धरानः यतिबेला कोरोनाको त्रास छ । चिकित्सक पनि बिरामी जाँच्ने कि नजाँच्ने भन्ने अवस्थामा छन । मानिसलाई ‘रोगले भन्दा पनि भोकले मरिने हो कि’ भन्ने अवस्थामा पुगेका छन् नै तर अधिकांश बिरामी कोरोनाभन्दा पनि अन्य रोगको उपचार समयमै हुन नसक्दा जीवन जोखिममा पर्दै गएको महसुस भइरहेको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी समेत बन्द छ । बीपीकै नर्स, चिकित्सकमा समेत कोरोना देखिएपछि अहिले त्यहाँको वातावरण पनि त्रसित नै छ । अहिले कोरोना कहरले दीर्घरोगसम्मका उपचार प्रक्रिया रोकिएर प्रभावित भएका छन् । अहिले अस्पतालमा चाहार्दा चाहर्दै ज्यान गएका समाचार पनि बाहिरिरहेका छन् ।
उदाहरण नै हेरौं न
सुनसरीको कोशी गाउँपालिकाका २ का वडा अध्यक्ष हिरालाल यादवलाई भदौ ६ गते घरमै बसिरहेको बेला हर्ट अट्याक भयो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइयो । जाँच गराउँदा भेन्टिलेटर चाहिन्छ भनियो । कोरोना महामारीका कारण धरान र विराटनगरका अस्पतालले भेन्टिलेटर खाली नभएको बताएपछि बिर्तामोड लगियो । बीएण्डसीमा उपचार नहुने भएपछि फर्काउँदै गर्दा उनको बाटो मै मृत्यु भयो । यी त प्रतिनिधि घटना मात्रै हुन् । अस्पताल डुलाउँदा डुलाउँदै अस्पतालले भर्ना गर्न समेत नमानेर कतिपय बिरामीको मृत्यु हुने गरेको छ ।
तर अहिले धरानस्थित प्रतिष्ठानले नै कोरोनाको परवाह नगरी गम्भीर एक बिरामीको शल्यक्रिया गरी ज्यान बचाएको छ । ‘जसको शल्यक्रिया नगरेको भए ज्यानै जान्थ्यो’, प्रतिष्ठानका डा. सुधीर सिंह भन्छन्, ‘तर नआत्तिकन, सावधानी अपनाउँदै सहजै उनको शल्यक्रिया गरियो तर शल्यक्रियापछि कोरोना पोजेटिभ रिपोर्ट आयो ।’
प्रतिष्ठानका प्रवक्ता समेत रहेका डा. निदेश सापकोटा भन्छन्, ‘छटपटाउँदै आएका बिरामीको हामीले शल्यक्रिया नगरेको भए के हालत हुन्थ्यो, त्यही भएर ज्यान बचाउनपटि लागेका उदाहरण पनि छन् नि ।’
अस्पतालका प्रवक्ता डा. सापकोटाका अनुसार ती बिरामीलाई अस्पतालमा ल्याउँदा ७ घण्टादेखि उनको पिसाब पूर्ण रूपमा बन्द भएको अवस्था थियो । मोरङ स्थायी घर भएका ७८ वर्षीय उनी छटपटाउँदै बीपी प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भए । उनी दुई वर्षदेखि प्रोस्टेटको समस्या (सम्भावित क्यान्सर) सँग लड्दै आएका थिए । उनी भदौ ९ गते प्रतिष्ठानको आकस्मिक कक्षमा आएका थिए ।
‘पीडाका कारण बिरामी छटपटाइरहेका थिए । प्रारम्भिक जाँचमा उनको मुत्रथैलीमा रगत जमेको पाइएको र बिरामीको आकस्मिक शल्यक्रिया गर्नुपर्ने निष्कर्षमा चिकित्सक पुगियो’, डा. सिंह भन्छन्, ‘उनको दुई हप्ताअगाडि विराटनगरस्थित अस्पतालमा शल्यक्रिया समेत गरिएको थियो । त्यसपश्चात् उनी पटक पटक मूत्रथैलीमा रगत जम्ने समस्याले पीडित थिए र त्यसपछि उनलाई प्रतिष्ठानको आकस्मिक कक्षमा ल्याइएको थियो ।’
उनी थप्छन्, ‘सामान्यतया, कोरोनाको यो महामारीका समयमा यस्ता बिरामीको उपचार गर्नुअघि कोरोना परीक्षण गर्नुपर्ने भन्दै आइएको छ । तर कोरोना परीक्षण गरी रिपोर्ट कुर्दासम्म बिरामीको ज्यान नै जान सक्ने खतरा रहन्छ, त्यस्तो खतरा देखिएपछि मेरो नेतृत्वमा डा. आवाज काफ्ले र नर्सहरू शारदा शिवा र कविता सुब्बाको टोलीले पूर्ण सतर्कता (पि.पि.ई र अन्य आवश्यक उपकरणहरु प्रयोग गरी) अपनाई ती बिरामीको शल्यक्रिया गरियो ।’
शल्यक्रियापछि बिरामीको हालको कोरोनाको समयलाई मध्यनजर गरी कोभिड–१९ परीक्षण गर्दा उनको परीक्षण पोजिटिभ आयो । बिरामीलाई शीघ्र कोभिंड अस्पतालमा ट्रान्सफर गरियो र निगरानी गरी कुल ६ दिनसम्म उपचार गरेर फर्काइएको उनले बताए ।
‘कोरोनाको जोखिम त थियो, तर हामीसँग त्यो जोखिमबाट बच्न पीपीई लगायतका सुरक्षा सामग्री हुन्छन् नै, हामीले आफ्नो जोखिमलाई मात्र महत्व दिने हो भने बिरामीको जोखिम बढ्न सक्थ्यो त्यसैले कोरोनाको रिपोर्ट कुर्नुभन्दा पनि आफू सुरक्षित भएर शल्यक्रिया गर्नु नै उचित लागेर हामीले शल्यक्रिया गरेका हौं ।’
कोरोनाको त्रासका कारण अन्य रोगका बिरामीहरु उपचार नै नपाई जोखिममा नपरुन् भनेर पनि आफूहरुले यस्तो जोखिम मोलेर उपचार गरेको उनको भनाइ छ । उनको शल्यक्रियामा संलग्न चार सदस्यीय चिकित्सक टिमको पनि कोरोना परीक्षण गरिएकोमा उनीहरुमा संक्रमण नपाइएको जनाइएको छ ।