इलामः इलाममा विद्यालयहरु सञ्चालनमा आउन थालेका छन् ।
जिल्लाको इलाम नगरपालिकाले कोरोना महामारीका कारण लामो समय बन्द रहेका स्कुलहरुलाई स्वस्थ्य सुरक्षा ध्यानमा राख्दै सञ्चालनमा ल्याउने निर्णय गरेको हो । सोही अनुसार विद्यालयहरु सञ्चालनमा आउन थालेका हुन् ।
इलाम नगरपालिकाका मेयर महेश बस्नेतले मापदण्ड बनाएर विद्यालय सञ्चालन गरिएको बताए । इलाम नगरपालिकाले पत्र पठाएर विधान बनाएर पेश गर्नू भने बमोजिम मापदण्ड बनाएर विद्यालयहरु सञ्चालनमा आएका हुन् ।
सिफ्टमा जोरबिजोर लगाएका र आइतवार, मंगलबार र बिहीबार बिजोर कक्षाहरु (१,३,५,७,९) र अरु दिन जोर कक्षाहरु सञ्चालन गरिएको छ । त्यस्तै इलाम नगरपालिका क्षेत्रका अधिकांश सामुदायिक विद्यालयहरु सञ्चालनमा आएको तर कतिपय निजी विद्यालयहरुले भने अझै भौतिक कक्षा सुरु नगरेको तर गर्ने तयारीमा रहेको बताइएको छ । ती विद्यालयहरुले पनि अन्य वैकल्पिक विधिबाट भने कक्षा सञ्चालन गरिरहेका बताइएको छ ।
मन्त्रिपरिषद्को भदौ १९ गतेको बैठकले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका पारित गरेको थियो । उक्त कार्यविधिमा वैकल्पिक शिक्षालाई पनि मूलधारमा ल्याउने निर्णय गर्दै विद्यार्थीको पाँच भागमा वर्गीकरण गरेर सिकाइ अघि बढाउने उल्लेख छ ।
निर्देशिका अनुसार इन्टरनेट तथा सूचना सञ्चारको पहुँचमा भएका विद्यार्थी, कम्प्युटर भएका तर इन्टरनेट नभएका विद्यार्थी, टेलिभिजनको पहुँचमा भएका विद्यार्थी, रेडियो एफएमको पहुँचमा भएका विद्यार्थी र सबै खालको प्रविधिमा पहुँच नभएका विद्यार्थी गरी वर्गीकरण गर्ने र सोही अनुसार सिकाइ सामाग्री उपलब्ध गराउने सरकारको योजना देखिन्छ ।
तर सोही कार्यविधिको बुँदा ३३(२) मा कुनै क्षेत्र विशेषमा विद्यालय सञ्चालन गर्न सम्भव भए सञ्चालन गर्न सकिने उल्लेख छ। र, सोही बुँदालाई टेकेर केही स्थानीय तह विद्यालय सञ्चालन गर्न अग्रसर भएका थिए ।
‘यस निर्देशिकामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै क्षेत्र विशेषमा नियमित विद्यालय सञ्चालन हुनसक्ने अवस्था भएमा प्रत्यक्ष शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न बाधा पर्ने छैन,’ निर्देशिकाको ३३ बुँदामा भनिएको छ ।