धरानः मलेसियामा बन्धक बनाइ रकम असुली गरेको आरोपमा एकजना मोरङका युवा काठमाडौमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङको सुन्दरपुर घर भई हाल मलेसियास्थित टप ग्लोभ कम्पनीमा नेपाल कर्नर क्यान्टिन सञ्चालन गरी बस्ने ४४ वर्षीय डेभिड भन्ने दुर्गाबहादुर श्रेष्ठ रहेकोको प्रहरीले जनाएको छ ।
मलेसियामा रहेका नेपाली युवालाई बन्धक बनाएर उनले १६ लाख फिरौती मागेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
उनले आफ्नी श्रीमती र चालकको मिलेमतोमा मलेसियामा नै काम गर्ने दाङको पहरुवा बस्ने मध्म रैदासलाई अपहरण गरी सात दिनसम्म बन्धक बनाइ उनकी श्रीमतीसँग पटक–पटक गरी नेपालबाट झण्डै १६ लाख रूपैयाँ रकम फिरौती बुझेको आरोप छ । मलेसियामा कार्यरत रैदासलाई डेभिडले बन्धक बनाई उनकी श्रीमतीलाई मलेसियाका विभिन्न नम्बरबाट फोन गरी रकम पठाउन अन्यथा मारिदिने धम्की दिएको उजुरी परेको थियो ।
फिरौती बापतको १५ लाख ९२ हजार रकम नेपालबाट पठाएपछि मात्रै अपहरित व्यक्तिलाई अपहरण मुक्त गरेको र निजको राहदानी आफ्नो कब्जामा लिई पीडितलाई नेपाल आउन समेत नदिई अघोषित रुपमा हालसम्म पनि बन्धक जस्तै बनाई राखेको उजुरी परेपछि अनुसन्धान थालिउको प्रहरीले जनाएको छ ।
ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले उनीविरूद्ध गत जुन महिनामा मलेसियामा अपहरण गरेको कसुरमा जाहेरी परेको जानकारी दिए । मलेसियामा आफ्नो रेष्टुरेन्टमा काम गर्ने दाङका मोहम्मद रैदासलाई उनले छ दिन अपहरण गरी शरीर बन्धक बनाएको जाहेरी परेको थियो ।
श्रेष्ठलाई अदालतबाट थुनामा राख्ने अनुमतिका लागि लैजाने प्रक्रिया थालिएको पाण्डेले बताए । प्रहरीका अनुसार श्रेष्ठ २२ वर्षदेखि मलेसिया बस्दै आएका छन् । उनको त्यहाँ रेष्टुरेन्ट छ । श्रेष्ठले रैदासकी श्रीमतीलाई ६० हजार रिंगेट रुपैयाँ फिरौती मागेका थिए । फिरौती रकम डिपोजिट गर्न श्रीमती दाङस्थित हिमालयन बैंकमा १२ लाख रुपैयाँ लिएर जुन २८ मा पुगेकी थिइन् ।
श्रेष्ठले उक्त बैंकमा रहेको आफ्नो खातामा रकम जम्मा गर्न भनेका थिए । सुरूमा १२ लाख रुपैयाँ मात्र डिपोजिट गर्नसक्ने जनाएर श्रीमती बैंक पुगेकी थिइन् । बैंकले के कामका लागि बैंकमा रकम जम्मा गरिएको हो भन्नेबारेमा सोधपुछ गर्दा उनले सबै कुरा खुलाएको प्रहरीले जनाएको छ । श्रेष्ठको खाता बैंक र प्रहरीले निगरानी गरिरहेको थियो । नेपाल आएपछि पैसा निकालेपछि श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थापाले बताए ।