विराटनगरः प्रदेश १ मा यस वर्ष धान उत्पादनमा वृद्धि हुने आँकलन गरिएको छ ।
गत वर्षको तुलनामा यस वर्ष २० प्रतिशत बढीले धान उत्पादन हुने भएको देखिएको हो । गत वर्ष १२ लाख ४१ हजार चार सय ३९ मेट्रिकटन धान उत्पादन भएकोमा यस वर्ष थप २० हजार हेक्टर बढी क्षेत्रफलमा धान खेती भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश १ ले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले धान रोप्ने बेलामा पर्याप्त सिंचाई सुविधा पुगेकोले पनि धान उत्पादन वृद्धि हुने बताए । ‘यो वर्ष राम्रोसँग पानी परेका कारण सिँचाइ नलाग्ने क्षेत्रहरुमा पनि राम्रो धान फलेको छ’, उनले भने ।
कोरोना कहरका कारण मल बिउ मात्रै होइन कामदार पाउनै समस्या रहेको बेला यस वर्ष मनसुनले साथ दिएकाले पनि धान उत्पादन नघट्ने भएको हो । अघिल्लो वर्ष धान रोप्ने बेलामा पर्याप्त सिंचाई सुविधा नपुग्दा तीन लाख २३ हजार एक सय ८८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको बताउँदै उनले भने, ‘तर यस वर्ष पर्याप्त सिंचाई पुगेको छ, त्यो भन्दा बढी हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ ।’ उनले अहिले कृषकको धमाधम पाकेको धान थन्क्याउने बेला भएकाले धान थन्क्याइसकेपछि भने यकिन तथ्याङ्क आउने जानकारी दिए ।
प्रदेश १ का झापा, मोरङ र सुनसरी अन्न भण्डार हुन । प्रदेश १ को ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफलमा धान खेती गर्न योग्य जमिन छ । यो वर्ष करिव ३ लाख ५० हजार हेक्टरमा धान खेती गरिएको छ । गत वर्ष करिब १२ लाख मेट्रिक टन धान उत्पादन भएको थियो ।
मन्त्रालयका अनुसार ताप्लेजङमा ८ हजार ७ सय ३७ हेक्टर क्षेत्रफलमा धान खेती योग्य जमीन छ । यसै गरी संखुवासाभामा १३ हजार सय ५१ हेक्टर, ओखलढुङ्गामा ४ हजार ४ सय ३ हेक्टर, धनकुटामा ७ हजार ९ सय ५० हेक्टर, तेह्रथुममा १० हजार १ सय ७५ हेक्टर, खोटाङमा १२ हजार ८ सय, भोजपुरमा १ हजार ८ सय २ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ ।
यता अन्नभण्डार भनेर चिनिने झापामा ८७ हजार ५ सय हेक्टर, मोरङमा ८३ हजार ३ सय हेक्टर र सुनसरीमा ५५ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ ।