Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान खानेपानी संस्थान बोर्डमा मर्ज होला ?

हाम्रो कोशी आवाज
कार्तिक १५ २०७७, शनिबार
धरान खानेपानी संस्थान बोर्डमा मर्ज होला ?

धरानः गत कार्तिक ५ गते बसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले नेपाल खानेपानी संस्थान धरान शाखालाई धरान खानेपानी बोर्डमा लाने निर्णयको जनता समाजवादी पार्टी धरान उपमहानगर समितिले विरोध गरेको छ ।
अध्यक्ष ताजुब लिम्बूद्वारा शनिबार जारी विज्ञप्तिमा कार्तिक २६ गते मर्ज गर्ने निर्णय गरेकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको र विरोध गर्र्दछ भनिएको छ ।
विज्ञप्तिमा धरान उपमहानगरपालिकाले धराने जनतासामु गरेको शर्त र पटक पटकको प्रतिबद्धता पूरा नगरी नेपाल खानेपानी संस्थान धरान शाखालाई धरान खानेपानी बोर्डमा मर्ज गरेमा त्यसको विरोध गर्ने र सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ ।
धरान खानेपानी आयोजनाले प्रतिदिन जमिनको भूमिगत श्रोतबाट ७ वटा नयाँ वेलमार्फत पानी उत्पादन गरी रिजर्भवेयर (खानेपानी ट्याङकी) मा ९२ लाख लिटर पानी जम्मा गर्ने र धरान खानेपानी शाखाले उत्पादन गरिरहेको करिब (जमिनको भूमिगत श्रोतबाट ३ वटा वेल पुरानो र सर्दु खोलाको सतही पानी) १ करोड २० लाख २० हजार लिटर पानी गरेर जम्मा २ करोड १२ लाख २० हजार पानी वैज्ञानिक वितरण प्रणालीमार्फत २८ हजार धारामा दैनिक न्युनतम १६ घण्टा ७ मिटरको प्रेसरमा पानी वितरण गर्ने आम धराने जनताहरुमा प्रतिबद्धता गरेको तर हाल धरान खानेपानी आयोजनाले उत्पादन गर्ने ७ वटा नयाँ वेलबाट उत्पादन भएको पानी विभिन्न समयमा अनुगमन तथा मूल्ल्याङ्कन गर्दा ६३–६४ लाख पानी मात्र रिजर्भवेयरमा जम्मा भएको पाइएको विज्ञप्तिमा जनाइएको छ ।
आयोजनाको डिपिआरमा नभएको २ वटा नयाँ वेल निर्माणलाई हेर्ने र वितरणलाई हेर्दा कुनै घरमा पानी नआउने, कहीँ पम्पमार्फत पानी तान्नुपर्ने र सहज तरिकाले आएको धाराहरुमा पनि दैनिक बढीमा एकघण्टा वा आधा घण्टा मात्र पानी आइरहेको पार्टीको ठहर छ ।
धरान खानेपानी आयोजनाको शुरुवातदेखि नै पानीको दीर्घकालिन मुहान, बजेटको सही सदुपयोग, पारदर्शिता, जवाफदेहिता, कार्यसम्पादन र परिणामको विषयमा विरोध, सहमति, विवाद र छलफलको विषय बन्दै आइरहेको र धरान उपमहानगरपालिकाले सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संघर्ष समितिसँग ११ बुँदे सहमति गरेपश्चात धरान खानेपानी आयोजनाले आफ्नो निर्माण कार्य अगाडि बढाएको पार्टीले जनाएको छ ।
विज्ञप्तिमा सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संघर्ष समितिमा समाजवादी पार्टी सहभागी पक्ष भएकोले धरान खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि विगत ९, १० महिनादेखि पानी उत्पादन र वितरण गरिरहेको अवस्थामा ११ बुँदे सहमतिमा गरिएको प्रतिबद्धताअनुसार पूरा भएको छ कि छैन भनी विश्लेषण तथा मूल्याङ्कन हुनुपर्ने जनाइएको छ ।
विज्ञप्तिमा यही कारण पनि धरान खानेपानी आयोजनाप्रति धराने जनताहरुको विश्वास, आशा भरोसा गुमेको र आयोजनामा भ्रष्टाचार तथा अनिमियतता भएको आशंका गरिरहेकोमा धरान नगर प्रमुख तिलक राईले विज्ञहरुको समिति निर्माण गरी सो समितिले आयोजना सफल वा असफलबारे अध्ययन गरी बुझाएको प्रतिवेदनपश्चात मात्र नेपाल खानेपानी संस्थान धरान शाखालाई धरान खानेपानी बोर्डमा मर्ज गर्ने प्रतिबद्धता जनाएको जनाइएको छ ।

प्रकाशित मिति: कार्तिक १५ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend