धरानः सधैं व्यस्त, मस्त रहने भेडेटार अहिले कोरोना कहरले ठप्पै सुक्यो । भेडेटार तङ्ग्रीएला कि नतङ्ग्रीएला सहज भन्न सक्ने अवस्था थिएन । पूर्वको पर्यटकीयस्थलको रुपमा चर्चित भेडेटार होटल र पर्यटन व्यवसाय चौपट बनेको व्यवसायी बताउँछन् ।
तर अहिले प्रदेश नम्बर १ को पर्यटकीयस्थल भेडेटार पुग्ने बढेका छन् । स्थानीय व्यवसायीले अहिले भेडेटारमा आन्तरिक पर्यटकको चहलपहल शुरु भएको बताएका छन् । लकडाउन खुलेसँगै भेडेटारमा पर्यटकको चहपहल शुरु भएको हो ।
‘अब भने भेडेटार पुरानै लयमा फर्किने कोसिस गर्दैछ, भनौं, अब विस्तारै–विस्तारै भेडेटार तङ्ग्रीने कोसिस गरिरहेको छ,’ होटल एशोसिएसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राई भन्छन्, ‘यसले यहाँका व्यवसायीले केही राहत भने महसुस गरेका छन् ।’
भेडेटारमा अन्य गतिविधि पनि सञ्चालन हुन थालेका छन् । साहसिक खेल जीपलाइन पनि केहीदिनअघिबाट शुरु भइसकेको छ । धरानतर्फको भेडेटार क्षेत्रबाट शुरु हुने जीपलाइन देवीथानमा ल्यान्डिङ हुने गरी सञ्चालनमा छ । साहसिक पर्यटकले करिब ४५ सेकेण्डको अनुभव लिन पाउने जिपलाइनको दुरी ६ सय ५० मिटरको छ ।
कोरोनाको महामारीका कारण थलिएको भेडेटारमा अहिले चहलपहल बढेसँगै व्यवसायीले पनि लगानी बढाउन थालेका छन् । ‘अहिले भेडेटार पूर्णरुपमा खुलेको छ । यहाँबाट मकालु हिमाल, सप्तकोशी नदी आदिको दृश्यावलोकनका लागि पनि सहज भएको छ, चाडबाडले पनि होला पहिलाको जस्तैचाहिँ भइसकेको छैन, फाट्टफुट आन्तरिक पर्यटक आउन थालेका छन् ।’ अध्यक्ष राईले भने ।
यसअघि बिहान, दिउँसो, बेलुका घुम्न आउने पर्यटकको घुइँचो थाम्न नसक्ने अवस्थाको भेडेटारमा अहिले बाह्य पर्यटक आउँदैनन् । अझ लकडाउन अवधिभर त सुनसान बन्यो र व्यवसाय चौपट पनि । ‘कोरोनाले थला नै परेको हो’, पूर्व अध्यक्ष लीलाराज लावतीले भने, ‘व्यवसायीले होटल खोल्न थालेपछि पर्यटक आउन पनि थालेका छन्, यतिका महिना घाटा भएको व्यवसाय अहिले नै उठाउँछौं भन्ने छैन, तर केही राहत भने मिल्दै गएको छ, सामाजिक दुरी कायम गर्दै होटल सञ्चालनमा ल्याइएको छ, आशा छ भेडेटार तङ्ग्रीन्छ ।’
भेडेटारनजिकै रहेको अग्र्यानिक गाउँ थुम्की र नाम्जे, नाम्जेको होमस्टे, नमस्ते झरनामा पनि पर्यटक फाट्टफुट्ट आउन थालेका छन् । फोटो फाइलः हाम्रो कोशी आवाज







