फोटोः गत साउन ९ गते उदयपुर कटारी नगरपालिका–५ का २३ वर्षीय पदमबहादुर राईको कोशी अस्पताल पुरयाइएपछि समयमै उपचार नपाएपछि अस्पतालको गेटमा छटपटाउँदै प्राण गएको थियो ।
धरानः यतिबेला कोरोनाको त्रास छ । चिकित्सक पनि बिरामी जाँच्ने कि नजाँच्ने भन्ने अवस्थामा छन । मानिसलाई ‘रोग र भोकले मरिने हो कि’ भन्ने अवस्थामा पुगेका छन् । अधिकांश बिरामी कोरोनाभन्दा पनि अन्य रोगको उपचार समयमै हुन नसक्दा जीवन जोखिममा पर्दै गएको महसुस भइरहेको छ ।
प्रदेश १ अस्पतालै अस्पतालको शहर भनिन्छ । हुन पनि हो धरान एशियाकै उत्कृष्ट अस्पताल मानिन्छ । विराटनगरमा त अझ बढी चोकैपिच्छे अस्पताल छन् नै । बिर्तामोड, दमकलगायत मुख्य सहरमा पनि अस्पताल भनेजति छन् तर जो बाँच्न चाहन्थे उनीहरूको अस्पताल चाहार्दा चाहर्दै अर्थात् डुल्दाडुल्दै ज्यान गइसकेको छ । यो भन्दा कहालिलाग्दो अवस्था के होला ? मानिस अस्पताल नपुगी मर्नुपर्ने अवस्था कहिलेसम्म ? विडम्बना त यो हो कि न स्वास्थ्य मन्त्रालयले सुन्यो, न राज्यले । अहिले कोरोना नियन्त्रणमा मात्रै राज्य लागिदिँदा जो जहाँ मरेपनि वास्ता छैन । तर कहिलेसम्म नागरिकले यसरी अनाहकमा ज्यान गुमाइरहने भन्ने विषय अहिले थप पेचिलो बन्दै गएको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले साख भने बचाएको देखिएको छ । केहीदिनअघि कोरोनाको रिपोर्ट नपर्खी ज्यान जोगाउनतिर लागेको समाचार पनि पञ्काशित भयो । हुन पनि हो सफल भयो । छटपटाउँदै अस्पताल आइपुगेका मोरङका एक बिरामीको सफल शल्यक्रियापश्चात् उनी घर फिरिसकेका छन् । प्रतिष्ठानले कोरोनाको परवाह नगरी गम्भीर एक बिरामीको शल्यक्रिया गरी ज्यान बचाएको छ । मोरङ स्थायी घर भएका ७८ वर्षीय उनी छटपटाउँदै बीपी प्रतिष्ठानको आकस्मिक कक्षमा आइपुगेका उनी दुई वर्षदेखि प्रोस्टेटको समस्या (सम्भावित क्यान्सर) सँग लड्दै आएका थिए । उनी भदौ ९ गते प्रतिष्ठान आएपछि चिकित्सकको टोली उपचारमा जुट्यो त्यो पनि कोरोनाको परवाह नगरी । यसरी नै उनको ज्यान बचेको हो ।
तर केही उदाहरण हेर्दा यस्तो अवस्था छैन । अहिले प्रदेश १ मै पनि धेरैजनाले उपचार नपाएर ज्यान गुमाए । जो पूर्वका अस्पताल डुलिरहे तर उनीहरू फर्केनन् ।
सात अस्पताल पुग्दा पनि सही समयमा उपचार भएन
सात वटा अस्पताल डुलाउँदा पनि एक महिलाले सही उपचार नपाएर ज्यान गुमाउनुपरेको छ । लडेर घाइते भएकी मोरङ कानेपोखरी गाउँपालिका=५ की २३ वर्षीया सविना थापा (दर्जी) को बिहीबार बिहान मृत्यु भएको हो । शौचालय गएका बेला मंगलबार राति १० बजे लडेकी उनको स्वास्थ्यमा समस्या भएपछि विराटनगरको अधिकांश अस्पताल डुलाएपछि धरान ल्याएकी उनको उपचारका क्रममा मृत्यु भएको हो ।
एम्बुलेन्समा राखेर रातभर विभिन्न अस्पताल लगेपनि कसैले उपघचार गर्न नमानेको बुवा चन्द्र थापाले बताए । ‘अस्पतालहरुले खाली आईसीयू र भेन्टिलेटर छैनजस्ता जवाफ दिन्थे’, उनले भने, ‘तर धरान लगेपछि उपचार त थालियो तर केहीबेरमै उनको मृत्यु भयो, समयमै उपचार पाएको भए सायद ज्यान जाँदैन थियो कि ।’
उनी थप्छन्, ‘कोरोनाको बहाना अर्थात् कोरोनाको मात्रै उपचारमा लाग्दा स्वास्थ्य सम्बन्धी गम्भीर समस्या भएका बिरामीले अस्पतालमा उपचार नै नपाउने अवस्था आउनु हुँदैनथ्यो, यसबारेमा कसैले मनन गर्न सकेका छैनन् ।’
जसको एम्बुलेन्समै गयो ज्यान
गत साउन ९ गते समयमै उपचार नपाउँदा विराटनगरमा एक व्यक्तिको अकालमै ज्यान गयो । नोबेल अस्पतालले भर्ना लिन नमानेपछि कोशी अस्पताल लगिएको उनको इमरजेन्सीछेऊमै एम्बुलेन्समै मृत्यु भएको हो । कटारी नगरपालिका ५ का २३ वर्षीय पदमबहादुर राईको ज्यान गएको हो । सास फेर्न समस्या भएपछि स१च १२०५ नम्बरको एम्बुलेन्समा राखेर विराटनगर ल्याइएको थियो । उनको कोशी अस्पतालको गेटमा एम्बुलेन्समै ज्यान गयो । उनीसँगै कुरुवाको रूपमा थप २ जना महिलाहरू आएका थिए । एम्बुलेन्समै बिरामीको मृत्यु भएपछि कुरुवाको रूपमा आएका २ महिला एम्बुलेन्समै निकैबेरसम्म बेहोस भएका थिए । तर, उनीहरूलाई समेत कोशी अस्पतालका चिकित्सक तथा स्वास्थयकर्मीले वास्ता गरेनन् । अस्पतालले कोरोनाको शंकास्पद भन्दै भर्ना गर्न नमानेको आफन्तको गुनासो छ ।
काठमाडौं लाँदा पनि उपचार भएन, फर्काइयो
उदयपुरको त्रियुगा नगरपालिका वडा नं ४ का ५२ वर्षीया अर्जुन राउतलाई ज्वरो आयो, सास फेर्न गाह्रो भयो । भदौ २ गते जिल्ला अस्पताल पुगे । मौसमी रुघाखोकी हो भन्दै स्वास्थ्यकर्मीले सामान्य उपचार गरेपछि घर फिरे । घर पुगेपछि पनि उनको स्वास्थ्यमा केही सुधार भएन । उनका परिवारले भदौ ८ गते काठमाडौ लगे । काठमाडौं लगेपछि चावहिलको एक निजी अस्पतालमा लगे ।
अस्पतालले भर्ना लिन मानेनन् । अन्य केही निजी अस्पताल पुरयाइयो । तर, भर्ना लिनु त परै जाओस् गेटबाटै फर्काइयो । कुनै अस्पतालले भर्ना लिन नमानेपछि एक आफन्तको भनसुनपछि अन्ततः त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगेर इमरजेन्सी कक्षमा भर्ना गरियो । भर्ना गरिएको केही समयपछि नै उनलाई अस्पतालले मृत घोषणा गरयो । उनको मृत्यु भइसकेपछि मात्र कोरोना परीक्षण गरयो । उनको मृत्यु भएको ४ दिनपछि मात्र कोरोना रिपोर्ट पोजेटिभ आयो । ।
बिर्तामोडदेखि विराटनगर पुग्दा पनि उपचार भएन
मोरङको पथरी शनिश्चरे नगरपालिका–२ की ६२ वर्षीया सानकुमारी राईलाई भदौ १० गते बुधबार पिसाब बन्द भयो । आफन्तले बुधबार बीएण्डसी अस्पताल बिर्तामोड लगे । तर, बीएण्डसीले भर्ना नलिने भन्दै गेटबाटै फर्काइदियो । मध्यरातमा बिरामी लिएर विराटनगरका सबै अस्पताल लगियो । तर सबै अस्पताल गेटबाटै फर्काए । अस्पतालको गेट चहार्दाचहार्दै सानकुमारीको अवस्था गम्भीर बनिसकेको थियो ।
आफन्तले बिहीबार बिहान ४ बजे कोशी अस्पताल लगे । कोशीमा पनि आनाकानी गरिएको थियो । तर सबै जिम्मेवार आफन्त हुने बताएपछि चिकित्सकहरूले एम्बुलेन्सबाट निकालेर इमरजेन्सीको साटो आइसोलेसन कक्षमा लगेका थिए । त्यसको आधा घण्टामा नै अस्पतालले उनलाई मृत घोषित गरयो ।
धरानदेखि बिर्तामोड पुगेपनि भएन उपचार
सुनसरीको कोशी–२ का वडाअध्यक्ष हिरालाल यादवलाई भदौ ६ गते घरमै बसिरहेको बेला हर्ट अट्याक भयो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइयो । धरानमा जाँच गराउँदा भेन्टिलेटर चाहिन्छ भनियो । कोरोना महामारीका कारण धरान र विराटनगरका अस्पतालले भेन्टिलेटर खाली नभएको बताएपछि बिर्तामोड लगियो । बीएण्डसीले पनि यहाँ सकिँदैन भन्दै सुविधा सम्पन्न अस्पताल लैजान सुझाव दियो । बीएण्डसीमा उपचार नहुने भएपछि फर्काउँदै गर्दा उनको बाटो मै मृत्यु भयो ।
यी घटनाबाहेक अन्यको पनि यसअघि उपचार नपाएरै ज्यान गएको छ । हो अहिले नेपाल कोरोनाको कहरमा छ । यसको त्रास यति फैलाइएको छ कि मानिसहरू कोरोनाबाहेक अरू नै रोगको समेत उपचार नपाएर मृत्युको मुखमा पुग्नुपरिरहेको छ । सबैभन्दा विडम्बना त यो हो कि अस्पतालै अस्पतालको सहर पूर्वमा मानिसहरू अस्पताल नपुगेर होइन बरु अस्पताल डुल्दाडुल्दै ज्यान गइरहेको छ । यसतर्फ पनि ध्यान दिने कि ?