Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अलविदा गजेन्द्र मामा !

हाम्रो कोशी आवाज
कार्तिक १८ २०७७, मंगलबार
अलविदा गजेन्द्र मामा !

धरानः गोर्खा आन्दोलनका अभियन्ता गजेन्द्र इस्वोको निधन भएको छ ।
क्यान्सर रोगसँग जुधिरहेका उनको उपचारका क्रममा निधन भएको हो । इस्वोको उपचारको क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा निधन भएको छ । स्वास्थ्यमा समस्या भएपछि उनलाई धरानस्थित बीपी प्रतिष्ठान लगिएको र त्यहाँ उपचार हुन नसकेपछि उनलाई न्यूरो अस्पताल विराटनगर लगिएको थियो । उनको मंगलबार बिहान मृत्यु भएको हो । २७ असोजमा कोरोना संक्रमण पुष्टि भएपछि इस्वोलाई १२ कात्तिकमा न्यूरो अस्पताल विराटनगर भर्ना गरिएको थियो । निमोनियाको समस्या देखिएका उनको मंगलबार बिहान ३ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । भूपू ब्रिटिस गोर्खा सैनिकहरुको हक र अधिकारको लागि लडिरहने अथक योद्दाको निधन भएको हो ।
छालाको क्यान्सरपीडित उनी भूपू गोर्खा सैनिकहरुको आन्दोलनको पहिलो योद्दा मानिन्थे । धरानको विकास निर्माणमा टेवा पुरयाएका उनी सामाजिक व्यक्तित्वका रुपमा चिनिन्थे । भनौं धरानको विकास निर्माणमा चिन्तित रहनेमध्ये उनी पनि एक हुन् । गोर्खा आन्दोलनसँगै आदिवासी जनजातिको आन्दोलनमा पनि अग्रपंक्तिमा रहेका थिए । जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष समेत रहेका उनी गएको उपनिर्वाचनमा समाजवादी पार्टीबाट मेयरको उम्मेदवार बनेका थिए । भुपु सैनिकहरुको गेसो, सहकारी, गोर्खा कम्प्लेक्स, गोर्खा पार्कको स्थापना र सञ्चालनको नेतृत्व उनैले गरेका थिए ।
वि.सं. २०१४ साल असार ४ गते सोमबारका दिन तेह्रथुम आठराई २ खाम्लालुङ वाइफुङ गाउँमा जन्मिएका गजेन्द्र इस्वो विद्रोही स्वभावका मानिस हुन् । गोर्खा भर्तीदेखि उपनिर्वाचनमा मेयर पदको उम्मेद्वार बन्दासम्म पनि उनी विद्रोही स्वभावका हठी व्यक्तित्व भएका मानिन्थे । स्व. कालुहाङ इस्वो लिम्बू र स्व. कृष्णमाया फोम्बो लिम्बूको कोखबाट जन्मिएका उनी धरान–१५ का बासिदा हुन् ।
गाउँकै स्कुलमा माध्यमिक तहको अध्ययन गर्दागर्दै उनी २०३४ सालमा गोर्खा ब्रिटिस आर्मीमा भर्ती भएका थिए । २०४९ सालमा अवकाश पाएका उनले अवकास पाएपछि पनि बु्रनाइमा जागिर खान पुगे । त्यतिबेला अर्थात् २०५२–५३ सालमा ब्रुनाइको सेवामा रहँदा अन्याय गरेको अनुभव भएपश्चात् अन्यायविरुद्ध आवाज उठाइ जागिर छाडेर नेपाल फर्केका थिए । ‘म अलि हठी, विद्रोही स्वभावको लाहुरे, अन्याय भन्ने कुरा सहनै नसक्ने, त्यतिबेला पनि अन्यायविरुद्ध नै आवाज ओकलें र अन्याय भएको अनुभव भएपश्चात् मैले जागिरबाट विदा लिएँ ।’ उनी भन्ने गर्थे ।
ब्रिटिस गोर्खा भूतपुर्व सैनिकहरूले २०४६ सालदेखि नै पेशागत हक अधिकारको कानुनी न्यायिक आन्दोलन गर्दै ३० वर्षे यात्रा पार गरिसकेको छ । पहिलो र दोस्रो विश्व युद्धताका नेपालीहरूलाई ब्रिटिसले भर्ती गराएर ब्रिटिसको देश, माटो र साम्राज्यको खातिर लाखौं गोर्खाहरूलाई भर्ती गराइयो ।
उनीहरू युद्धमा कति मरे, बाँचे भन्ने लेखाजोखा ब्रिटिस सरकार र नेपाल सरकारसँग नभएकोले त्यसको अध्ययन अनुसन्धान गरी एकिन गर्ने पक्षमा आन्दोलन क्रियाशील नै छ । र एउटा लामो इतिहासको कालखण्डमा ब्रिटिस सरकारले वीर गोर्खाहरूलाई समान कामको समान दाम हुनुपर्नेमा भेदभाव गरिएकाले यसखाले भेदभावको अन्त्य हुनुपर्छ भनी न्यायिक आन्दोलन पनि जारी छ । नेपालका सारा बौद्धिक, वुद्धिजीवी, कानुन व्यावसायी, मानव अधिकारकर्मीहरू सबैको साथ सहयोग लिइ नेपाल सरकारलाई यो समस्या समाधान गर्न माग गर्दै आइरहेका छन् । ‘ब्रिटिस गोर्खा सैनिकहरुको आन्दोलन पनि अन्याय र भेदभावविरुद्धकै आन्दोलन हो । म निरन्तर सो आन्दोलनको नेतृत्व वरिपरी छु ।’ उनी भन्ने गर्थे, ‘नेपालमा भएको वर्गीय र सामाजिक अन्याय र विभेदको विरुद्ध निरन्तर विभिन्न समयमा भएको आन्दोलनहरूमा सहभागी भई लडिरहेकै छु ।’
किशोरावस्थामा राजनीतिक परिवेशमा २०२७–२८ सालमा कम्युनिष्ट विचारधारा अङ्गाली राजनीतिमा आकर्षित हुँदै गए । लाहुरे जागिर छोडेपछि पुनः नेपाल आई कम्युनिष्ट विचारलाई पुनः अङ्गीकार गर्दै एमाले पार्टीको सम्पर्कमा आएका उनले २०५९ सालदेखि दुई कार्यकाल धरान नगर सदस्यको रुपमा काम गरेका थिए ।
पहिलो संविधानसभाको चुनावको बेला एमालेले जातीय मुक्तिको लागि जातिगत कमिटी निर्माण गरेको थियो । त्यतिबेला किरात लोकतान्त्रिक लिम्बू सङ्घको धरान नगर अध्यक्षको जिम्मेवारी सम्हालेको उनले संविधानसभाले संविधान निर्माण गर्ने क्रममा पार्टीहरूलाई राज्य पुनसंरचनाको अवधारणा माग हुँदा एमालेले १४ प्रदेशको खाका तयार पारेको थियो । विज्ञहरूको राज्य पुर्नसंरचना आयोगले १०+१ को संरचना संविधानसभालाई बुझाएको थियो । यही विषयलाई तत्कालिन एमालेले ग्रहण गर्न नसकेपछि उनले पार्टी त्यागेका थिए ।
उनले गोर्खा भर्तीपश्चात् राजनीतिबाट टाढा भई विशुद्ध सैनिक सेवामा १५, १६ वर्ष कार्यरत् रहेका थिए, त्यसपछि पनि उनी समाजसेवामै होमिए । २७ वर्षदेखि विभिन्न संघसंस्था, राजनीतिक दलमा आवद्ध भई उनी समाजसेवा लागिरहे । समाजसेवामै लागिरहँदा मलाई पनि सधैंजसो भनिरहन्थे–भेटघाट अलि पातलो भयो भाञ्जा । एकाबिहानै तपाईको निधनले मर्माहत भएको छु, अलविदा गजेन्द्र इस्वो मामा ।

प्रकाशित मिति: कार्तिक १८ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend