विराटनगरः मोरङका अल्पसंख्यक र लोपोन्मुख सन्थाल जातिको एकीकृत वस्ती निर्माण हुने भएको छ ।
सहरी विकास मन्त्रालयले एकीकृत बस्ती निर्माण गर्ने विषयमा विस्तृत अध्ययन गर्न इन्जिनियरसहितको टोली मोरङको उर्लाबारी पठाएको छ ।
टोलीमा सहरी विकास मन्त्रालयका सहसचिव सुरेन्द्रमोहन श्रेष्ठको संयोजकत्वमा योजनाविद् इन्जिनियर शसिन्द्र घिमिरे, सूर्यबहादुर प्रजापति, कृष्णप्रसाल तिमिल्सिना, डा. केदार दाहाल र निलमणी मिश्र रहेको मन्त्रालयले जनाएको छ ।
टोलीले बस्तीको विषयमा विस्तृत अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन बुझाउने छ । सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले अल्पसंख्यक र लोपोन्मुख जातिको उत्थान गरी उनीहरूलाई व्यवस्थित र एकीकृत बस्तीमा बसाउने सरकारको लक्ष्यअनुसार प्रभावकारी रूपमा काम अघि बढाउन टोलीलाई निर्देशन दिएका छन् ।
टोलीले आजबाटै काम थालिसकेको छ । यही मङ्सिर ९ गते मन्त्री श्रेष्ठ र सचिव डा. रमेशप्रसाद सिंहसहितको टोलीले सन्थालबस्तीको अवस्थाबारे स्थलगत अवलोकन गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत दयनीय अवस्थामा खोला किनारामा बसोबास गर्दै आएका सन्थालहरूलाई व्यवस्थित बस्ती विकास गर्ने कामका लागि विशेष चासो देखाएका थिए ।
उर्लाबारीको नगरपालिका–८ स्थित नदी किनारामा सन्थाल जातिका करिब ७० घर परिवार दयनीय अवस्थामा गुजारा गरिरहेका छन् । उनीहरू नदी किनार क्षेत्रमा नरकट र खरको छानाले बारेर बनाएको घरमा बस्दै आएका छन् ।