Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

फोहोरको डङगुरमै लाग्छ हटिया (९ तस्वीर)

हाम्रो कोशी आवाज
कार्तिक ५ २०७७, बुधबार
फोहोरको डङगुरमै लाग्छ हटिया (९ तस्वीर)

फुङलिङः ताप्लेजुङको फुङलिङ नगरपालिका ४ तोक्मेडाँडा हटियामा सुनदेखि नुनसम्मको कर उठाउने गरेको भएपनि नगरले त्यहाँको फोहोर उठाउने गरेको छैन ।
ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारको तोक्मेडाँडामा विगतदेखि नै तोक्मेडाँडामा मंगलबार र शनिबार गरी हप्ताको दुई दिन हटिया बजार लाग्दै आएको छ । हटिया बजारमा स्थानीय कृषकले उत्पादन गरेको सागसब्जी, भटमासबाट तयार पारिएको किनीमा, स्थानीय दिदी बहिनीहरुले बनाएको जाँड रक्सीको लागि मर्चा साथै स्थानीय उद्यमीहरुको आफ्नो उत्पादन बिक्री गर्ने एक केन्द्र विन्दु हो हटिया बजार । ताप्लेजुङ जिल्लामा स्थापना भएर सञ्चालनमा आएको साना तथा घरेलु उद्योग, लघु, मझौला उद्योगदेखि लिएर गाउँघरमा उत्पादन भएको विभिन्न तरकारी वन जंगलमा पाइने निगुँरो, याङवेङजस्ता अर्गानिक वस्तु खरिद बिक्री गर्ने एक मात्र केन्द्र तोक्मेडाँडा हटिया बजार ।
ताप्लेजुङ बजारदेखि गाउँगाउँका नागरिकहरु प्रत्यक्ष अप्रत्यक्ष हटिया बजारसँग सम्बन्ध जोडिएको छ । अझ भन्ने हो भने विशेष गरी ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा बस्ने व्यापार व्यवसायी, कर्मचारी, विद्यार्थी तथा राजनीतिज्ञ साथै आम नागरिकहरुको कोठियाबारी बन्दै गएको छ हटिया बजार । बजारमा बस्ने प्रत्येक पारिवारका भान्सा कोठासँग हटियाको राम्रो सम्बन्ध जोडिएको छ । गाउँगाउँ उत्पादन गरेको सागसब्जी बिक्री गर्नेको लागि दुईदिन अगाडि नै तयारी भएर शनिबार बिहान ४ बजे हटिया बजार तोक्मेडाँडामा आफ्नो उत्पादन बिक्री गर्न पुगेका हुन्छन् ।

निर्मला राई, सुकमाया राई र विमु राई ३ बजे बिहान उठेर ३ घण्डा पैदल बाटो हिँडेर पाथीभरा याङवरक गाउँपालिका १ नाङखल्यङबाट ६ बजे फुङलिङ नगरपालिकाको ४ तोक्मेडाँडामा लाग्दै आएको हटिया बजारमा पुग्छन् । गाउँको जङ्गलदेखि खोजेर ल्याएको निगुँरो हटिया बजारमा फोहोर फलिएको छेऊमा निगुरो फिजाएर बिक्रीको लागि तयार हुन्छन् । विमलाले ५० मुठा, सुकमायाले ५३ मुठा र विमु राई ५३ मुठा निगुँरो बिक्री वितरण सुरु गर्दछन् । ‘फोहोरमा बसेर व्यापार व्यवसाय गर्ने कस्को रहर छ र ?’ तर फुङलिङ नगरपालिकामा लाग्दै आएको हटियामा प्रायः सबै उद्यमी तथा व्यापार व्यवसायी साथै व्यापारीहरु फोहोर मै बसेर आफ्नो उत्पादन बिक्री गर्नु बाध्य हुनुपरेको छ’, सुकमायाले गुनासो पोखिन् ।
कर तिरेपछि फोहोर मैलामा बसेर आफ्नो उत्पादन गरेको सागसब्जी बिक्री गर्नुपर्दा आफैले नमज्जा लागेको आएको निर्मला राईले बताइन् । हटिया क्रेता तथा बिक्रेता दुवैको केन्द्र भएकोले सम्बन्धित सारोकारवालाहरुले फोहोरमैला व्यवस्थापनमा ध्यान दिनुपर्ने हटियामा किनमेल गर्न आएका तेज भट्टराई बताए । बजारबाट निस्किएको फोहोरमैलालाई कुहिने र नकुहिने गरी वर्गीकरण गरेर आवश्य ठाउँ—ठाउँमा डस्वीन राख्नुपर्ने उनले बताए ।
नगरले प्रत्येक बिक्रेताबाट रु १० देखि एक सयसम्म बहाल कर उठाउँदै आएपनि फोहोरमैला व्यवस्थापनमा ध्यान नदिएको किनमेल गर्न आएका ज्ञानेन्द्र पौडेलले बताए । हरिमाया पौडेल फुङलिङ नगरपालिका ३ देखि विहान ६ बजे आफूले उत्पादन गरेको अम्बक बेच्न हटिया बजार आइपुगे बताइन् । ‘बजारमा फोहोरको रासकै अगाडि बसेर आफ्नो उत्पादन बिक्री गर्न बाध्य छौं, दुर्गन्ध सहेर बस्नुपर्ने बाध्यता छ’, उनले भनिन् ।

हटिया सार्वजनिक स्थान भएकोले आवश्यताअनुसार डस्वीनहरु राख्नुपर्ने र फोहोरमैला व्यवस्थापनका लागि आवश्यक जनशक्तिको व्यवस्था गर्नुपर्ने जीवन बर्देवाले बताए ।
यता फुङलिङ नगरपालिले बहाल विटौडी कर ठेक्का मार्फत् २०७७–७७ आर्थिक वर्षको रु ५ लाख ५१ र यस आर्थिक वर्ष २०७७–७८ रु २ लाख ५१ हजारमा राजकुमार तामाङले ठेक्का पारेका छन् । शनिवार स्थानीयहरुले ३ सयको हाराहारीले आफ्नो उत्पादन बिक्रीको लागि हटिया बजार ल्याउने गरेको र सोहीअनुसार कर उठाउने गरेको बहाल विटौडी कर ठेकेदार राजकुमार तामाङले बताए । अघिल्लो आर्थिक वर्षमा हटियाको फोहोर मैला व्यवस्थापन कर ठेकेदारले नै गरेको र व्यवस्थापन गरेवापत नगरपालिकाले भुक्तानी दिने गरेको भएपनि यो वर्ष भने नगरले आफै गर्ने भएकाले फोहोर मैला बढेको ठेकेदार तामाङले बताए । ‘हप्ताको दुई दिन हटियामा कर उठाउन आउँछौं तर नगरले फोहोरमैला उठाउँदैन, फोहोरमा बसेर एक दुई मुठा साग सब्जी बेचिरहेकासँग १५ रुपैयाँ कर उठाउन असहज भएको छ ।’ उनले भने ।

हटिया बजारमा मात्र होइन फुङलिङ बजारमै पनि फोहोर मैला व्यवस्थापन हुन सकेको छैन । तोक्मेडाडा बस पार्कदेखि लिएर विभिन्न चोकहरुमा फोहोरमैलाले भरिएको छ । फुङलिङ नगरपालिकाभित्र कुनै पनि डस्वीन छैन । फुङलिङ नगरपालिकामा फोहोरमैला व्यस्थापन गर्नका लागि गत आर्थिक वर्ष २०७६–७७ मा कुमार लिम्बूले १७ लाखमा ठेक्का पारेको थियो । कोरोनाको कारणले गर्दा फोहोरमैला व्यवस्थापनमा समस्या आएपछि नगरपालिकाले ४ महिनाको ५ लाख ६६ हजार ३ सय ३४ रुपैंयाँ छुट दिएको थियो । ५ लाख ६६ हजार ८ सय ३३ रुपैयाँ यस अगाडि नै नगरपालिकामा ठेकेदार लिम्बूलाई भुक्तानी गरिसकेको छ, भने ५ लाख ६६ हजार ८ सय ३३ रुपैयाँ नगरपालिकामा भुक्तानी गर्न बाँकी रहेको फुङलिङ गरपालिकाका सूचना अधिकारी भुपाल सेन्दाङले जानकारी दिए ।
यस आर्थिक वर्षको फोहोर मैला व्यवस्थापनको लागि ४ पटक ठेक्का आहवान गर्दा पनि कुनै ठेक्का नपरेको सूचना अधिकारी सेन्दाङले बताए । यस आर्थिक वर्षमा ठेक्का नलागेपछि नगरपालिकाले अहिलेसम्म व्यवस्थापन गर्दै आएको र नगरबासीसँग कुनै शुल्क पनि अहिलेसम्म नलिएको सूचना अधिकारी सेन्दाङले बताए । बजार क्षेत्रमा भएको फोहोर मैला तथा ढलहरुमा भएको फोहोरलाई व्यवस्थापन गर्नका लागि नगरपालिकाले जग्गा रजिष्ट्रेशन भई सकेको अरु कामको प्रक्रिया पनि अगाडि बढिरहेको फुङलिङ नगरपालिकाका प्रवक्ता मोहन न्यौपानेले बताए ।

हटिया बजारमा भएको सार्वजनिक शौचालयदेखि हटिया बजार सरसफाइ गर्नको लागि एक जना कर्मचारी नै राखेर फोहोरमैला सरसफाइ भइरहेको फोहोर मैला नरहेको फुङ्लिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले दावी गरे । फुङ्लिङ नगरपालिकाले समय तालिका बनाएर दैनिक रुपमा फोहोर मैला व्यवस्थापन गरिरहेको उनले बताए ।
तस्वीर: दिलकुमार, फुङलिङ

प्रकाशित मिति: कार्तिक ५ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend