धरानः धरान-५ देवीगाउँमा खानेपानीको धारा मनोमानी ढङ्गले वितरण गरिएको भन्दै तीनवटा धारा फुस्काइदिएका छन् ।
करिब तीन सयभन्दा बढी उपभोक्ता भेला भएर तीनघरको धारा चुट्याएका हुन् । उपभोक्ताले विधानविपरीत जडान गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै धारा त चुट्याइएको जनाएका छन् । ‘देवी खानेपानी उपभोक्ता समितिको विधानविपरीत उल्टो पारेर खानेपानी वितरण भएपछि तीन सयभन्दा बढी उपभोक्ता भेला भएर धारा चुट्याइएको हो’, उपभोक्ता चन्द्र सोताङ नाछिरिङ राईले भने, ‘यसरी पानी वितरण गरिनु हुँदैन थियो ।’
उनका अनुसार विधानले भन्छ–देवीगाउँ उपभोक्ताभन्दा बाहिर पानी वितरण नगर्ने । तर विधानविपरीत मनोमानी ढङ्गले देउराली सिरानको गाउँलाई बेचिएको पाइएपछि उपभोक्ता चिढिएका हुन् ।
सबैसँग सरसल्लाहकार नभएसम्मका लागि त्यहाँको धारा चुट्याइएको उनले जानकारी दिए । उनले ६–७ भइसक्दा पनि अहिलेसम्म साधारणसभा नहुनुले पनि उपभोक्ता आजीत बनेको बताए । उनले उपभोक्ताको विधानविपरीत समितिका अध्यक्ष नेत्र भट्टराईले ती घरलाई ५० हजार ८ सय ६० रुपैयाँ तिराएर धारा जडान गरेको बताए । धारा जडान गरेका नवीन राईले आफूले ५० हजार ८ सय ६० बुझाएर पानी तानेको बताए ।
उता अध्यक्ष भट्टराईले धरान उपमहानगरपालिकाले पनि त्यहाँ पानी वितरण गर्न नसक्ने अवस्था रहेको र तीन घरको भावना बुझ्ने काम गर्दै पानी वितरण गरिएको बताए ।
‘विधानविपरीत होइन, छलफलबाटै निर्णय गरिएको हो तर होइन ‘इष्यु’ को रुपमा निकाल्ने काम भएको छ, यो मलाई मान्य छैन ।’ उनले सबै निर्णय गर्ने अधिकार समितिको भएको बताउँदै समितिकै निर्णयले पानी वितरण गर्दा उपभोक्तासँग भने केही छलफल नभएको बताए । ‘समितिलाई पानी वितरण गर्ने अधिकार छ, मानवीय भावना हेरेकै हो, पानी दिएकै हो’, उनले थपे, ‘कि त धरान उपमहानगरपालिकाले त्यहाँ पानी दिनुपरयो कि त हामीले खुवाउनुपरयो, मान्छे पानी खान नपाएरै मर्नु त भएन नि ।’
हाल करिब ४ सय घरले पानी उपभोग गरिरहेका छन् । त्यहाँका उपभोक्ताले सेहरा खोला, सिस्ने खोला, बोक्सी लगायतको पानी खान्छन् ।