Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा स्कुल खोल्नेबारे उपमहानगरपालिकाको ‘मोडालिटी’

हाम्रो कोशी आवाज
असोज ५ २०७७, सोमबार
धरानमा स्कुल खोल्नेबारे उपमहानगरपालिकाको ‘मोडालिटी’

धरानः धरान उपमहानगरपालिकाले विद्यालय खोल्नेबारेमा मोडालिटी बनाएको छ ।
विशेषतः अहिले ८ देखि कक्षा–१० सम्म करिब तीनघण्टा मात्रै विद्यालय खोल्ने मोडालिटी तयार भएको धरान उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख रत्नबहादुर कटुवालले जानकारी दिए । अन्य साना कक्षाका विद्यार्थीलाई अनलाइनका माध्यमबाट पठनपाठन गर्ने तयारी भएको उनले जानकारी दिए । यस्तै, अनलाइनबाट पठनपाठन गर्न नसक्नेलाई अन्य वैकल्पिक व्यवस्था गर्न सकिने उनले जानकारी दिए ।
अहिले प्लस टु अथवा कक्षा–११ र १२ मा पठनपाठन के गर्ने भन्नेबारेमा अन्यौलता कायमै छ । ‘यसबारेमा केही निर्णय भएको छैन’, उनले भने, ‘कक्षा–८ देखि १० सम्म हेरेपछि अर्को निर्णय हुन्छ ।’
कोभिड–१९ को महामारीको कारण अवरुद्ध शैक्षिक गतिविधिलाई कसरी सम्बोधन गर्न सकिन्छ ? भन्ने सम्बन्धमा उपमहानगरपालिकाद्वारा डा.राजेन्द्र शर्माको संयोजकत्वमा गठित सुझाव कार्यदलले आइतबार सुझाव प्रतिवेदन बुझाएको थियो । त्यो प्रतिवेदनबारेको निर्णय सोमबार धरान उपमहानगरपालिकामा बसेको कार्यपालिकाको बैठकले निर्णय गर्नेछ । अहिले बैठक बसिरहेको छ ।
‘माथिल्लो कक्षाका अलि बढी सचेत हुन्छन्, स्वास्थ्य सुरक्षा मापदण्ड पनि अपनाउन सक्छन्, सामाजिक दुरी कायम गर्न सक्छन् भन्ने हो ’, उनले भने, ‘ठूला कक्षाबाट ट्रायलका रुपमा हेर्ने हो कि भनेर लागिपरेका छौं ।’
संयोजक राजेन्द्र शर्मा, सदस्य सचिव रत्नबहादुर कटवाल र सदस्यहरुमा इन्द्रमोहन झा, आनन्दप्रसाद आचार्य, गंगाप्रसाद धमला, आशबहादुर राई, विष्णु राई, राजेन्द्र गुरुङ, राजकुमार लिम्बु, भगत लिम्बु, शम्भु रेग्मी, रोमनाथ ढुंगेललगायतको सुझाव कार्यदलले सुझाव प्रतिवेदन बुझाएको थियो ।
सुझाव प्रतिवेदनमा मुख्यगरी नेपाल सरकारको सिकाइ सहजीकरण निर्देशिका २०७७ को पालना गर्ने, पठनपाठन सुचारु गर्ने, सुरक्षा प्रोटोकलको पालना गर्ने, पाठ्यसामग्री उत्पादन, विद्यार्थीको परीक्षा तथा मूल्यांकन, संस्थागत विद्यालयले लिने शुल्क र शिक्षक कर्मचारीलाई दिने तलब भत्ता, अनुगमन तथा गुनासा समाधान, संक्रमणको प्रभाव कम भएको क्षेत्र, अपर्झट आपतकालीन अवस्था आइपरेको खण्डमा के गर्नेलगायतका विषय समेटिएको उनले जानकारी दिए ।

धरान उपमहानगरपालिकाको तयारी कस्तो छ ?
–यसअघि पूर्णरुपमा विद्यालयमा पठनपाठन भएका छैनन् भन्न सकिन्नँ । अनलाइन कक्षालगायत अन्य कुराहरू भइरहेका छन् । धरानमा कोरोना संक्रमित थपिँदै गएपछि लकडाउन थपिएपछिचाहिँ विद्यालय बन्द भएका हुन् । भदौ १९ गते विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका जारी भएपछि महामारीकै बीचमा पनि पठनपाठन गर्न सकिन्छ भनेर वैकल्पिक माध्यम खोजियो तर कक्षा–८, ९, १० सम्म पठनपाठन गरेर ट्रायलका रुपमा हेरौं भन्ने हो भने । पहिलाको भन्दा अहिले कोरोना संक्रमित बढिरहेका छन् । तर पनि विद्यालय कसरी चलाउन सकिन्छ भनेर सरोकारवालासँग बस्यौं, समिति बनायौं, त्यो समितिले सुझाव प्रतिवेदन पेश गर्ने काम भएको हो । आज उपमहानगरपालिकामा कार्यपालिकाको बैठक बसिरहेको छ, त्यसले थप निर्णय गर्नेछ । अब कुनै न कुनै किसिमबाट पठनपाठन हुन्छ ।
वैकल्पिक माध्यम त्यति प्रभावकारी छैन भनिरहेका छन्, हो पनि इन्टरनेट, ल्यापटप छैन, मोबाइल समेत छैन भनिरहेको अवस्थामा हामीले सोच्नुपर्ने अवस्था आएको छ । त्यो विधिसमेतको निर्णय हुन्छ । –रत्नबहादुर कटुवाल, शिक्षा महाशाखा प्रमुख

प्रकाशित मिति: असोज ५ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend