Hamro Koshi Aawaj

आइतबार, कार्तिक २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

चाडपर्वको उमङ्गसँगै विद्यार्थीले एक महिने बिदाको सदुपयोग कसरी गर्ने ?

हाम्रो कोशी आवाज
कार्तिक २ २०८३, आइतबार
चाडपर्वको उमङ्गसँगै विद्यार्थीले एक महिने बिदाको सदुपयोग कसरी गर्ने ?

नेपाली समाज विविध धर्म, संस्कृति, परम्परा र संस्कारले समृद्ध छ । हाम्रा चाडपर्वहरू मनोरञ्जन र खुसी साटासाट गर्ने अवसर मात्र नभई पारिवारिक आत्मीयता, सामाजिक सद्भाव, नैतिक मूल्य र सांस्कृतिक पहिचान सिक्ने महत्त्वपूर्ण माध्यम पनि हुन् । विजयादशमीले सत्य र सदाचारको सन्देश दिन्छ, दीपावलीले उज्यालो र आशाको प्रतीक प्रस्तुत गर्छ भने छठ पर्वले प्रकृति, सूर्य र जलप्रतिको श्रद्धा तथा अनुशासनको महत्व बुझाउँछ ।
यी पर्वहरूको अवसरमा विद्यालय करिब एक महिनाका लागि बन्द रहने भएकाले विद्यार्थीहरूले परिवारसँग समय बिताउने, आफन्तजनसँग भेटघाट गर्ने, मनोरञ्जन गर्ने र आफ्नो संस्कृति तथा संस्कारबारे जान्ने अवसर पाउनेछन् । तर, बिदा भनेको पढाइबाट पूर्णरूपमा टाढा रहने समय होइन । यसलाई विश्रामसँगै ज्ञान, सीप र व्यवहार विकास गर्ने अवसरका रूपमा उपयोग गर्नु आवश्यक छ । चाडपर्वका अवसरमा विद्यार्थीहरूले ज्येष्ठ सदस्यबाट आशीर्वाद लिने, ठूलालाई सम्मान गर्ने, सानालाई माया गर्ने र पारिवारिक सम्बन्ध सुमधुर बनाउने संस्कारलाई व्यवहारमा उतार्नुपर्छ ।
हजुरबा–हजुरआमाबाट लोककथा, पारिवारिक इतिहास तथा परम्परागत ज्ञान सुन्ने र आफ्नो समुदायमा मनाइने पर्वहरूको विशेषताबारे जानकारी लिने काम पनि गर्न सकिन्छ । यसले सांस्कृतिक पहिचानप्रति सम्मान बढाउनुका साथै विविध धर्म, भाषा र संस्कृतिप्रति सहिष्णु भावना विकास गर्छ । बिदामा खेलकुद, पुस्तक पठन, चित्रकला, सङ्गीत तथा अन्य सिर्जनात्मक गतिविधिमा सहभागी हुनु उपयोगी हुन्छ । मोबाइल फोन, सामाजिक सञ्जाल र अनलाइन खेलमा अत्यधिक समय बिताउनुको सट्टा प्रविधिलाई ज्ञान र सिकाइका लागि प्रयोग गर्नुपर्छ ।
चाडपर्वमा खानपिनमा विशेष ध्यान दिनु पनि उत्तिकै आवश्यक छ । सन्तुलित भोजन गर्ने, फलफूल तथा सागसब्जी खाने, स्वच्छ पानी पिउने, पर्याप्त आराम गर्ने र नियमित शारीरिक गतिविधिमा सहभागी हुने बानी कायम राख्नुपर्छ । दियो, आगो, पटाका, सडकको भीडभाड र सवारीसाधनबाट हुने सम्भावित जोखिमप्रति सचेत रहँदै अभिभावकको सल्लाहअनुसार सुरक्षित तरिकाले पर्व मनाउनुपर्छ ।
वातावरण र छिमेकीलाई असर नपर्ने गरी सभ्य तथा वातावरणमैत्री व्यवहार अपनाउनु हाम्रो साझा जिम्मेवारी हो । लामो बिदापछि पढाइमा पुनः अभ्यस्त हुन कठिनाइ नहोस् भन्नका लागि विद्यार्थीहरूले अध्ययनको नियमितता कायम राख्नुपर्छ । विद्यालयबाट प्राप्त गृहकार्य तथा परियोजना कार्य अन्तिम समयसम्म थाती नराखी समयमै पूरा गर्ने योजना बनाउनुपर्छ । दैनिक केही समय पाठ दोहो¥याउने, अभ्यास गर्ने, पुस्तक पढ्ने र असाइनमेन्टका लागि आवश्यक सामग्री संकलन गर्ने बानीले सिकाइलाई निरन्तरता दिन मद्दत गर्छ ।
विद्यार्थीहरूले आफ्नो रुचि र आवश्यकताअनुसार अध्ययन, मनोरञ्जन, पारिवारिक समय र आराम समेटिएको सरल समयतालिका बनाउन सक्छन् । असाइनमेन्ट पूरा गर्दा अरूको काम नक्कल गर्ने वा कृत्रिम बुद्धिमत्ता (एआई) बाट प्राप्त सामग्री जस्ताको तस्तै प्रस्तुत गर्नेभन्दा आफ्नै बुझाइ र सिर्जनशीलतालाई प्राथमिकता दिनुपर्छ । आवश्यक परे शिक्षक, अभिभावक वा जानकार व्यक्तिको सहयोग लिन सकिन्छ। मुख्य कुरा, काम बुझाउनु मात्र नभई त्यसबाट ज्ञान र सीप हासिल गर्नु हो ।
विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउन बिदाको समयमा अभिभावकको भूमिका महत्त्वपूर्ण हुन्छ । उनीहरूले छोराछोरीसँग मिलेर समयतालिका बनाउन, अध्ययनका लागि उपयुक्त वातावरण उपलब्ध गराउन र असाइनमेन्टको प्रगतिबारे चासो राख्नुपर्छ । काम पूरा गर्न अनावश्यक दबाब दिनुभन्दा आवश्यक सहयोग, प्रेरणा र मार्गदर्शन प्रदान गर्नु बढी प्रभावकारी हुन्छ । अभिभावकले बालबालिकालाई घरायसी काममा सहभागी गराउने, पुस्तक पढ्न प्रोत्साहित गर्ने, स्वास्थ्य र सुरक्षामा ध्यान दिने तथा समयको सदुपयोग गर्न सिकाउने गर्नुपर्छ । साथै, आफूले पनि असल व्यवहार प्रस्तुत गरेर सम्मान, अनुशासन, मितव्ययिता र सहयोगको भावना विकास गर्न प्रेरित गर्नुपर्छ । बालबालिका उपदेशभन्दा व्यवहारबाट बढी सिक्ने भएकाले अभिभावकको उदाहरणीय भूमिका विशेष महत्वपूर्ण हुन्छ ।
बिदाको समयमा विद्यार्थीहरूले विद्यालयका असाइनमेन्ट पूरा गर्ने, उपयोगी पुस्तक पढ्ने, नयाँ सीप सिक्ने, घरका काममा सहयोग गर्ने र आफ्नो संस्कृति तथा समुदायबारे नयाँ कुरा जान्ने लक्ष्य राख्न सक्छन् । यसरी चाडपर्वको खुशीसँगै अध्ययन र सिर्जनात्मक गतिविधिलाई निरन्तरता दिन सके बिदा रमाइलो मात्र नभई उपलब्धिमूलक पनि बन्नेछ ।
अन्त्यमा, विजयादशमी २०८३ को उपलक्ष्यमा सुख, शान्ति, स्वास्थ्य र समृद्धि ल्याओस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौं । उत्सव मनाऔं, संस्कार सिकौं, स्वास्थ्य जोगाआ र अध्ययनलाई निरन्तरता दिऔँ। चाडपर्वको आनन्द र सिकाइबीच सन्तुलन कायम गर्नु नै यस बिदाको वास्तविक सदुपयोग हो । –विष्णु दर्पणबाट

प्रकाशित मिति: कार्तिक २ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend