धरानः प्रतिष्ठित धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति डा. ज्ञानेन्द्र गिरीका सल्लाहकार दिलीप भट्टराईको र शिक्षाध्यक्ष डा. गुरु खनालले आफूअनुकुल काम नगर्ने कर्मचारीहरुलाई उपकुलपतिको पछाडि बसेर धमाधम सरुवा गर्ने गरेको पाइएको छ ।
एक साताअघि खरिद शाखामा आएको चार महिना नपुग्दै शाखा प्रमुख विष्णु चापागाईंलाई व्यापारीहरुसँगको साँठगाँठमा उपकुलपति र उनका सल्लाहकार दिलिप भट्टराईले सरुवा गरेकोमा व्यापक विरोध भइरहेको थियो । त्यस्तै, सिभिल इन्जिनियरीङ शाखाका प्रमुख इ.मदन शाहलाई क्वारेन्टाइनमा रहेका उपकुलपतिले हटाएका छन् । उनको स्थानमा सोही शाखाका ओभरसियर विकास बस्याललाई विभागीय प्रमुखको जिम्मेवारी दिएका छन् ।
केहीदिन यता उपकुलपति डा. गिरी कोरोना पोजेटिभका कारण सेल्फ क्वारेन्टाइनमा रहेकै बेला प्रतिष्ठानमा मनपरी ढंगले कर्मचारी सरुवा गर्ने गरिएको हो ।
आफूभन्दा जुनियर ओभरसियरलाई विभागीय प्रमुख बनाइएपछि इन्जिनियर शाहले सञ्चारकर्मीहरूका अगाडि उपकुलपति र तिनका सल्लाहकार भट्टराई तथा शिक्षाध्यक्ष डा. खनालको कदमप्रति चर्को असन्तुष्टि व्यक्त गरे ।
‘मलाई हटाइएको भन्ने कर्मचारी प्रशासनलाई थाहै छैन, रजिष्ट्रारलाई समेत वाइपास गरिएको छ । उपकुलपति आफैं क्वारेन्टाइनमा रहेको बेला दिलिप र डा.गुरुले हटाए । यो काम खनालको हो ।’ शाहले आफ्नो डिपार्टमा आफूभन्दा सिनियर कर्मचारी आएको भए आफूलाई कुनै आपत्ति नहुने तर, आफुभन्दा तीन तह जुनियर ओभरसियरलाई शाखा प्रमुख बनाइएको प्रतिपनि असन्तुष्टि जनाए ।
‘हरेक निर्णयमा उपकुलपति कार्यालय हावी भइरहेको छ । विभागीय प्रमुख आफूअनुकूल ल्याएर व्यापारी र ठेकेदारको इशारामा प्रतिष्ठान चलाउने खेल भइरहेको छ । यसमा सबैभन्दा ठूलो खेल सल्लाहकार दिलिपको छ ।’ कर्मचारी प्रशासनका एक अधिकृत स्तरका कर्मचारीले भने ।

२०७२ साल जेठ २० गतेदेखि सिभिल इन्जिनियरिङ शाखामा रहेका शाहले आफूलाई किन हटाइएको भनेर उपकुलपतिसँग कुरा गर्न म्यासेज गर्दा उपकुलपतिले आफू क्वारेन्टाइनमा रहेको जवाफ दिएको बताए । ‘पत्रमा उहाँले नै साइन गरेको हो, तर पोजेटिभ भएर क्वारेन्टाइनमा बसेको बेला हतारहतार असुरक्षित रुपमा पत्र पठाउनुभयो, यसले हामीलाई समेत संक्रमण हुन्छ कि भन्ने डर भयो ।’ प्रतिष्ठानको इन्जिनियरिङ शाखामा उनी वाहेक अन्य तीन जना विकास बस्याल, शिवनारायण शाह तथा निर्मल श्रेष्ठ ओभरसियर छन् ।
प्रतिष्ठानमा कार्यालयका पत्रहरु कार्यालय क्लर्कले बुझ्ने गरेपनि उनलाई भने हिजो दिउसो १ः३० बजेतिर कोठामै पत्र पठाइएको थियो । कर्मचारी सरुवा गरिएको सन्दर्भमा रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीले आफूसँग कुनै सल्लाह नभएको प्रतिक्रिया दिए । ‘कर्मचारी प्रशासन मेरो मातहतमा भएपनि उपकुलपतिज्यूसँग कर्मचारी सरुवाको अख्तियारी छ । अहिले भएको सरुवामा मसँग सल्लाह भएको छैन ।’ रेग्मीले भने । कर्मचारी सरुवा गर्दा कर्मचारी प्रशासन, कास र पदाधिकारीहरुको सल्लाहमा गर्ने प्रचलन छ ।
यता उपकुलपतिका सल्लाहकार भट्टराईले भने इ. मदन शाहबाट कार्यसम्पादनमा भएको ढिलाई र उपकुलपतिलाई अटेर गरेकाले हटाइएको बताए । उनले बीपी प्रतिष्ठानलाई नमूना प्रतिष्ठान बनाउन उपकुलपति र उपकुलपतिको टिम लागि परेको तथा अहिले आएको सानातिना भूकम्पले आफूलाई केही फरक नपर्ने पनि तर्क गरे ।
प्रतिष्ठान स्रोतका अनुसार अहिले डेपुटी रजिष्ट्रार नियुक्तिको चर्को चलखेल भइरहेको छ । उपकुलपतिका सल्लाहकार दिलिप भट्टराईले उपकुलपतिका भाई अजय गिरीसँग गोप्य बैठक गरेर डेपुटी रजिष्ट्रारमा प्रतिष्ठानकै कर्मचारी उमेश कोइरालालाई ल्याउने तयारी गरेका छन् ।
व्रतिष्ठानका कार्यवाहक उपकुलपति भएको बेला बर्तमान शिक्षाध्यक्ष डा.गुरु खनालले एक व्यापारीबाट तीनदेखि चार लाख खाएको इ.मदन शाहले आरोप लगाएका छन् ।
प्रतिष्ठानको कोरोना हस्पिटल बनाउने क्रममा पहिलो तल्लामा ट्रष्ट निर्माण गर्ने टेण्डर पाएका हरिकृष्ण श्रेष्ठले अर्का ठेकेदार सुशिल झाको फर्म जिना कन्ट्रक्सन मार्फत काम गर्दा कार्यवाहक उपकुलपतिले झण्डै तीनदेखि चार लाख कमिसन खाएको दावि गरे । ‘हरिकृष्ण श्रेष्ठले शुशिल झाको फर्मबाट कोरोना हस्पिटलमा ट्रष्ट बनाउने ६३ लाखको काम लिएको थियो, त्यसमा गुरु खनालले यति नै पैसा लिएको हो, ठ्याक्कै भन्न सक्दिन, दुईचार लाख लिएको चैं हो ।’ उनले भने ।
यता शिक्षाध्यक्ष डा.खनालले आफ्नो पालामा कोरोना हस्पिटलको कामै नभएको बताए । ‘यो गलत कुरा हो मेरो पालोमा कुनै काम भएको थिएन । नयाँ उपकुलपति आएपछि मात्र कोरोना हस्पिटल बनाउने काम भएको हो । मेरो पालामा आइसोलेसन अर्थोपेडिक, इएनटीमा बनाएका थियौं, पछि नेपाल सरकारले कोरोनाको लागि भनेर साँढे १२ करोड दिएको थियो । हरिकृष्ण कोरोनासँग रिलेटेड नै छैन ।’ उनले भने । हरिकृष्ण श्रेष्ठले आफुले कसैलाई घूस नदिएको तर्क गर्दै डा. गुरु खनालसँग काम नभएको जिकिर गरे ।
प्रतिष्ठानका कर्मचारी कल्याण समाजका अध्यक्ष उमेश थापाले प्रतिष्ठानको व्यवस्थापनले कुन कर्मचारीलाई कता सरुवा गर्ने हो आवश्यक्ता अनुसार गर्न सक्ने बताए । उनले कुनै कर्मचारीलाई सरुवा गर्दा अन्याय भयो भने मात्र समाजले बोल्न सक्ने जिकिर गर्दै कार्य क्षमता र आवश्यक्ताका अनुसार सरुवा बढुवा गर्दा समाजले बोल्न नमिल्ने बताए । ‘प्रतिष्ठानको नियमावलीले दिए अनुसार कुनैपनि कर्मचारीलाई सरुवा गर्न सक्छ । तर, उसको विज्ञता हेरेर गर्नुपर्छ । इन्जिनियरलाई मेडिकल सेक्सनमा लान पाउँदैन, मेडिकल लाई सामान्य प्रशासनमा । अन्य कुरा त पदाधिकारीहरुको निर्णयले गर्ने कुरामा हामीले हस्तक्षेप गर्न मिल्दैन । कसैलाई अन्याय भयो अथवा कुनै गलत काम भयो भने हामी चूप लागेर बस्दैनौं ।’ उनले भने ।
यता मेडिकल एण्ड डेण्टल फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष विष्णु पोखरेलले प्रतिष्ठानमा पदाधिकारीका सल्लाहकारले कुनै निर्णयमा सहभागी हुन नपाउने बताए । सल्लाहकारहरुले डाइरेक्ट सहभागी भएर निर्णय गर्ने तथा अभिब्यक्ति दिन नमिल्ने पनि बताए ।
प्रतिष्ठानमा कर्मचारी सरुवा बढुवा, औषधी उपकरण खरिद तथा टेण्डरमा निक्कै चलखेल हुने गरेको छ । यसअघि पूर्व उपकुलपति डा.राजकुमार रौनियारले प्रतिष्ठानका केही कर्मचारीहरुलाई बदनियत रुपमा सरुवा गरेका थिए । विषयगत विज्ञ कर्मचारीलाई नियतबस फरक विभागमा सरुवा गर्दा उनीहरु पुनरावेदन आयोग गएर सरुवा बदर गराएका थिए । प्रतिष्ठान विगत लामो समयदेखि आन्तरिक विकृति विसंगतिमा रुमलिएको छ ।