सांकेतिक फोटो ।
धरानः सुनसरीको बराहक्षेत्र नगरपालिका–१ कटहरेकी ११ वर्षीया एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय दशरत राईकी ११ वर्षीया छोरी मीना राई रहेकी छिन् ।
सबैजना छिमेकीको घरमा धामी बसेको हेर्न गएका बेला ती बालिकाको घरमै मृत्यु भएको इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिए । घटनास्थल वरिपरि रक्सीका बोतल भेटिएको र ती बालिकालाई पनि बोतलले हानेको चोट रहेको उनले बताए ।
धामी हरेर आमाबुवा राति आउँदा कोठामा बालिका मृतावस्थामा भेटिएको वडा नं १ का वडाध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिए । प्रहरी निरीक्षक राजवंशीले घटनाबारे अनुसन्धान भइरहेको र शंकास्पद आठ जनालाई नियन्त्रणमा लिएर सोधपुछ थालिएको बताए ।
आफ्नै घरको कोठामा मृत भेटिएकी बालिका राईको टाउकोमा चोट र घाँटीमा रुमाल र टिसर्ट बेरिएको अवश्थामा फेला परेको र संघीय प्रहरी इकाइबाट तालिम प्राप्त कुकुरसहित टोली बोलाएको थियो । घटनास्थलमा लगिएको तालिम प्राप्त कुकुर हत्या भएको घरबाट सुँघ्दै १ सय ५० मिटर परको एउटा घरमा पसेको थियो । सो घरका किशोरलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनका अन्य साथीहरु पनि नियन्त्रणमा लिएको प्रहरी निरीक्षक राजवंशीले बताए ।
