विराटनगरः प्रदेश १ प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती श्रीजना थापा कार्कीले अपाङ्गता भएका ब्यक्तिहरुलाई माया, सद्भाव, समान हेराइ अनि हौसलाको आवश्यकता हुने बताएकी छिन् ।
‘कोभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितताः अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दिगो विकासको लागि हामी सबैको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ मनाइएको २९ औं अपाङ्गता दिवसको अवसरमा विराट बहिरा माध्यमिक विद्यालय विराटनगरमा भएको शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् ।
फरक क्षमता भएका व्यक्तिहरुलाई समान अवसरका साथ सकारात्मक वातावरण प्रदान गर्न सके उनीहरु व्यवस्थित ढङ्गले कुनैपनि चुनौतिको सामना गर्न सक्ने उनको भनाइ थियो ।
श्रीमती थापा कार्कीले फरक क्षमता भएका विद्यार्थीहरुले सिर्जनशीलता, आत्मविश्वास र मेहनतले गर्दा नै समाजका जुनसुकै स्थानमा अन्य व्यक्तिहरुसरह नै सिर्जनात्मक कार्य गरेर आफूलाई स्थापित गर्न सक्ने र आफूलाई उदाहरणीय बनाउन सक्ने बताइन् ।
२९ औ अपाङ्गता दिवसकै अवसरमा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा सो विद्यालयमा ‘प्रहरी मेरो साथी’ शीर्षकमा चित्रकला प्रतियोगिता समेत आयोजना भएको थियो ।
प्रतियगितामा प्रथम हुने निशा खतिवडा, द्वितीय हुने कमलेशबाबु पूर्वे र तृतीय हुने पुनमकुमारी यादवलाई संघकी अध्यक्ष थापा कार्कीले पुरस्कार वितरण गरिन् ।

कार्यक्रममा विद्यालयका २५ जना छात्रा छात्रहरुलाई न्यानो कपडा ट्याकसुट र मोजा तथा शैक्षिक सामग्रीहरु, ह्याण्ड सेनिटाइजर, खाना पकाउने भाडावर्तन, चाउचाउ, खेलकुदका सामानहरु र मास्क समेत वितरण गरिएको थियो ।
कार्यक्रममा विद्यालयकी सहायक प्रधानाध्यापक रमा आचार्यले कार्यक्रम सञ्चालन गरेकी थिइन् भने स्वागत मन्तव्य प्रधानाध्यापक मिनु अधिकारी व्यक्त गरेकी थिइन् ।
धन्यवाद ज्ञापन गर्दै विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तारानाथ भट्टराईले कार्यक्रमको आयोजना गर्नुहुने प्रदेश प्रहरी श्रीमती संघलाई धन्यवाद दिए । उनले यस्तो कार्यक्रमले विद्यार्थीको मनोवल उच्च हुने हुँदा विद्यालयले समेत यस्तै कार्यक्रमरुलाई आत्मसात गर्दै अगाडि बढ्नुको विकल्प नरहेको बताइन् ।
कार्यक्रममा विद्यार्थीहरुमध्येबाट निशा खतिवडाले सांकेतिक भाषामा आफ्नो भनाई राख्ने क्रममा यस्तो कार्यक्रमको पुन आशा राखेको बताउँदै सबैको माया र स्नेहले नै फरक क्षमता भएका ब्यक्तिहरुको आत्मविश्वास बढ्ने हुँदा सबैको समान हेराईको खाँचो रहेको बताइन । विद्यालयकी शिक्षिका जानुका पोखरेलले सांकेतिक भाषा दोभासेको भूमिका निभाएकी थिइन् ।