विराटनगरः मोरङको विराटनगर महानगरपालिका-७ जलजला चोकनजिकबाट ३३ लाख रूपैयाँभन्दा बढीको अवैधरुपमा भण्डारण गरिएको लत्ताकपडा बरामद भएको छ ।
भन्सार छली चोरी पैठारी गरी ल्याएर भण्डारण गरिएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले स्थानीय ब्यापारी तरुणकुमार रौनियारको गोदामबाट बिहीबार दिउँसो सो मूल्य बराबरको लत्ताकपडा बरामद गरेको हो । बरामद भएको लत्ताकपडा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानी बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए ।
प्रहरीले ‘वाइट हाउस’को गोदाममा छापा मारेको हो । गोदाममा भण्डारण गरिएको कपडाको साहले बिल बिजक पनि देखाउन नसकेपछि प्रहरीले बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।