धरानः धरानस्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा पिसिआर परीक्षण तथा कोभिड संक्रमित उपचारको शुल्क निर्धारण गरेको छ ।
प्रतिष्ठानले यही आइतबारदेखि लागू हुने गरी पिसिआर परीक्षणको नयाँ शुल्क २२ सय निर्धारण गरेको सूचना सार्वजनिक गर्दै जानकारी गराएको हो । सूचनामा कोरोना उपचारका लागि ७ देखि ६० हजारसम्म धरौटी समेत लिने भएको छ ।
प्रतिष्ठानका अस्पताल निर्देशक प्रा. डा. गौरीशंकर शाहले सूचना जारी गर्दै कोभिड परीक्षण तथा उपचारको लागि भएका नयाँ निर्णयहरूको सार्वजनिक गरेका हुन् ।
प्रतिष्ठानले यसअघि पिसिआर परीक्षण गर्दा २ हजार लिँदै आएकोमा त्यसमा २ सय वृद्धि गरेको छ । प्रतिष्ठानले आर्थिक रूपले विपन्न, अशक्त र असहाय नागरिक, असहाय एकल महिला तथा अपाङ्गता भएका नागरिक, ज्येष्ठ नागरिकहरूलाई लक्षण देखिएमा सिफारिस र परिचय पत्रको आधारमा निःशुल्क पिसिआर परीक्षण गर्ने भनेपनि अन्यको हकमा शुल्क लाग्ने जनाएको छ ।
प्रतिष्ठानले कोरोना संक्रमणको उपचारमा धरौटी समेत राख्ने निर्णय गरेको छ । जस अनुसार कुनै लक्षण नभएकोले ७ हजार, हल्का लक्षण भएकोले १२ हजार, मध्यम लक्षण भएकोले ३५ हजार तथा गम्भिर लक्षण भएकोले ६० हजार रकम उपचार सेवा अगावै धरौटी राख्नुपर्ने भनिएको छ ।
प्रतिष्ठानले लक्षण नभएकोलाई २ हजार, हल्का लक्षण भएकालाई ३५ सय, मध्यम लक्षण भएकालाई ७५ सय र गम्भिर लक्षण भएकालाई १५ हजार दैनिक शुल्क लिने डा. शाहद्वारा जारी सूचनामा उल्लेख छ । लक्षण नभएमा वा हराएमा संक्रमित विरामीहरूलाई १४ दिनमा डिस्चार्ज गर्ने गरिएकोमा अब पछिल्लो ३ दिनमा लक्षण नदेखिएमा १० दिनमा डिर्स्चाज गर्ने निर्णय गरिएको छ । डिस्चार्ज पश्चात बिरामीले एक साता होम आइसोलेसन अनिवार्य बस्नुपर्ने उल्लेख छ । सरकारको मन्त्रिपरिषद्ले असोज १९ गते ‘परीक्षण तथा उपचार खर्च स्वयम् नागरिकले व्यहोर्नुपर्ने’ निर्णय गरेको थियो । तर, निर्णय कार्यान्वयनका लागि कात्तिक २ गतेदेखि लागू भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


