धरानः धरानमा घरमा लागूऔषध फेला परेको छ ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–१० बाट स्थानीय ४८ वर्षीय पूर्णबहादुर लिम्बू र धरान–११ का ५० वर्षीय साखुरा लिम्बूलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
निजहरुको घरकोठामा नै लागूऔषध संचित गरी राखेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले निजहरुको घर कोठाबाट डाइलक्स डिलक्स १०० एमएल लेखिएको ३६ बोतल, स्पास्मोप्रोक्सिवन प्लस ७२ क्याप्सुल, नाइट्रोसम ६ ट्याब्लेट, नगद २९ हजार ५०० समेत बरामद गरेको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
लागूऔषधसहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
यसैगरी मोरङको कटहरी गाउँपालिका–१ बाट सोही गाउँपालिका–३ का २० वर्षीय अनुकेत माझी लागूऔषधसहित पक्राउ परेका छन् । निजको साथबाट प्रहरीले नाईट्राभेट ५०० ट्याब्लेट र डाइलक्स डिसी ७ बोतल बरामद भएको थियो । लागूऔषध सहित पक्राउ परेका माझीको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यस्तै, झापाको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट बिहीबार दिउँसो खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ बाट ९.५ ग्राम लागूऔषध ब्राउनसुगरसहित अर्जुनधारा नगरपालिका–६ का २५ वर्षीय आशिष थापालाई पक्राउ गरेको हो । यसैगरी अर्जुनधारा नगरपालिका–९ बाट ३९ ग्राम लागूऔषध ब्राउनसुगरसहित बुद्धशान्ति गाउँपालिका–२ का २२ वर्षीय प्रिन्स खनाललाई पक्राउ गरेको हो । लागूऔषधसहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।