इलामः इलाममा खुलिहालेका विद्यालय पनि धेरै दिन टिकेन । केहीदिन अघिबाट इलाम नगरपालिका क्षेत्रका विद्यालयहरूमा पठनपाठन हुन थालेको थियो ।
सामाजिक दुरी, साबुन पानी, जोरविजोर लगायतका विभिन्न स्वास्थ सुरक्षाका लागि मापदण्ड बनाउँदै विद्यालय सञ्चालनमा आएका थिए । र, केही विद्यालय भौतिक कक्षा सञ्चालनको तयारीमा थिए । तर यो धेरै टिकेन । जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति निकाल्दै अर्को निर्णय नआउञ्जेलका लागि विद्यालयलगायतका विभिन्न क्षेत्रहरु नखोल्न निर्देशन दिएको छ। जसका कारण सञ्चालनमा आएको केही दिनमै विद्याल फेरि बन्द हुने अवस्था भएको छ ।
मन्त्रिपरिषद्को भदौ १९ गतेको बैठकले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका पारित गरेको थियो। सोही कार्यविधिको बुँदा ३३ (२) मा कुनै क्षेत्र विशेषमा विद्यालय सञ्चालन गर्न सम्भव भए सञ्चालन गर्न सकिने उल्लेख छ । र, सोही बुँदालाई टेकेर केही स्थानीय तह विद्यालय सञ्चालन गर्न अग्रसर भएका थिए ।
‘यस निर्देशिकामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै क्षेत्र विशेषमा नियमित विद्यालय सञ्चालन हुनसक्ने अवस्था भएमा प्रत्यक्ष शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न बाधा पर्ने छैन,’ निर्देशिकाको ३३ बुँदामा भनिएको छ ।
यसैमा टेकेर इलाम नगरपालिकाले पनि मापदण्ड बनाएर विद्यालय सञ्चालनमा ल्याउने बाटो खोलेको थियो ।
जिल्ला प्रशासन कार्यालय इलामले जारी गरेको विज्ञप्तिमा गृहमन्त्रालयबाट आएको निर्देशनको जिकिर गर्दै शैक्षिक संस्था, सभा गोष्ठी, सेमिनार, प्रदर्शन भेला, सिनेमा हल, पार्टी प्यालेस, सैलुन ब्युटिपार्लर स्पा, समूहमा हुने खेलकुदलगायतका क्षेत्र अर्को सूचनाबाट तोकिएको मितिबाट मात्र सञ्चालन गर्न भनिएको छ । यो सूचना शिक्षा क्षेत्रमा लक्षित हो भनेर ठम्याउन कुनै कठिनाइ हुदैन । माथिबाटै अस्पस्टता देखिएपछि विद्यालय सञ्चालनका लागि देशैभर अन्योलको वातावरण देखिएको छ ।
