धरानः इलाका प्रहरी कार्यालय धरानले हराएका तथा चोरी भएका ३ थान मोबाइल फेला परी मोबाइलधनीलाई बुझाएको छ ।
बिहीबार इलाका प्रहरी कार्यालयले नै बोलाएर धनीलाई फिर्ता दिएको प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।
मोबाइल धनी मोहन श्रेष्ठको मोबाइल बाटोमा हराएको थियो भने विष्णु बराल र प्रियंका पराजुलीको मोबाइल घरको झ्यालबाट राति चोरी भएको थियो । उनीहरुले १५ दिनअघि आईएमईआई नम्बर समिति निवेदन दिएका थिए । सो आइएमईआई नम्बरको आधारमा खोजी गरी मोबाइल फेला परेको इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी ज्ञानेन्द्र बस्नेतले बताए । निवेदन दिएका मोबाइलहरु अधिकांस भेटाउने गरेको डीएसपी बस्नेतले बताए । मोबाइल भेटिए पनि चोरी गर्ने वा भेटाउने अन्य ब्यक्तिलाई सस्तो मुल्यमा बिक्री गर्ने गरेको पाइएको छ ।
मोबाइल खरिद गरेको समयमा नै आईएमईआई कोर्ड सुरक्षित राखेको खण्डमा हराएको मोबाइल सजिलै भेट्न सकिने इलाका प्रहरी कार्यालय धरान अपराध अनुसन्धान शाखाका हवल्दार प्रेम श्रेष्ठले बताए । तर जोगवनी, काकडभिटा वा नेपाल बाहिर पुरयाएको खण्डमा भने भेट्न गाह्रो हुने उनले बताए ।
मोबाइल हरायो ? इलाका प्रहरी कार्यालय धरान जाऊ भन्ने नारालाई इलाका प्रहरी कार्यालयले कायम राख्दै आएको छ । आफुहरुले माया मारिसकेको मोबाइल भेटाइदिएकोमा मोबाइल धनीहरुले इलाका प्रहरी कार्यालय धरानलाई धन्यवाद ज्ञापन गरेका थिए ।

