभावकारी बनाउँदै अघि बढ्ने रणनीतिमा प्रदेश सरकार लागिपरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए ।
स्थानीय तहका प्रमुख–उपप्रमुख तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुसँग परामर्श गरेर विद्यालयमा सिकाई सञ्चालनको मार्गनिर्देशन तयार गर्न उनले निर्देशन दिएका थिए । निर्देशन अनुसार मन्त्रालयको शैक्षिक महाशाखाले छलफल गरेर सुझाव लिएको छ ।
मन्त्रालयले विद्यालयमा सिकाई सञ्चालनका लागि संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने मन्त्री घिमिरेले बताए । सामाजिक विकास मन्त्रालयले स्थानीय तहका प्रमुख-उपप्रमुख, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख, शिक्षक महासंघ, प्याब्सन, एनप्याब्सन, अभिभावक संघसँग छलफल गरी संकलन गरिएको सुझाव शिक्षा मन्त्रालयमा पेश गरेको छ । मन्त्रालयले विद्यालयमा असोजदेखि सिकाइ सञ्चालनको सुझाव दिएको छ ।
सिकाई सञ्चालनअघि भदौभित्रमा विद्यार्थीको अभिलेखीकरण गरिसक्नुपर्ने, विद्यालयमा रहेका क्वारेन्टाइन, आइसोलेसन र होल्डिङ सेन्टर हटाउनुपर्ने सुझाव दिएको छ । सामाजिक विकास मन्त्रालयले बिहान र दिउँसो दुई चरणमा विद्यालय सञ्चालन गर्नुपर्ने सुझाव पेश छ । उसले विद्यार्थीको रोल नम्बरका आधारमा जोरबिजोर कक्षा सञ्चालन गर्न सकिने सुझाव दिएको छ ।
सामाजिक विकास मन्त्रालयले कक्षा ११ को आन्तरिक मूल्याङकन गरेर १२ कक्षा अबिलम्व सञ्चालन गर्न सुझाव दिएको छ । मन्त्रालयले विभिन्न क्षेत्रका व्यक्तिसँग गरेको छलफलमा निर्मलिकरण गरेर छिटो भन्दा छिटो विद्यालय सञ्चालन गर्नुपर्ने, कम विद्यार्थी भएका विद्यालयबाट पठन पाठन सुरु गर्नुपर्नेमा जोड दिएको छ ।