Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-४ मा निरन्तर सुख्खा पहिरो

हाम्रो कोशी आवाज
भाद्र १८ २०७७, बिहिबार
धरान-४ मा निरन्तर सुख्खा पहिरो

धरानः धरान–४ मा सुख्खा पहिरोले जनजीवन प्रभावित बनेको छ ।
जवाने खोलाको शिर दानबारी वस्तीमा सुख्खा पहिरो निरन्तर झरिरहेको स्थानीयबासीले बताएका छन् । यो पहिरो साउन १५ गतेदेखि निरन्तर गइरहेको स्थानीय पहिरोपीडित भीमा राईले जानकारी दिइन् ।
बुधबार (१७ गते) अझ ठूलो पहिरो गएको थियो । ‘यसले दानाबारीलाई ठूलो क्षति गर्ने अवस्था छ’, उनले भनिन्, ‘सो पहिरोले गैरी टोलमा जाने सडक खण्डलाई पुरै क्षति गरेको छ भने हर्दिया सडक खण्डलाई पनि असर पार्ने अवस्था छ ।’
पहिरोबाट प्रभावित वस्तीवासीहरू अहिले पहिरोका कारण आतंकित बनेका छन् । ‘खासमा पानी नै नपरी पनि सुख्खा पहिरो झरिरहन्छ, वस्तीबासीहरू विस्थापित हुने चिन्ताले सताउन थालिसकेको छ’, उनले भनिन्, ‘अब केहीदिन पानी मात्रै परे थप जोखिम हुन्छ ।’
उनले आज (बिहीबार) ठूलो आवाज निकाल्दै निरन्तर गाउँ बगिरहेको जानकारी दिइन् । ‘गाउँका स्थानीयले त धुवाँ नै निस्केको देखेको बताएपछि म आत्तिएँ’, उनले फोन सम्पर्कमा भनिन्, ‘जमिन पनि पुरै चिरा चिरा परिरहेको छ ।’ अहिले करिब पाँच घरको जमीन पुरै ध्वजा फाटेको र घरसमेत चिरा परेको उनले बताइन् ।
स्थानीय पहिरोपीडित सञ्जित राईले गाउँको जमीन बगिरहेको बताए । ‘हाम्रो गाउँको जमीन नै बगिरहेको छ । जमिन भित्रबाट भुइँचालो जाँदा आउने आवाज जस्तो आवाज आइरहेको छ ।’ पहिरोबाट प्रभावित वस्तीवासीहरु पुरै आतंकित बनेको उनले बताए । पहिरोपीडित हेमा राईले पहिरो रोकथाम नगरे गाउँ नै उठीबास हुने अवस्थामा पुगेको बताइन् । ‘तत्काल रोकथाम नगर्ने हो भने गाउँका धेरै मानिस विस्थापित बन्नुपर्ने साथै गाउँमा ठूलो क्षति हुने अवस्था आउन सक्छ, त्यसका लागि उपमहानगरपालिकाले रोकथामका लागि भएपनि पहल गर्नुपर्छ ।’
नेकपा धरान इन्चार्ज तथा प्रदेश कमिटी सदस्य अइन्द्रविक्रम वेघाले त्यस ठाउँलाई पहिरोले दुःख दिइरहेको आफूले पनि जानकारी पाएको र त्यसको लागि नगर सरकारले पहिरो रोकथामको व्यवस्थित योजना बनाउन जरुरी रहेको बताए ।

सुख्खा पहिरो गएपछि चिराचिरा भएको जमीन ।

प्रकाशित मिति: भाद्र १८ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend