धरानः सर्वाधिक चर्चित र विवादित बनेको धरान–११ की सिंगापुरे लाहुरेकी श्रीमती सुनिहाङ्मा लिम्बू आत्महत्या प्रकरणको विवाद अब भने किनारा लाग्ने भएको छ । गत भदौ २२ गते उनी घरकै एक कोठामा आत्महत्यापछि मृत फेला परेकी थिइन् ।
शुरुमा माइतीपक्षबाट हत्या भएको आशङ्कामा ससुरा भीम माबो, श्रीमान आइतराज माबो, आमाजुहरू सञ्जु र विमला माबो र देवर हेमकुमार माबोविरुद्ध कर्तब्य ज्यान मुद्दा दर्ता गरी इलाका प्रहरी कार्यालय धरानमा पक्राउ गरी २८ दिनसम्म अनुसन्धानमा राखेर प्रहरीले अनुसन्धान गरेको थियो ।
प्रहरी अनुसन्धान साथै पोष्टमार्टम रिपोर्ट र भिसेरा रिपोर्टबाट माइतीपक्षले दावी गरेजस्तो सोनुहाङ्माको हत्या नभएर आत्महत्या भएको प्रमाणित भयो साथै सुनसरी जिल्ला अदालतले आरोपित ५ जनामध्ये ४ जनालाई जनही एक लाख पचास हजार रूपैयाँका दरले धरौटीमा रिहा गरेको थियो ।
हाल आइतराज सिङ्गापुर पुलिसमा कार्यरत् रहेकोले सुनसरी जिल्ला अदालतले अदालतमा हाजिर हुनका लागि वारेन्ट पनि जारी गरिसकेको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले ७ दिनको वारेन्ट सकिएको र ३५ दिने म्याद तामेल भएको जानकारी दिए । सरकारी वकिलका अनुसार ३५ दिनभित्र उनी आफै उपस्थित भएर अदालतमा बयान दिन सक्छन् ।
माइतीपक्षले किटानी जाहेरी गरी दर्ता गरेको कर्तव्य ज्यान मुद्दा प्रमाणित नभएपछि अहिले सुनसरी जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ ।
माइतीपक्षबाट केटा र उनको परिवारबाट विभिन्न यातना दिएर सुनिहाङ्मालाई आत्महत्या गर्न बाध्य बनाइएको भन्ने आरोप छ भने केटापक्षबाट चारजना रिहा भएपछि ससुरा भीम माबो र मावो संघले संयुक्तरूपमा प्रेस विज्ञप्ति जारी गरी केटापक्षबाट कसैले कुनै किसिमको पनि यातना नदिएको, बुहारीसँग सुमुधुर सम्बन्ध रहेको बताएका छन् साथै बुहारी सुनिहाङ्माले आत्महत्या गर्नुको मुख्य कारण फेसबुक ‘लगइन’ गरी नग्न तस्बीर मागेर ‘ब्लाकमेल’ गरेपछि बुहारीले आत्महत्या गर्न बाध्य भएको समेत प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा केटापक्षले घटनालाई अतिरञ्जित नगर्न साथै घटनाको सत्यतथ्य छानविन गरी अपराधी पत्ता लगाई दोषीलाई कडाभन्दा कडा कार्वाहीको माग गरेका छन् । विज्ञप्तिमा सुनिहाङ्माले आत्महत्या गर्नुको मुख्य कारण फेसबुकमा नग्न तस्बीर मागिएपछि भएको र यी सम्पूर्ण घटनाको जानकार सुनिहाङ्माको मामा हाल सिङ्गापुर पुलिसमा कार्यरत् श्रीमान कुरुम्वाङलाई पनि सत्य घटनाको जानकारी दिई दोषी पत्ता लगाउनमा सहयोग गर्न केटापक्षबाट अनुरोध गरिएको छ ।
लाहुरे आइतराज र लाहुरेनी सुनिहाङ्माबीच सामाजिक सञ्जालमा यस्तो संवाद भएको थियो हेरौं भिडियोः