धरानः गायक डिल्ली फोम्बो एण्ड द ब्याण्डको संयोजनमा धरान–४ गैरीगाउँस्थित पञ्चरत्न बाल विकास केन्द्रमा पक्की पिल्लर निमार्णका लागि २० हजार रूपैयाँ दिएको छ ।
हङकङ निवासी धरान–१५ का समिर मगरले आफ्नो स्व. आमा कर्णमाया लुङ्गेली मगरको स्मृतिमा सो सहयोग गरिएको गायक फोम्बोले जानकारी गराए । दुईकोठे सो केन्द्रको जीर्ण अवस्थामा रहेको ९ वटा काठको खाँबो परिवर्तन गरी पिल्लर बनाउनका लागि नगद सहयोग गरिएको उनले बताए ।
पिल्लर निर्माणका लागी चाहिने सिमेन्ट भने केन्द्रिय प्रविधी क्याम्पस हात्तिसारले उपलब्ध गराउने केन्द्रको व्यवस्थापन समितिका अध्यक्ष तथा जग्गादाता पञ्चबहादुर राईले जानकारी गराए । यस्तै, केन्द्रमा रहेको १६ विद्यार्थीका लागि बस्ने चकटी भने गायक फोम्बोले कक्षा सञ्चालन हुन थालेपछि प्रदान गरिने प्रतिबद्धता जनाएका छन् ।
अघिल्लो वर्ष भने उर्जा ब्याण्डका प्रशान्त शर्मा र दिनेश ढुङ्गेलसँगको सहकार्यमा फेस्टिभल हंगामा गरी कार्यक्रमबाट उठेको रकमले सहयोग गरिएको थियो । त्यस वर्ष साँगुरीगढी गाँउपालिकामा महाभारत प्राविमा विभिन्न शैक्षिक सामग्री लगायत विद्यार्थीका लागी पोशाक, ज्याकेट, जुत्ता र स्वेटर प्रदान गरिएको थियो ।
गायक फोम्बोका अनुसार हरेक वर्ष यसरी नै सहयोगलाई निरन्तरता दिने बताए । केही महिनाभित्र नै महाभारत प्रावि मा ३ थान बेञ्च र ४ थान बच्चाहरूका लागि बसेर लेख्न मिल्ने टेबल प्रदान गरिने उनले बताए । बुधबार भएको हस्तान्तरण कार्यक्रममा धरान–४ का वडा सदस्य धनबहादुर राई, शिक्षिका यज्ञकुमारी थापा, समाजसेवी द्रोण कटुवाल, मदन कटुवाल लगायतको उपस्थिति रहेको थियो ।