Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपीमा अनियमितता छोप्न सरुवा

हाम्रो कोशी आवाज
असोज ७ २०७७, बुधबार
धरानको बीपीमा अनियमितता छोप्न सरुवा

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनियमितता छोप्न एक व्यक्तिको सरुवा भएको खुलासा भएको छ ।
खरिद शाखा प्रमुख विष्णु चापागाईको सरुवा भएको हो । उनलाई चार महिना पनि नपुग्दै उपकुलपति डा.ज्ञानेन्द्र गिरीले सरुवा गरेका हुन् । व्यापारीहरूसँगको मिलेमतोमा भएको अनियमिततामा साथ नदिएपछि उनलाई सरुवा गरिएको स्रोतले जनाएको छ ।
चापागाईले मंगलबार उपकुलपति कार्यालयबाट सरुवाको पत्र पाएका थिए । उनको अप्रत्यासित सरुवामा अन्य सरोकारवाला पदाधिकारीसँग कुनै छलफल वा परामर्श पनि भएको छैन । खरिद शाखा प्रमुखबाट चापागाईलाई शैक्षिक प्रशासन शाखामा पठाइएको छ ।
सामान्यतः बीपीमा कर्मचारीहरूको सरुवा दुई वर्षमा रजिष्टारको सिफारिसमा हुने प्रावधान छ । तर, खरिद शाखा प्रमुख चापागाईले धरानका व्यापारी चेतन अग्रवाल र उनको सेटिङ अनुसार काम गर्न नमानेपछि उपकुलपति कार्यालयमार्फत सरुवा गराएको स्रोतले जनाएको छ ।
अहिले खरिद शाखा प्रमुखमा आफुहरुलाई अनुकुल हुने गरि सामान्य प्रशासनबाट अशोक साहलाई सरुवा गरेर लगिएको छ । चापागाईलाई शैक्षिक शाखामा सरुवा गरिएको भनिए पनि उनलाई त्यस शाखा अन्तर्गतको एकेडेमिक ब्लकमा सरुवा गरिएको छ । त्यहाँ कुनै कार्यालय छैन । पढाई हुँदा मात्र त्यो भवन प्रयोग हुन्छ । अहिले पढाई पनि बन्द भएकोले त्यहाँ कुनै काम छैन ।
‘मलाई एक्कासी सरुवाको पत्र आयो, सरुवाको कारण के हो ? त्यसको छलफल र जानकारी औपचारिकरुपमा भएन, सरुवाको पत्र पाएको छुँ,’ चापागाईले भने । स्रोतका अनुसार कोभिड अस्पतालमा नियम र प्रक्रिया मिचेर लाखौंको सामानहरु खरिद गरिएको थियो । विना विधि र प्रक्रिया खरिद गरिएको ती सामानको हिसाब किताब पुरानो मितिमा मिलाउनुपर्ने बाध्यता छ । त्यस अनियमित कार्यमा चापागाईले साथ नदिएको स्रोतको भनाइ छ ।
कोभिड अस्पतालको अटोमेटेड एनालाइजरु, बायोसेफ्टि क्याबिनेट, एसी लगायत ल्याबको सामान तथा अन्य उपकरणहरु कोभिड अस्पताल प्रमुख, मेसिन प्रयोग गर्ने विभागको स्वीकृति विना नै खरिद प्रक्रिया मिचेर खरिद गरिएको स्रोतको दाबी छ । यसबाहेक चापागाईले खरिद प्रक्रियामा एक लाख भन्दा कमका टुक्रे खरिदलाई पनि निरुत्साहित गरेका थिए ।
एक लाखसम्मको सामान प्रक्रिया केही पनि पुरा नगरी सोझै किन्न सकिन्छ तर ५ लाख बढिको खरिद प्रक्रियामा सार्वजनिक खरिद अनुगमन कार्यालय(पिपिएमओ) मार्फत व्यवस्थित गर्ने काम चापागाईले गरे । पिपिएमओ मार्फत खरिद गर्दा सेटिङ सम्भव हुदैन । त्यसैले वषौंदेखि प्रतिष्ठानलाई दुहुनो गाई बनाएका व्यापारीको स्वार्थ र सेटिङ तोडिने भएपछि उनलाई सरुवा गरिएको स्रोतको भनाइ छ ।
सरुवा पत्रमा उपकुलपति डा.गिरीको हस्ताक्षर छ । यस विषयमा बुझ्न खोज्दा उपकुलपति गिरीले फोन उठाएनन् । अस्पताल निर्देशक प्रा.डा गौरीशंकर अग्रवालले पनि आफूलाई कुनै जानकारी नभएको बताए ।

प्रकाशित मिति: असोज ७ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend