धरानः धरान–१४ स्थित रहेको केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा हात्तीको प्रतिमा राखिने भएको छ ।
अन्यतिर ठाउँको नामअनुसार प्रतिमा स्थापना गर्ने चलन बढ्दै गएकोले यहाँ पनि क्याम्पस र धरानलाई चिनाउन यस्तो उपाय निकालिएको क्याम्पस प्रमुख डा. दिलकुमार लिम्बूले जानकारी दिए । अध्यापक, विद्यार्थी, कर्मचारीले हात्तीको प्रतिमा राख्न पाए हुन्थ्यो भन्ने पहिलादेखि नै कुरा उठाइरहेको र यतिका वर्षपछि सफल बनेको उनले बताए ।
निर्माण कार्य लगभग आधा बढी सक्किइसकेको छ । अर्थात् हात्तीको प्रतिमा स्थापना गरिसकिएको छ । पोखरी निर्माणको चरणमा छ । हात्तीको वरिपरी पोखरी हुनेछ । पोखरीकै वरिपरी हरियाली र सुन्दर फूलबारी हुनेछ ।
हात्तीको मुखबाट पानी माथि फ्याँक्ने र त्यो पानी हात्तीकै शरीर भिज्दै पोखरीमा झर्छ । क्याम्पसको सुन्दरता र हात्तीले झनै हात्तिसार क्याम्पसको पहिचान दिने र धरानको पनि इतिहास झल्काउने विश्वास लिइएको प्रमुख डा. लिम्बूले बताए ।
यहाँ प्रतिमा स्थापना भएपछि फोटो खिच्ने, सेल्फी हान्ने अनि क्याम्पस र धरानलाई देशविदेशसम्म चिलाउन सहयोग पुग्ने उनको विश्वास छ ।
अन्ततः कसरी रह्यो हात्तिसार ?
‘मैले सुने, जानेअनुसार विजयपुर दरबार रहेको र त्यहाँ किरातकालीन राजाले राज्य गरेका थिए, भताभुङ्गे दरबारमा हात्ती पालिन्थ्यो, त्यही आसपासमा अर्थात् यस ठाउँमा क्याम्पस स्थापना भएको भन्ने सुनिन्छ ।’ प्रमुख डा. लिम्बूले भने, ‘क्याम्पस स्थापना भएपछि यसको नाम पनि हात्तिसार झुन्डिएको हो ।’
शुरुमा यसको नाम व्यवहारिक विज्ञान क्याम्पस थियो । त्यसपछि यसको नाम धरान क्याम्पस हात्तिसार थियो । त्यसपछि मात्रै यसको नाम केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार रहेको हो । ‘अहिले पनि केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार भनेपनि सर्वसाधारणले चिन्दैनन् सर्वसाधारणले सहजै जान्नका लागि हात्तिसार क्याम्पस नै भन्छन् तरपनि पश्चिमतिर हात्तिसार, केन्द्रीय प्रविधि क्याम्पस भन्यो भने चिन्दैनन्, तर , खाद्य प्रविधि क्याम्पस भन्यो भने मात्रै चिन्छन्,’ प्रमुख डा. लिम्बूले भने ।
यो क्याम्पस त्रिभुवन विश्वविद्यालय आंगिक क्याम्पसअन्तर्गत पठनपाठन हुने खाद्य प्रविधिको एक मात्र कलेज यही हो । यो क्याम्पस सरकारले सबैभन्दा उत्कृष्ट क्याम्पस मानेको छ ।








