Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ताप्लेजुङमा आलुको बिउ अभाव

हाम्रो कोशी आवाज
मंसिर ३० २०७७, मंगलबार
ताप्लेजुङमा आलुको बिउ अभाव

ताप्लेजुङः ताप्लेजुङमा आलु रोप्ने सिजन शुरु भएसँगै आलु बिउको अभाव भएको छ ।
आलुको बिउको भण्डारण मानिने फक्ताङलुङ गाउँपालिका–६ हिमाली बस्ती घुन्सा गाउँमा विगत जस्तो राम्रो फल दिँदै आएको आलु यस वर्ष उत्पादन हुन नसक्दा आलुको बिउ अभाव भएको हो ।
रोपेको बिउ जति पनि फल नआएपछि आलु बिउको अभाव भएको कृषकले जनाएका छन् । घुन्साबासीको मुख्य बाली आलु हो । हिउँ र चिसोको कारणले अन्य बाली हुँदैन । घुन्सा गाउँमा चैत महिनामा आलु रोप्ने र भाद्र महिनामा खन्ने गर्दछन् । गत चैतमा १६ मुरी आलुको बिउ रापेको भाद्रमा खन्दा १० मुरीमा मात्र फलेको घुन्साका आलु कृषक टाँसी तेन्जिङ शेर्पाले बताए । केल्साङ शेर्पाले गत चैतमा ८ मुरी रोपेको आलु भाद्रमा खन्दा ५ मरी मात्र आएको बताए ।
घुन्सा गाउँमा जम्मा हिमाली शेर्पा समुदायको ३३ घर परिवार बसोबास गर्दै आएको छ । यी समुदायले परापूर्वकालदेखि नै मुख्य बालीको रुपमा आलु खेती गर्दै आएको छ ।
आलुसम्बन्धी प्राविधिक ज्ञान कसैसँग छैन । आलुको प्रकार रातो आलु,सेतो आलु र सोलु आलु गरी तीन प्रकारका आलु रोप्दै आएको शेपाले बताए । हिमाली क्षेत्रमा पनि राम्रो खेती हुने भएकाले घुन्सामा आलु खेती गर्दै आएको केल्साङ शेर्पाले बताए ।
यस गाउँमा आलु रोप्ने सिजन चैत महिना र खन्ने भाद्र महिना हो । मंसिर १५ देखि व्यापारका लागि घुन्सा गाउँदेखि चांैरी र याकलाई बोकाएर ३ घण्डाको पैदल यात्रा हिँडेर फलेटारसम्म घुन्साका आलु पुरयाउने गरेको शेर्पाले बताए ।
लेलेप, हेल्लोक, तापेथोक, साँघु, इखाबु, लिङखिम, खेजिनेम जस्ता तल्लो गाउँका समुदायले आलु बिउका लागि १५ मंसिरदेखि चोयाबाट तयार पारिएको ढाकरमा कोदो र मकै बोकेर ५ दिनको पैदल हिँडेर फलेटार पुगेर कोदो एक पाथी र आलु २ पाथी साटिन्छ ।
यस वर्ष घुन्सा गाउँमा आलु नफलेपछि तल्लो गाउँको समुदायबाट कोदो, मकै अन्य अन्नसँग आलु साट्न नपाउँदा घुन्सा गाउँमा जीविका चलाउन समस्या हुने भएको घुन्साका पेमा शेपोले बताए ।
रोपेको आलु बिउजति पनि नफलेपछि घुन्साबासीको लागि खाद्यान्न अभाव आउने उटुक शेर्पाले बताए । आगामी चैतमा आलु रोप्न बिउ फक्ताङलुङ गाउँपालिका ७ याङमा र फुङलिङ नगरपालिका–९ बुङकुलुङबाट ल्याउने तयारी रहेको शेर्पाले बताए ।
ताप्लेजुङको हिमाली बस्ती याङमा, घुन्सा, फले, क्यापला, जोङकिम जास्ता हिमपात हुने ठाउँहरुमा आलु खेती गर्दै आएको आलु कृषकहरुको लागि स्थानीय तह तथा सम्बन्धित सरोकारवालहरुले अहिलेसम्म चासो नदिएको घुन्साबासी टासी तेन्जिङले बताए ।
हिमाली क्षेत्रमा जालवायु परिवर्तनका कारणले विगतको जस्तो आलु उत्पादन नभएपछि आलु बिउको अभाव हुन आएको फक्ताङलुङ गाउँपालिकाका कृषि शाखा प्रमुख ओमप्रकाश शर्माले बताए । चक्लाबन्दी गरेर सामुहिक आलु खेती गर्न चाहने कृषक समूहहरुलाई कृषि शाखाले आलुको बिउ प्रदान गर्ने कृषि शाखा प्रमुख शर्माले बताए ।
अहिले ताक्ताङलुङ गाउँपालिका १ सावदिनबाट सामूहिक आलु खेतीको लागि गाउँपालिकाको कृषि शाखामा निवेदन आएको र कृषि शाखाले २ लाख रुपैयाँ बराबरको आलुको बिउ खोजी कार्य गरिरहेको शाखा प्रमुख शर्माले बताए ।

प्रकाशित मिति: मंसिर ३० २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend