धरानः धरान उपमहानगरपालिकाका मेयर तिलक राईले धरान–२० भालुढुङ्गा सामुदायिक वनमा रहेको सखुवाको काँचो रुख काटेको वनका अध्यक्ष बुद्धिमान तामाङले आरोप लगाएका छन् ।
शनिबार दिउँसो मेयर राईले करिब २ सय क्युफिटभन्दा बढी सखुवाको रुख काटेको उनले आरोप लगाएका हुन् । बिहीबार निवेदन दिएको र शुक्रबार उपभोक्ता, वन समितिका पदाधिकारीबीच छलफल पनि चलेको उनले बताए ।
‘खासमा शुक्रबार छलफल भएकै हो, मेयर सा’ब ले मागिहाल्नुभयो, दिऔं न त भनेकैं हौं’, उनले भने, ‘तर खासमा ढलापडा रुख काटन भनेकैं हो सखुवाको काँचो रुख काट्न दिने भनेका थिएनौं तर शनिबार आएर काँचो रुख काटेपछि समिति बाहिरका अन्यले कुरा काट्न थालेपछि कुरा बाहिरिएको हो ।’ उनले शनिबार समितिका पदाधिकारीलगायत सबै रुख हेर्न जाने सरसल्लाह पनि भएको बताए । ‘शनिबार जाने कुरा भएको थियो’, उनले भने, ‘तर म सँग सरसल्लाह नै नगरी कोषाध्यक्ष भीम बस्नेतज्यूले लिएर जानुभएछ र रुख काटिएछ ।’
समितिदेखि बाहिरका मानिसले काँचो रुख काटियो भनेर भनेपछि आफूहरू त्यहाँ पुग्दा रुख ढालिसकिएको उनले बताए । ‘मेसिन पो चल्दैछ, हाम्रो वनमा काँचो रुख नै ढाल्न थालियो भनेर खबर आयो, त्यसपछि बुझ्न जाँदा अघि नै ढालिसकेको अवस्थामा पायौं ।’ उनले भने । त्यसपछि उपभोक्ता समितिका पदाधिकारी र मेयर राई पनि छलफलमा बसेको र गल्ती भयो भनेर माफी समेत मागेको उनले जानकारी दिए । ‘हामीले गल्ती गरेकै हौं, के गर्नुपर्छ, दिने भए दिनुहोस् भन्दै मेयर आफै हिँड्नुभयो ।’ उनी भन्छन् । उनले सामुदायिक वनको विधान, नियमको उल्लंघन भएको बताए ।
उनले मेयरले धरान–२० मा घर बनाउनका लागि रुख काटेको बताए । सब डिभिजन वन कार्यालय धरानका ज्ञानकुमार लामाले घटनाबारे पत्तो नपाएको बताए । मेयर राईले आफले रुख काट्न नलगाएको बताए । ‘धरानमा तिलकले चुनाव जितेको छ, अब के के भन्छन् भन्छन् नि, जसले जे भन्यो, उहाँहरूले नै प्रमाणित गर्नुहुन्छ होला नि ।’ आइतबार उपभोक्ता काटिएको स्थानमा पुगेका थिए । सखुवाको रुख मेसिनले काटेर ढालेको र १२ टुन बनाएको अवस्थामा रहेको भेटिएको उनीहरूले बताएका छन् ।